Logo

राजनीति

मुख्यमन्त्रीलाई गलत्याउनुपर्छ भनेजस्तो जंगली, असभ्य व्यवहार उहाँहरूबाट भयो: पृथ्वीसुब्बा गुरुङ



पाेखरा, ३० जेठ – नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले सत्ताका लागि दुई तिहाई नजिकको नेकपाका नेताहरुलाई विभाजित गरेको टिप्पणी गरेका छन्।

आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्दै निवर्तमान मुख्यमन्त्री गुरुङले कांग्रेसमाथि आक्रोश पोखेका हुन्।

‘दुई तिहाई नजिकको पार्टी थियो। हाम्रा नेताहरुमा मतभेद सिर्जना नभएको भए कांग्रेस सरकारमा जान सक्ने थिएन,’ उनले भने, ‘तर यहाँ के भइरहेको छ? हाम्रा नेताहरुलाई विभाजित गराएर सत्तामा पुग्न धेरै प्रयास भए।’

गुरुङले निष्ठाको राजनीति गर्ने आफूमाथि घेराबन्दी भएको बताए। ‘मेरो नेतृत्वमा सरकार गठन गर्दा नेकपा माओवादी केन्द्र सहयोगी दल थियो, समयक्रममा एउटै दलमा सामेल भएका पनि हौं, राजनीतिक घटनाक्रम र सर्वोच्चको फैसला पनि दुवै दल छुट्टाछुट्टै भएको तथ्य साँचो हो,’ उनले भने।

तर, एउटा दलको नेतृत्व भंग भएपछि त्यसको नीति र नेतृत्वको रक्षा गर्नुपर्दैन भनेर गुरुङले प्रश्न गरे। ‘आफ्नै नेतृत्वकाविरुद्ध सडकदेखि सदनसम्म गरिएका अराजनीतिक गतिविधिलाई लोकतन्त्र छुट दिन सकिन्छ र?,’ गुरुङको प्रश्न छ।

अब प्रतिपक्षी दलका रुपमा भूमिका निभाउने नेता गुरुङले बताए। ‘यतिबेला एमाले प्रतिपक्ष भएको छ, हामी नयाँ सरकारका राम्रा कामका लागि सहयोग गरेर गलत कामका लागि विरोधको रचनात्मक भूमिका अख्तियार गर्ने छौं,’ गुरुङले भने।

कांग्रेस, माओवादी, जनमोर्चा र समाजवादी पार्टीको गठबन्धन अराजनीतिक भएको उनको जिकिर छ। ‘अहिले देखापरेको अराजनीतिक गठजोड बदलाभावको प्रकरणमा प्रकट भएको हो, समयक्रममा पटाक्षेप हुनेछ,’ उनले भने।

संविधानअनुसार भन्दा पनि बलपूर्वक सरकार प्राप्ति गर्नेतर्फ गठबन्धन देखिएको गुरुङको आरोप छ। ‘बल देखाएर सरकार प्राप्ति गर्ने जस्तो, मुख्यमन्त्रीलाई गलत्याउनुपर्छ भनेजस्तो जंगली, असभ्य व्यवहार उहाँहरूबाट भयो, शनिबारको दिन थियो, रातारात त्यस्तो गर्नुपर्ने थिएन, घेरा बन्दी जरुरी थियो र!,’ उनले भने।

मुख्यमन्त्रीमा सभामुखबाहेक ५९ जनाले नै दावी गर्न सक्ने गुरुङले प्रष्ट पारे। ‘मैले मेरो पार्टीका २७ जना सांसद्को हस्ताक्षर दिएको छ, मेरो पार्टीको २७ जना चाहिँ माननीय (सांसद्) नै होइन?,’ उनले भने, ‘कानून सम्मत दावी गर्न पाइन्छ।’

गगन थापा भन्छन्, ‘केपी ओलीको सत्तामाथि खतराको घण्टी’ (अन्तरवार्ता)

प्रकाशित : ३० जेष्ठ २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल