Logo

समाचार

प्रवासी नेपालीका सारथी बुद्धिसागर सुवेदी : साझा एजेण्डा बोकेका दुरदर्शी नेतृत्व



काठमाडौं, २३ चैत – कुनै पनि संस्था, संगठन वा राजनीतिक दलको समितिमा रहेर नेतृत्व गर्न चाहनेले बुझ्नुपर्ने पहिलो शर्त हो– धरातल। धरातल बुझ्नेले नै सही नेतृत्व दिन सक्छ र समस्याको समाधान पनि।

नेतृत्व लिन चाहनेले आफ्नै धरातल, हैसियत र क्षमताको पनि स्वमूल्यांकन गर्न उत्तिकै जरुरी छ। प्रसंग हो, गैरआवासीय नेपाली संघ (एनआरएनए) मा शुरु भएको राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको निर्वाचन।

आगामी जुलाईसम्ममा सबै ८३ वटै एनसीसीहरूको अधिवेशन भइसक्नुपर्ने छ। यही प्रावधानका कारण पनि यतिबेला धेरै मुलुकमा चुनाव लागेका छन्। ओमानमा अधिवेशन भइसकेको छ। केही मुलुकले अधिवेशनको तयारी गरिरहेका छन्।

अमेरिका संघकै सबैभन्दा ठूलो एनसीसी हो। झण्डै २१ हजार गैरआवासीय नेपालीहरूले औपचारिक रुपमा नै सदस्यता लिएका छन्। ३१ वटा राज्यमा त च्याप्टर नै छ।

विश्वकै शक्तिशाली मुलुक र धेरै सदस्यता भएका कारण विश्वभरका गैरआवासीय नेपालीहरूको ध्यान अमेरिकामा आगामी महिना हुने एनसीसीको चुनावले खिचेको छ।

विश्वकै सबैभन्दा ठूलो एनसीसीको नेतृत्व लिनका लागि अमेरिकामा रस्साकस्सी शुरु भएको छ। उम्मेदवारहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै प्रचार प्रसारलाई तीव्रता दिएका छन्। एनसीसी अमेरिकाको आगामी अधिवेशनबाट नेतृत्व लिन चाहेका एक सशक्त उम्मेदवार हुन्, बुद्धिसागर सुवेदी।

धरातल बुझेको छु, नेतृत्व गर्छुः सुवेदी

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका हानिएका बुद्धिसागर अहिले अमेरिकामा रहेका नेपालीहरुको नेतृत्व लिने होडमा छन्।

स्याङ्जामा जन्मेर चितवनमा हुर्केका सुवेदीलाई नेपालका ती दिनहरू अझै ताजै छन्। ‘खाली खुट्टा स्कुल जाँदादेखि विश्वविद्यालयमा अध्यापन गराउँदासम्मका मात्रै होइन, अमेरिकामा आएपछि भोग्नुपर्ने सबै समस्या मैले भोगेको छु,’ गत महिना न्यूयोर्कमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा सुवेदीले भने, ‘स्वदेशदेखि विदेशसम्मको ग्राउण्ड के हो भन्ने मैले राम्ररी बुझेको छु।’

विद्यालय पढ्दादेखि नै जुनियर रेडक्रस सर्कलमार्फत समाजसेवा आरम्भ गरेका सुवेदीले अमेरिका गएपछि पनि आफ्नो सेवाभावलाई निरन्तरता दिइरहेका छन्।

विस्कन्सनमा व्यवसाय गरिरहेका उनले आरम्भमा ‘नयाँ’ नामको सामाजिक संस्था स्थापना गरेर समाजसेवा आरम्भ गरे। समाजसेवाको दायरा फराकिलो बनाउँदै जाँदा उनी एनआरएन अभियानमा आबद्ध भए।

एनआरएनको विस्कन्सन च्याप्टरको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाएका सुवेदीले आफ्नो अभियानबारे जानकारी दिए। हाल एनआरएन एनसीसी अमेरिकाको उपाध्यक्ष रहेका सुवेदीले त्यसअघि नै दुई कार्यकाल विभिन्न पदमा रहेर बिताइसकेका छन्।

‘यहाँ के समस्या छ र ती समस्यालाई कसरी समाधान गर्ने भन्ने उपाय र दृष्टिकोण म सँग छ,’ उनले आफू उम्मेदवार हुनुको कारण र योजना पनि सुनाए।

पछिल्ला तीन कार्यकाल लगातार विभिन्न पदमा रहेर काम गरिसकेका सुवेदीले अमेरिकामा रहेका नेपालीहरुको सेवाका लागि स्पष्ट योजना र दृष्टिकोण बनाएका छन्।

पहिलो– अध्यक्ष भएर गर्नुपर्ने कामको सूची नै बनाइसकेका सुवेदीले आफूसँग एनआरएन हाँक्ने स्पष्ट दृष्टिकोण रहेको बताएका छन्।

दोश्रो योजनामा पनि सुवेदी प्रष्ट छन्। ‘एनआरएन सानो संस्था होइन, यसलाई नेतृत्व गर्दा सबै पक्षसँग समन्वय र सहकार्य गर्नुपर्छ, त्यसका लागि श्रोत चाहिन्छ,’ उनले भने।

व्यक्तिगत खर्चदेखि संस्था सञ्चालन गर्नेसम्मका लागि आवश्यक श्रोत व्यवस्थापन महत्त्वपूर्ण विषय रहेको सुवेदीको तर्क छ। व्यक्तिगत खर्चका लागि आफू सक्षम रहेको र संस्थागत खर्च व्यवस्थापनका लागि आफूसँग योजना रहेको उनी बताउँछन्।

तेश्रो– सुवेदीकै भनाइमा संस्थाको नेतृत्व र सेवाका लागि आवश्यक कुरा समय हो। संस्थालाई आफूले समय दिन सक्ने बताउँदै सुवेदीले भने, ‘अहिले मलाई पारिवारिक र व्यावसायिक रुपमा समयको चाप छैन, मैले मेरो समय पूर्ण रुपमा संस्था सञ्चालनमा लगाउन सक्छु।’

श्रोत, साधन, समय र योजनासहित मैदानमा उत्रिएका सुवेदीले झण्डै अठार वर्ष लामो अमेरिका बसाइका क्रममा त्यहाँ रहेका नेपालीहरुले भोग्नु परेका समस्यासँग पटक पटक जुधेका छन्।

एनआरएनले दिने सुविधाका बारेमा सदस्यहरूको प्रतिक्रिया राम्ररी बुझेका छन्। त्यसैले उनले संस्थालाई बलियो बनाउँदै आकर्षण थप्न र नेपालीहरुको हितका लागि केही योजना बनाएका छन्।

यस्ता छन् सुवेदीका योजना

‘एनआरएनबाट अझ धेरै सुविधा पाइए हुन्थ्यो भन्ने धेरैको चाहना छ,’ सुवेदीले भने, ‘यो चाहना पूरा गर्नु नै मेरो योजना हो।’

सुवेदीका अनुसार अहिले एनआरएनको श्रोत भनेको सदस्यता शुल्क मात्रै हो। सदस्यता शुल्कवापत संकलित रकमले मात्रै चाहेजसरी संस्था सञ्चालन गर्न नसकिने र सेवा पनि दिन नसकिने उनको अनुभव छ।

‘त्यसका लागि अन्य श्रोतको पनि खोजी गरिनुपर्छ, मैले केही श्रोतहरूको पहिचान गरेको छु,’ उनले भने।

अमेरिकी सरकारले अल्पसंख्यक समुदायको हितका लागि वार्षिक रुपमा अनुदान उपलब्ध गराउने गर्छ। तर, अहिलेसम्म नेपाली समुदायले त्यो अनुदान पाएको छैन। उनको योजना छ– अमेरिकी नीतिमा नेपाली समुदायको उपस्थिति गराउने र अनुदान ल्याउने।

संस्था कोही कसैले पनि एक्लै सञ्चालन गर्न नसक्ने उनको बुझाइ छ। कुनै वर्ग विशेष र समुदाय विशेषले मात्रै पनि संस्था सञ्चालन गर्न सक्दैन।

सबैलाई समेट्ने र समावेशी बनाउने उनको लक्ष्य छ। त्यस्तै, अमेरिकामा रहेका विभिन्न च्याप्टरहरूलाई स्वतन्त्र र स्वायत्त रुपमा काम गर्न दिने र ती च्याप्टरका अध्यक्षहरूलाई एनसीसीको बोर्ड अफ डाइरेक्टर सरहको भूमिका दिनुपर्छ भन्ने सुवेदीको सोच रहेको छ।

सुवेदीलाई सबैभन्दा बढी पिरोलेको विषय हो– नागरिकताको निरन्तरता र पैतृक सम्पत्तिमाथिको अधिकार। नेपालको नयाँ संविधानले यो अधिकार प्रदान गरे पनि बन्दै गरेको नागरिकतासम्बन्धी कानुनले खुम्च्याउन खोजेको उनको गुनासो छ।

‘विदेशमा रहेका पहिलो पुस्ताको नेपाली नागरिकतालाई निरन्तरता दिनुपर्छ,’ उनले भने, ‘गैरआवासीय नागरिकता त दोश्रो पुस्ताबाट मात्रै लागू हुनुपर्छ।’

विदेशमा रहे पनि मन र मुटुमा नेपालीपन रहेकाहरूलाई नेपालले नागरिकता र सम्पत्तिको हकको कारणबाट कहिल्यै बञ्चित गर्न नहुने उनको ठम्याइ छ।

विदेशी पासपोर्ट लिए पनि त्यहाँ जन्मस्थान नेपाल लेखिने गरेकोमा ध्यान दिन उनले नेपाल सरकारलाई आग्रह गरेका छन्। ‘पासपोर्टमा जन्मस्थान नेपाल लेखिएको छ, तर नेपाल जाँदा भिसा शुल्क बुझाउनुपर्छ,’ उनले भने, ‘यो प्रावधान अव्यावहारिक छ, नेपाल सरकारले तत्काल यो व्यवस्था हटाउनुपर्छ।’

गैरआवासीय नेपालीहरूको हितका लागि नेपालमा नै गएर महिनौसम्म धर्ना दिन परे पनि आफू तयार रहेको उनले बताए। ‘विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानाडा र युरोपेली मुलुकमा बस्ने नेपालीहरू सरकारको नियमबाट पीडित भइरहेका छन्,’ उनले भने।

‘गर्न सकिने काम छन्, सकिन्छ’

सुवेदीको बुझाइमा गैरआवासीय नेपालीहरुले भोग्नु परेका समस्या समाधान गर्न त्यति कठिन छैन। त्यसका लागि साझा लक्ष्य र एकताको मात्रै खाँचो छ।

सबै एकजुट भएर लाग्ने हो भने प्रवासमा भोग्ने समस्यादेखि नेपालमा गर्न खोजिएको विभेद सबै हटाउन सकिने उनको दावी छ। ‘सबै काम गर्न सकिने छन्, त्यसका लागि कसैले नेतृत्व लिनुपर्छ, नेतृत्व लिन म तयार छु,’ उनले स्पष्ट पारे।

सदस्यता लिएका मात्रै नभई सदस्यता नलिएका गैरआवासीय नेपालीहरूको समेत सल्लाह र सुझावलाई गम्भीर रुपमा लिएर आफू अगाडि बढेको सुवेदीले बताए।

अमेरिकामा सन् २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि आगामी मे महिनामा निर्वाचन हुँदै छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : २३ चैत्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल