Logo

राजनीति

ठाकुर–महतो पक्षले गर्‍यो हस्ताक्षर संकलन, नयाँ मोर्चाबन्दीले तनावमा डा. भट्टराई र यादव



काठमाडौं, २१ वैशाख – जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर संकलन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा गरिएको ठाकुर र महतो पक्षले हस्ताक्षर संकलन गरेको हो।

खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको जानकारी जसपाका एक नेताले दिएका हुन्।

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ। त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षतिर देखिएका जसपाका नेताहरूले बताएका छन्।

यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरूको हस्ताक्षर संकलन गरिसकेको छ। यसैगरी, जसपाका ३४ जना सांसदहरूमध्ये दुईजना निलम्बनमा परेपछि अहिले ३२ सांसद छन्।

प्रधानमन्त्री ओलीको समर्थन र विरोधको विषयलाई लिएर जसपाभित्र दुई धार देखिएको छ। ठाकुर र महतो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन्। यादव र भट्टराई ओलीको विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने पक्षमा रहेका छन्।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरेकी छन्।

यससँगै प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नयाँ सरकार गठनमा विपक्षी दलहरूबीचको सत्ता साझेदारी गर्ने भन्ने विषयमा जसपा विभाजन उन्मुख भएको छ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल