Logo

समाचार

गैरआवासीय नेपाली संघको उपाध्यक्षमा यासमिन बेगम सैयदको उम्मेदवारी, साझा एनआरएनए निर्माणको लक्ष्य



दोहा, ७ असार – गैरआवासीय नेपाल संघ एनआरएनएको चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। विश्वभरिका नेपालीको साझा संस्था एनआरएनएको नेतृत्वको दौड पनि शुरु भएको छ।

यसबीचमा गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्ष पदमा सामाजिक अभियन्ता यासमिन बेगम सैयदले उम्मेदवारी दिने घोषणा गरेकी छिन्।

औपचारिक रुपमा घोषणासभा गरेरै उम्मेदवारी घोषणा गर्ने जानकारी सैयदले दिएकी छिन्। ‘अनौपचारिक रुपमा तयारी शुरु गरेकी छु, एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुँ,’ अभियन्ता सैयदले भनिन्।

गैरआवासीय नेपाली संघलाई समयसापेक्ष रुपमा अघि बढाउनुपर्ने दायित्व अबको नेतृत्वलाई रहेको बताउँदै सैयदले त्यही अभिभारा पूरा गर्न उम्मेदवारी दिएको उल्लेख गरिन्।

‘एनआरएनएले कोभिडको प्रकोपमा गरेको कामलाई अझै सशक्त र पारदर्शी बनाएर लानुपर्ने छ, हामीले संरचनात्मक ढाँचा परिवर्तन गरी एनआरएनएलाई समयसापेक्ष रुपमा रुपान्तरण गर्नुपर्ने छ, हामी त्यो काम गर्छौं,’ सैयदले भनिन्।

साउदी अरबमा रहेर गैरआवासीय नेपालीहरूको हक र अधिकारका लागि निरन्तर लागिरहेकी सामाजिक अभियन्ता सैयदले गैरआवासीय नेपाली संघको विधान संशोधन समितिको सदस्य भएर काम गरेकी छिन्।

सन् २००७ देखि गैरआवासीय नेपाली संघमा क्रियाशील सैयद कयौं संघसंस्थामा प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेर सामाजिक काम गरिरहेकी छिन्।

गैरआवासीय नेपाली संघले डा. सञ्जीव सापकोटाको नेतृत्वमा गठन गरेको स्वास्थ्य समितिमा मध्यपूर्ण उपसंयोजक रहेर कार्यरत सैयदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीको सेवा गरिरहेकी छिन्।

‘सामाजिक कार्य मेरो कर्म हो, धर्म हो, देशबाट बाहिर रहनु भएका दाजुभाइ, दिदीबहिनीहरूको सेवा गर्नु हाम्रो दायित्व पनि हो, गैरआवासीय नेपाली संघमार्फत् हामी अझै धेरै काम गर्न सक्छौं, सबैको साझा एनआरएनए बनाउने योजनाका साथ काम गर्छु’ सैयदले भनिन्।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी यासमिन बेगम सैयद सामाजिक कार्यसँगै आफ्नो व्यवसायमा पनि सक्रिय रहेकी छिन्।

चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल