Logo

पत्र-पत्रिका

एनआरएनए अमेरिकाको नयाँ नेतृत्व: साझा एजेण्डासहित प्रवासी नेपालीका सारथी बुद्धिसागर सुवेदी



काठमाडौं – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन्।

अध्यक्ष पदका अन्य ३ उम्मेदवारलाई पराजित गर्दै एनआरएन अभियन्ता एवं सामाजिक अभियन्ता सुवेदी सन् २०२१–२०२३ का लागि अध्यक्ष पदमा विजयीमा निर्वाचित भएका हुन्।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो। मतदानका लागि कुल २० हजार १ सय ३८ मतदाता रहको छन्।

१५ हजार ७ सय ६८ ले मतदान गरेका थिए। सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन्। उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन्।

सुवेदीका निकटतम् प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत प्राप्त गरेका छन्। डा। अर्जुन बञ्जाडेले ४ हजार १ सय ४८ मत प्राप्त गरेका छन्।

यसैगरी, अध्यक्ष पदका उम्मेदवार तिलक केसी ५ सय ६७ मत प्राप्त गरेका छन्। सुवेदी सन् २०१० देखि एनआरएनए अभियानमा क्रियाशील छन्।

सफल व्यवसायी सुवेदीले मिसिगन राज्य समितिदेखि अध्यक्षको जिम्मेवारी बहन गरेका छन्। ‘संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्छु,’ नवनिर्वाचित अध्यक्ष सुवेदीले भने।

को हुन् बुद्धिसागर सुवेदी?

कुनै पनि संस्था, संगठन वा राजनीतिक दलको समितिमा रहेर नेतृत्व गर्न चाहनेले बुझ्नुपर्ने पहिलो शर्त हो– धरातल। धरातल बुझ्नेले नै सही नेतृत्व दिन सक्छ र समस्याको समाधान पनि।

नेतृत्व लिन चाहनेले आफ्नै धरातल, हैसियत र क्षमताको पनि स्वमूल्यांकन गर्न उत्तिकै जरुरी छ। प्रसंग हो, गैरआवासीय नेपाली संघ (एनआरएन) मा जारी राष्ट्रिय समन्वय परिषद् एनसीसीहरूको निर्वाचन।

आगामी जुलाईसम्ममा सबै ८३ वटै एनसीसीहरूको अधिवेशन भइसक्नुपर्ने छ। यही प्रावधानका कारण पनि यतिबेला धेरै मुलुकमा चुनाव लागेका छन्। ओमानमा अधिवेशन भइसकेको छ। केही मुलुकले अधिवेशनको तयारी गरिरहेका छन्।

अमेरिका संघकै सबैभन्दा ठूलो एनसीसी हो। झण्डै २१ हजार गैरआवासीय नेपालीहरूले औपचारिक रुपमा नै सदस्यता लिएका छन्। ३१ वटा राज्यमा त च्याप्टर नै छ।

विश्वकै शक्तिशाली मुलुक र धेरै सदस्यता भएका कारण विश्वभरका गैरआवासीय नेपालीहरूको ध्यान अमेरिकामा आगामी महिना हुने एनसीसीको चुनावले खिचेको थियो।

विश्वकै सबैभन्दा ठूलो एनसीसीको नेतृत्व लिनका लागि अमेरिकामा रस्साकस्सीका बीच सामाजिक अभियन्ता एवं एनआरएनहरूका सारथी सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्।

‘धरातल बुझेको छु, अमेरिकाबासी नेपालीलाई एकताबद्ध बनाउँछु’

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका हानिएका बुद्धिसागर अमेरिकामा रहेका नेपालीहरूको नेतृत्वमा पुगेका छन्।

स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदीलाई नेपालका ती दिनहरू अझै ताजै छन्।

‘खाली खुट्टा स्कुल जाँदादेखि विश्वविद्यालयमा अध्यापन गराउँदासम्मका मात्रै होइन, अमेरिकामा आएपछि भोग्नुपर्ने सबै समस्या मैले भोगेको छु,’ गत महिना न्यूयोर्कमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सुवेदीले भने, ‘स्वदेशदेखि विदेशसम्मको ग्राउण्ड के हो भन्ने मैले राम्ररी बुझेको छु।’

अब सुवेदीको काँधमा ती एजेण्डा कार्यान्वयन गर्नुपर्ने दायित्व आइपुगेको छ।

विद्यालय पढ्दादेखि नै जुनियर रेडक्रस सर्कलमार्फत समाजसेवा आरम्भ गरेका सुवेदीले अमेरिका गएपछि पनि आफ्नो सेवाभावलाई निरन्तरता दिइरहेका छन्।

विस्कन्सनमा व्यवसाय गरिरहेका उनले आरम्भमा ‘नयाँ’ नामको सामाजिक संस्था स्थापना गरेर समाजसेवा आरम्भ गरे। समाजसेवाको दायरा फराकिलो बनाउँदै जाँदा उनी एनआरएन अभियानमा आबद्ध भए।

एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाएका सुवेदीले आफ्नो अभियानबारे जानकारी दिए। सुवेदीले त्यसअघि नै दुई कार्यकाल विभिन्न पदमा रहेर बिताइसकेका छन्।

‘यहाँ के समस्या छ र ती समस्यालाई कसरी समाधान गर्ने भन्ने उपाय र दृष्टिकोण म सँग छ, अब पूरा गर्न लाग्ने छु,’ उनले भने।

पछिल्ला तीन कार्यकाल लगातार विभिन्न पदमा रहेर काम गरिसकेका सुवेदीले अमेरिकामा रहेका नेपालीहरुको सेवाका लागि स्पष्ट योजना र दृष्टिकोण बनाएका छन्।

पहिलो– अध्यक्ष भएर गर्नुपर्ने कामको सूची नै बनाइसकेका सुवेदीले आफूसँग एनआरएन हाक्ने स्पष्ट दृष्टिकोण रहेको बताएका छन्।

दोश्रो– योजनामा पनि सुवेदी प्रष्ट छन्। ‘एनआरएन सानो संस्था होइन, यसलाई नेतृत्व गर्दा सबै पक्षसँग समन्वय र सहकार्य गर्नुपर्छ, त्यसका लागि श्रोत चाहिन्छ, अब विस्तृत कार्ययोजना बनाएर काम गर्छु,’ उनले भने।

व्यक्तिगत खर्चदेखि संस्था सञ्चालन गर्नेसम्मका लागि आवश्यक श्रोत व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको सुवेदीको तर्क छ। व्यक्तिगत खर्चका लागि आफू सक्षम रहेको र संस्थागत खर्च व्यवस्थापनका लागि आफूसँग योजना रहेको उनी बताउँछन्।

तेश्रो– सुवेदीकै भनाइमा संस्थाको नेतृत्व र सेवाका लागि आवश्यक कुरा समय हो। सुवेदीले भने, ‘अहिले मलाई पारिवारिक र व्यावसायिक रुपमा समयको चाप छैन, मैले मेरो समय पूर्ण रुपमा संस्था सञ्चालनमा लगाउने छु।’

श्रोत, साधन, समय र योजनासहित मैदानमा उत्रिएर अध्यक्षमा निर्वाचित सुवेदीले झण्डै अठार वर्ष लामो अमेरिका बसाइका क्रममा त्यहाँ रहेका नेपालीहरुले भोग्नु परेका समस्यासँग पटक पटक जुधेका छन्।

एनआरएनले दिने सुविधाका बारेमा सदस्यहरूको प्रतिक्रिया राम्ररी बुझेका छन्। त्यसैले उनले संस्थालाई बलियो बनाउँदै आकर्षण थप्न र नेपालीहरुको हितका लागि केही योजना बनाएका छन्।

यस्ता छन् सुवेदीका योजना

‘एनआरएनबाट अझ धेरै सुविधा पाइए हुन्थ्यो भन्ने धेरैको चाहना छ, यो चाहना पूरा गर्नु नै मेरो योजना हो,’ अध्यक्ष सुवेदीले भने।

सुवेदीका अनुसार अहिले एनआरएनको श्रोत भनेको सदस्यता शुल्क मात्रै हो। सदस्यता शुल्कवापत संकलित रकमले मात्रै चाहेजसरी संस्था सञ्चालन गर्न नसकिने र सेवा पनि दिन नसकिने उनको अनुभव छ।

‘त्यसका लागि अन्य श्रोतको पनि खोजी गरिनुपर्छ, मैले केही श्रोतहरूको पहिचान गरेको छु,’ उनले भने।

अमेरिकी सरकारले अल्पसंख्यक समुदायको हितका लागि वार्षिक रुपमा अनुदान उपलब्ध गराउने गर्छ। तर, अहिलेसम्म नेपाली समुदायले त्यो अनुदान पाएको छैन। उनको योजना छ– अमेरिकी नीतिमा नेपाली समुदायको उपस्थिति गराउने र अनुदान ल्याउने।

संस्था कोही कसैले पनि एक्लै सञ्चालन गर्न नसक्ने उनको बुझाइ छ। कुनै वर्ग विशेष र समुदाय विशेषले मात्रै पनि संस्था सञ्चालन गर्न सक्दैन।

सबैलाई समेट्ने र समावेशी बनाउने उनको लक्ष्य छ। त्यस्तै, अमेरिकामा रहेका विभिन्न च्याप्टरहरूलाई स्वतन्त्र र स्वायत्त रुपमा काम गर्न दिने र ती च्याप्टरका अध्यक्षहरूलाई एनसीसीको बोर्ड अफ डाइरेक्टर सरहको भूमिका दिनुपर्छ भन्ने सुवेदीको सोच रहेको छ।

सुवेदीलाई सबैभन्दा बढी पिरोलेको विषय हो– नागरिकताको निरन्तरता र पैतृक सम्पत्तिमाथिको अधिकार। नेपालको नयाँ संविधानले यो अधिकार प्रदान गरे पनि बन्दै गरेको नागरिकतासम्बन्धी कानुनले खुम्च्याउन खोजेको उनको गुनासो छ।

‘विदेशमा रहेका पहिलो पुस्ताको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘गैरआवासीय नागरिकता त दोश्रो पुस्ताबाट मात्रै लागू हुनुपर्छ।’

विदेशमा रहे पनि मन र मुटुमा नेपालीपन रहेकाहरूलाई नेपालले नागरिकता र सम्पत्तिको हकको कारणबाट कहिल्यै बञ्चित गर्न नहुने उनको ठम्याइ छ।

विदेशी पासपोर्ट लिए पनि त्यहाँ जन्मस्थान नेपाल लेखिने गरेकोमा ध्यान दिन उनले नेपाल सरकारलाई आग्रह गरेका छन्। ‘पासपोर्टमा जन्मस्थान नेपाल लेखिएको छ, तर नेपाल जाँदा भिसा शुल्क बुझाउनुपर्छ,’ उनले भने, ‘यो प्रावधान अव्यावहारिक छ, नेपाल सरकारले तत्काल यो व्यवस्था हटाउनुपर्छ।’

गैरआवासीय नेपालीहरूको हितका लागि नेपालमा नै गएर महिनौसम्म धर्ना दिन परे पनि आफू तयार रहेको उनले बताए। ‘विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकमा बस्ने नेपालीहरू सरकारको नियमबाट पीडित भइरहेका छन्,’ उनले भने।

‘गर्न सकिने काम छन्, सकिन्छ’

सुवेदीको बुझाइमा गैरआवासीय नेपालीहरुले भोग्नु परेका समस्या समाधान गर्न त्यति कठिन छैन। त्यसका लागि साझा लक्ष्य र एकताको मात्रै खाँचो छ। त्यसलाई पूरा गर्ने दायित्व आफूले पाएको सुवेदीले बताए।

सबै एकजुट भएर लाग्ने हो भने प्रवासमा भोग्ने समस्यादेखि नेपालमा गर्न खोजिएको विभेद सबै हटाउन सकिने उनको दावी छ। ‘सबै काम गर्न सकिने छन्, त्यसका लागि मैले नेतृत्व पाएको छु, अब सबैलाई समेटेर अघि बढ्छु,’ उनले स्पष्ट पारे।

सदस्यता लिएका मात्रै नभई सदस्यता नलिएका गैरआवासीय नेपालीहरूको समेत सल्लाह र सुझावलाई गम्भीर रुपमा लिएर आफू अगाडि बढेको सुवेदीले बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल