Logo

राजनीति

ओलीका लागि ‘जनमतको बलिदान नगरौं’ भन्ने यी नेताको अडानले रोकियो माधव पक्षका सांसद्को राजीनामा



काठमाडौं, २७ वैशाख – नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले तत्काल सांसद पदबाट राजीनामा नदिने भएको छ। खनाल–नेपाल समूहको सोमबार बसेको बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

२०७५ जेठ २ गतेको पार्टी संरचनामा फर्किनु पर्ने अडान र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि सोमबार बिहान सिंहदरबारमा बैठक बसेको थियो।

नेपाल समूहका सांसदहरूको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिन प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको हो।

बैठकमा राजीनामा दिने–नदिने विषयमा धेरैबेर मन्थन भएपछि अन्ततः ‘केपी ओलीलाई सजिलो हुनेगरी सांसद् पदबाट राजीनामा नदिने’ निष्कर्षमा नेपाल–खनाल समूह पुगेको हो।

एमाले उपाध्यक्ष एवं सांसद् भीम रावलले आफूहरू पछाडि नफर्किएको र आज ओलीले विश्वासको मत मागेको भए पनि मत नदिँदा नै पर्याप्त हुने भन्ने निष्कर्ष निकालिएको बताए।

नेपाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन अन्य दल र पार्टीका सांसद्लाई आग्रह गरेको छ।

बैठकमा संविधान मिचेर संसद विघटन गरेको, राजनीतिक दल विभाजन गराएको, भ्रष्टाचारको संरक्षण गरेको, विश्वासको मत लिन एक दिनमात्र बाँकी रहँदा अध्यादेश जारी गरेर संवैधानिक परिषदबाट स्वेच्छाचारी किसिमले नियुक्तहरू गरेको विषयमा पनि छलफल भएको छ।

‘नेपाल समूहले यस्ता क्रियाकलाप गर्ने प्रधानमन्त्रीलाई विश्वासको मत दिनु भनेको लोकतान्त्रिक दृष्टिकोणले लोकतन्त्रलाई कमजोर तुल्याउने, राजनीतिक नैतिकताको दृष्टिकोणले नैतिकताको दृष्टिकोणलाई ध्वस्त गर्ने र राजनीतिक स्थायित्व, स्वाधिनताका दृष्टिकोणबाट राज्यलाई कमजोर तुल्याउनु हुने छ,’ रावलले भने।

यसैबीच, बैठकमा निकै लामो छलफल चलेको एक नेताले बताए। बैठकमा जनमतको अपमान हुनेगरी सांसद् पदबाट राजीनामा दिएर बलिदान दिन नहुने अडानमा नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई रहेको ती नेताले बताए।

‘दोश्रो पुस्ताका नेताको अडानमा वरिष्ठ नेता नेपाल पनि कन्भिन्स हुनुभयो, राजीनामा नदिने, र विश्वासको पक्षमा मतदान पनि नगर्ने निष्कर्ष त्यसपछि निकालिएको हो,’ ती नेताले भने।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल