Logo

प्रदेश-१

७ महिने गर्भवती थिइन् रोस्ती, एकदिनको अन्तरालमै दम्पतिले संसार त्यागे, छोरीको भावुक सन्देश



काठमाडौं, ३१ वैशाख – कोरोना प्रकोपको दोश्रो भेरियन्ट शुरु हुँदै गर्दा गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’

‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपको विषादमा परिन्। झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान् दीपक। ताप्लेजुङ जिल्ला सिरिजंघा–१ सिनाम घर भएकी रोस्तीको वैशाख ३० गते निधन भयो।

दुखान्त पनि कस्तो–कस्तो! काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसारबाट बिदा हुने समय पनि एकैसाथ रोजे।

रोस्तीको निधन भएको २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान उनका श्रीमान् दीपकको पनि निधन भएको खबर आयो। रोस्ती ७ महिने गर्भवती थिइन्।

‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग, अनि आज ज्वाई दीपक पनि यो दुनियाँबाट बिदा हुनु भयो, कति ठूलो बज्र पर्‍यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला!,’ रोस्तीकी दिदी कल्पना काम्वाङले लेखेकी छिन्।

रोस्ती र दीपककी छोरी रसिया सुब्बा थेबेले अभिभावक गुमाएपछि आमाबुवाको तस्वीर शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा लेखेकी छिन्, ‘तपाईको आत्माले शान्ति पाओस्, तपाईं सधै हाम्रो हृदयमा रहनुहुनेछ, आमा र बुवा खुशीसाथ सँगै रहनुहोला, मेरो बारेमा चिन्ता नलिनु होला।’

रोस्ती र दीपकको निधनपछि सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ। दीपकका पिताको पनि दुई साताअघि मात्रै निधन भएको जानकारी सिनामका शिक्षासेवी एवं राजनीतिज्ञ सिंहबहादुर इवारमले दिएका छन्।

‘अति नै भैसक्यो, २ हप्ता अघि मेरो छिमेकी साथी सिनाम निवासी राजकुमार थेबेको मृत्यु भयो, हिजो २०७८।०१।३० गते उहाँकी बुहारी अर्थात् मेरो काकाको छोरी रोस्ती इवारम थेबेको मृत्यु भयो, आज उहाँको छोरा वा मेरो ज्वाई दीपक थेबेको मृत्युु भयो, एकै परिवारका ३–३ जनाको अल्पायुमा ज्यान गइसक्यो, यो घटनाले मलाई मर्माहत बनायो, स्व. राजकुमार थेबे, बहिनी रोस्ती र जुवाई दीपकको आत्मालाई चिरशान्तिका मिलोस् र शोकाकुल परिवारजनमा दुःख सहने शक्ति प्राप्त होस् भनी तागेरा निङ्वाभुमाङसँग प्रार्थना गर्दछु, साथै दुःखमा रहनु भएका सबैमा गहिरो समवेदना व्यक्त गर्दछु,’ शिक्षासेवी इवारमले लेखेका छन्।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल