Logo

राजनीति

केपी ओलीको अग्निपरीक्षा आजः कसरी अघि बढ्छ विश्वासको मत लिने प्रक्रिया ?



काठमाडौं, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियालाई संसद सचिवालयले आजै टुंगो लगाउने भएको छ। विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष बैठक आज दिउँसो १ बजे बस्दै छ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ।

विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन। बैठक शुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन्। सभामुख अग्निप्रसाद सापकोटाले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन्।

त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन्। प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ। दलीय आधारमा सांसदहरूले आफ्नो मत राख्नेछन्। त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन्।

प्रधामन्त्रीको जवाफपछि विश्वासको मतको प्रस्तावउपर निर्णय प्रक्रिया शुरु हुने छ। यो प्रस्तावलाई मतदानको प्रक्रियाबाट टुंगो लगाइने छ।

संसद् सचिवालयका अनुसार सांसदहरू आफ्नो हस्ताक्षरसहित मत विभाजनमा सहभागी हुने छन्। संसद सचिवालयको रजिष्टरमा हुन्छ, हुन्न र मत दिन्न तीन किसिमका कोलम बनाइएको छ।

सांसदहरूले त्यही कोलममा हस्ताक्षर गरेर आफ्नो मत प्रकट गर्नेछन्। मतदानमा कोरोना संक्रमित सांसदहरूलाई पनि सहभागी गराइने छ। उनीहरूलाई संसद भवन परिसरको छुट्टै टेन्टमा राख्ने व्यवस्था मिलाइएको छ।

संवैधानिक व्यवस्थाअनुसार विश्वास मतको मत विभाजनमा तत्काल कायम रहेको संख्या गणना हुने छ। बहुमत पाएमा ओली प्रधानमन्त्रीमा कायमै रहने छन्। नपाए उनको विकल्पमा अर्को सरकार गठनको प्रक्रिया शुरु हुनेछ।

प्रतिनिधिसभामा हाल कायम सांसदहरुको संख्या २ सय ७१ छ। प्रधानमन्त्रीले विश्वासको मत पाउन १ सय ३६ सांसद चाहिन्छ। संसद्मा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद छन्।

आन्तरिक विवादमा फसेको एमालेका माधव नेपाल पक्षका सांसदहरूले राजीनामा वा फ्लोर क्रस गर्न सक्ने आंकलन पनि हुँदै आएको छ।

यदि एमालेका सबै सांसदहरूले ओलीलाई मत दिए पनि सरकार टिकाउन चाहिने मत अपुग हुने छ। किनभने ६१ सांसद रहेको कांग्रेस र ४९ सांसद रहेको नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत नदिने यसअघि नै निर्णय गरिसकेका छन्।

अंकगणितको हिसाबमा सत्ता समीकरणमा निर्णायक मानिएको जसपाका हाल कायम ३२ सांसद छन्। जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीको विपक्षमा उभिएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो तटस्थ बस्ने निष्कर्षमा पुगेको छ।

आइतबार बसेको जसपाका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने र स्वतन्त्र छाड्ने निर्णय गरेको थियो। संसद्मा नेमकिपा, जनमोर्चा, राप्रपा र स्वतन्त्र १–१ जना सांसद छन्।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल