Logo

खेलकुद

टोकियो ओलम्पिक: आठ स्वर्णसहित शीर्ष स्थानमा आयोजक जापान, यस्तो छ नेपालको प्रदर्शन



टोकियो – जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक मुलुक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।

जापानले हालसम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन्। अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ।

चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ।

बेलायत तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ। यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन्। नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्।

तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेकी छिन्। दुवै जना पराजित भए। परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल