![](https://www.asiasanchar.com/wp-content/uploads/2021/05/Mayra-Zulfiqar-United-Kingdom-in-Pakistan-1-1024x575.jpg)
इस्लामावाद, २३ वैशाख – नोबेल शान्ति पुरस्कार मलाला युशुफजाईको देश पाकिस्तान। इस्लामिक गणतन्त्र पाकिस्तानमा महिलाले पनि शिक्षा पाउनु पर्छ भनेर लड्दा–लड्दै मलालामाथि तालिवानले आक्रमण गर्यो।
कट्टरपन्थी सोचले ग्रस्त पाकिस्तानी समाजमा कहिलेकाही सोच्नै नसकिने घटना घट्छन्। लण्डनबाट आफन्तको विवाहमा सरिक हुन आएकी एक युवती पनि त्यही चरमपन्थी सोचको शिकार भएकी छिन्।
घटना सोमबारको हो। विवाह आफ्नो इच्छाले गर्ने हो। आफूले रोजेको व्यक्तिसँग गर्ने हो। अपितु, २४ वर्षीया मायरा जुल्फिकरको जीवनमा त्यस्तो हुन सकेन।
जबरजस्ती गरिएको विवाहको प्रस्ताव अस्वीकार गर्दा मायराको हत्या भएको हो। मायरा आफन्तको विवाहमा सहभागी हुन पाकिस्तान पुगेकी थिइन्।
पाकिस्तानी समाचार संस्थाहरूका अनुसार विवाहको प्रस्ताव अस्वीकार गरेको बहानामा चार जना युवकले योजनाबद्ध रुपमा मायराको हत्या गरेका हुन्।
पाकिस्तानी प्रहरीका अनुसार कानूनशास्त्र संकायमा स्नातक गरेकी मायरा बेलायतमा बस्दै आएकी थिइन्। मायरा पाकिस्तान आएपछि हत्यामा संलग्न दुई युवकको विवाहको प्रस्ताव राखेका थिए।
तर, मायराले विवाहको प्रस्ताव अस्वीकार गरेकी थिइन्। शाद अमीर बट र जाहिर जादुन नामका दुई अभियुक्तलाई प्रहरीले खोजी रहेको छ।
प्रहरीका अनुसार मायराको घाँटी र पाखुरामा गोली प्रहार गरिएको थियो। गोली हानेपछि पनि मायराको घाँटी थिचिएको पोष्टमार्टम् रिपोर्टमा उल्लेख गरिएको छ।
मायरा २ महिनादेखि पाकिस्तानमा बसिरहेकी थिइन्। कोभिड–१९ को संक्रमण फैलिएपछि मायरा पाकिस्तानबाट बेलायत फर्किन पाएकी थिइनन्।
साथीसँगै अपार्टमेन्टमा बस्दै आएकी मायरामाथि आक्रमण भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो। ‘घटनास्थल पुग्दा मायराको मृत्यु भइसकेको थियो। उनको शव रग्ताम्यै अवस्थामा भुइँमा थियो,’ प्रहरी श्रोतले भन्यो।
घटनाको विषयमा अनुसन्धान र फरार अभियुक्तको खोजी कार्य जारी रहेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया