Logo

समाचार

कोरोना संक्रमितले ह्याम्स अस्पतालमा एउटै बेडको ५० हजार तिर्नुपर्ने, केएमसीको शुल्क ३० हजार



काठमाडौं, २२ वैशाख – कोरोना प्रकोप उत्कर्षमा पुगेका बेला राजधानी काठमाडौंका अस्पतालहरूले मनाेमानी शुल्क लिइरहेकाे गुनासाे बिरामीका आफन्तले गरेका छन्। काठमाडौं मेडिकल कलेज (केएमसी) र ह्याम्स अस्पतालले सूचना नै प्रकाशित गरी कोरोना भाइरसको संक्रमणमा परेका बिरामीसँग मनोमानी शुल्क लिन थालेका हुन्।

काठमाडौं मेडिकल कलेजले सूचना प्रकाशित गरी नयाँ भर्ना हुने बिरामीका लागि शुल्क निर्धारण गरिएको जानकारी दिएको छ। अस्पतालका वरिष्ठ प्रशासक प्रेमप्रकाश थापाले जारी गरेको सूचनामा कोभिड क्याबिन सिंगल बेडका लागि प्रतिदिन २० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी गराएका छन्।

त्यसैगरी, कोभिड क्याबिन डबल बेडका लागि प्रतिदिन १० हजार रुपैयाँ, कोभिड क्याबिन डिलक्सका लागि एकदिनको २५ हजार रुपैयाँ र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ।

‘यस काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा कोभिड पोजिटिभ बिरामीहरूका लागि थप कोभिड क्याबिनको व्यवस्था गरिएकाले भर्ना भइसकेका बिरामीहरूलाई यथावत दर तथा मिति २०७८ वैशाख १९ गतेको ६ बजेबाट नयाँ बिरामीहरूको हकमा निम्नानुसार शुल्क कायम गरिएकाले जानकारी तथा आवश्यक कारबाहीका लागि अनुरोध,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ह्याम्सले तोक्यो ५० हजार रुपैयाँ

काठमाडौंकै ह्याम्स हस्पिटलले एक व्यक्तिको उपचारका लागि दैनिक ५० हजार रुपैयाँसम्मको शुल्क निर्धारण गरेको छ। ह्याम्स अस्पतालले आइसोलेसन सुइट रुमको शुल्क ५० हजार रुपैयाँ तोकेको हो।

त्यसैगरी, ह्याम्स हस्पिटलले आइसियू बेडको २२ हजार रुपैयाँ, आइसोलेसन डिलक्स रुमको २६ हजार रुपैयाँ, आइसोलेसन प्राइभेट रुमको २१ हजार रुपैयाँ, ट्वीन शेयरिङ रुमको शुल्क १५ हजार रुपैयाँ तोकेको छ।

सबैभन्दा थोरै कोभिड प्याकेजको ७ हजार रुपैयाँ तोकिएको छ। र, एक पटक डाक्टरको भिजिट १ हजार ५ सय रुपैयाँ तोकिएको छ। औषधिको छुट्टै शुल्क तिर्नुपर्ने शर्त–मञ्जुरीसहित बिरामी भर्ना लिइने ह्याम्स हस्पिटल श्रोतले बताएको छ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचार गर्ने निजी अस्पताललाई प्रतिसंक्रमित प्रतिदिन सामान्य अवस्थाका बिरामीको ३ हजार ५ सय रुपैयाँ, मध्यम् स्थितिका बिरामीको ७ हजार रुपैयाँ र जटिल प्रकृतिका बिरामीको उपचार गरेबापत १५ हजार रुपैयाँ तोकेको छ। यद्यपि, ह्याम्स हस्पिटलले स्वास्थ्य मन्त्रालयसँग सम्झौता नगरेको श्रोतले बताएको छ।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल