Logo

विश्व

इजरायलका विपक्षी नेताले आफूसँग बहुमत भएको दाबीसहित इमेल पठाएपछि राष्ट्रपतिले दिए बधाई



इजरायलमा नयाँ सरकार गठनका लागि बहुमत पुगेको विपक्षी गठबन्धनले दाबी गरेको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिनु ३५ मिनेटअघि बुधबार विपक्षी नेता याइर लापिडले सरकार गठनका लागि आवश्यक बहुमत आफूहरुसँग पुगेको दाबी गर्दै यसबारे राष्ट्रपति रेउभेन रिभलिनलाई जानकारी गराएका छन्।

‘नयाँ सरकार बनाउन सफल भएको जानकारी तपाईंलाई गराउन पाउँदा म खुसी छु,’ लापिडले राष्ट्रपतिलाई पठाएको इमेलमा लेखिएको छ। इमेल आएको केही समयमै राष्ट्रपतिले लापिडलाई फोनमार्फत बधाई दिएको बताइएको छ।

विपक्षी गठबन्धनका दलहरूले १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेन्ज्यामिन नेतन्याहूलाई सत्ताबाट हटाउने तयारी गरेका हुन्। इजरायलमा २ वर्षमा चार पटक आम निर्वाचन भएको थियो।

विपक्षीहरूबीच भएको सहमतिअनुसार लापिडका मुख्य सहयात्री नाफ्ताली बेनेट अब प्रधानमन्त्री हुनेछन्। दुई वर्षपछि उनले लापिडलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ। पहिलो पटक इजरायलका अरब अल्पसंख्यको पार्टी युनाइटेड अरब लिस्ट पनि सरकारमा सहभागी हुनेछ।

संसदमा झिनो बहुमतमात्र हुने विपक्षी गठबन्धनको सरकारले सपथ लिन भने अझै १०–१२ दिन कुर्नु पर्नेछ। त्यतिञ्जेलसम्म प्रधानमन्त्री नेतान्याहुले विपक्षी सांसदलाई आफूतिर तानेर उनीहरूको गठबन्धन भत्काइदिन सक्ने आशंका पनि गरिएको छ।
इजरायलका राजनीतिक विश्लेषकहरूले बाँकी रहेको यो समयमा आफू सत्तामा टिकिरहन नेतन्याहुले सकेजति सबै प्रयास गर्ने बताएका छन्।

१२ वर्ष सत्तामा रहँदा प्रधानमन्त्री नेतन्याहूमाथि विभिन्न आरोप लागेका छन्। उनीमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको छ। केही दिनअघि इजरायलले गाजामा गरेको रकेट आक्रमणको पनि अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ।

प्रकाशित : २० जेष्ठ २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल