Logo

आर्थिक

काठमाडौं महानगरको बजेट १८ अर्ब ९५ करोड, कुन–कुन क्षेत्र परे प्राथमिकतामा?



काठमाडौं, १० असार – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

काठमाडौं महानगरपालिका नगरसभाको नवौं अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो। उपप्रमुख हरिप्रभा खड्गीले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ छुट्याइएको छ। आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड रुपैयाँ प्रस्ताव गर्दा सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रस्तावित बजेटमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन गर्न तथा महानगरबासीको विकासप्रतिको चाहनालाई सम्बोधन गर्न गतवर्ष सेवाग्राही सर्वेक्षण गरिएको बताउँदै उपप्रमुख खड्गीले महानगरबासीबाट प्राप्त सुझावहरूकै आधारमा बजेट आएको बताइन्।

विगतमा बजेट कार्यान्वयनमा देखिएका समस्याको सम्बोधन गरिएको पनि उनले उल्लेख गरिन्। बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखिएको छ।

भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरबासीका लागि नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा ५० प्रतिशत बिमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ।

ज्येष्ठ नागरिक विशिष्टीकृत सेवासहितको महानगर विशेष अस्पताल सञ्चालन गर्ने, मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमूना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ।

ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको खड्गीले बताएकी छिन्।

महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवर्द्धन, लैङ्गकि समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण आदि कार्यलाई प्राथमिकतामा राखेको छ।

स्थानीय भाषाको संरक्षण र प्रवर्द्धन, उद्यमशिलता प्रवर्द्धन, विद्युतीय शासनको प्रवर्द्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको खड्गीले बताएकी छिन्।

चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल