Logo

समाचार

‘सृष्टिसँग दृष्टि संवाद’ शोः ‘मोटिभेसनल स्पीकर’ केसी अब काँचको पर्दामा



काठमाडौं, १८ फागुन – मोटिभेशनल स्पीकरको रुपमा चर्चा कमाएकी ‘ब्लाइण्ड रक्स्’ सृष्टि केसी टेलिभिजन प्रस्तोताको रुपमा उदाएकी छिन्। मर्यादा मिडिया प्रालिको प्रस्तुति टेलिभिजन कार्यक्रम ‘सृष्टिसँग दृष्टि’ लिएर केसी काँचको पर्दामा देखा पर्न लागेकी हुन्।

विभिन्न उतार चढाव र संघर्षलाई चिर्दै सार्वजनिक जीवनमा योगदान पुर्याएका व्यक्तिहरूलाई पर्दामा उतारेर समाजलाई अझ प्रेरणा दिने विषय वस्तुमा आधारित टक शोको प्रस्तोता हुन पाँउदा आफू झनै रोमाञ्चित भएको केसीको प्रतिक्रिया छ।

टेलिभिजन कार्यक्रमको प्रस्तोताका रुपमा अनुबन्ध भएपछि उत्साहित हुँदै उनले भनिन्, ‘डान्सिङ रियालिटी शोमा पनि मैले उत्कृष्ट प्रस्तुति गरेर दर्शकको मन जितेँ, ‘मोटिभेस्नल स्पीच’ त अन्तराष्ट्रिय रुपमा मैले कमाएको ख्याती नै हो, अब टक शो मेरो ठूलो चुनौती हुनसक्छ, तर म तपाईंहरूलाई निराश बनाउँदिन, सफल बनाई छाड्छु।’

‘म आँखा देख्दा कहिल्यै फर्स्ट भइनँ, तर दृष्टिविहीन भएपछि कहिल्यै सेकेण्ड हुनु परेको छैन,’ केसीले थपिन्। टेलिभिजन कार्यक्रम उत्पादक कम्पनी मर्यादा मिडियाका कार्यक्रम प्रमुख श्याम नेपाल सृष्टिलाई पर्दामा उतारेर समाजको संघर्षको कथालाई बाहिर ल्याउन पाउँदा आफू उत्साहित रहेको बताउँछन्।

उनले ‘सृष्टिसँग दृष्टी संवाद’ एउटा महत्त्वपूर्ण र इतिहास लेखिने कार्यक्रम बनाइने बताए। ‘सृष्टिको मिहिनेत र हाम्रो सत्प्रयासले कार्यक्रमको उचाइ बढ्नेमा हामी ढुक्क छौं,’ कार्यक्रमको निर्देशक समेत रहेका नेपालले भने।

कार्यक्रम नयाँ वर्ष २०७८ सालको दोश्रो सातादेखि राष्ट्रिय टेलिभिजनबाट प्रशारण गरिने मर्यादा मिडियाले जानकारी दिएको छ। कार्यक्रमको ५ अंक छायाङ्कन गरिसकिएको छ। कार्यक्रमका मुख्य तथा सहायक प्रायोजकहरू अनुबन्ध गरेलगत्तै पत्रकार सम्मेलनमार्फत् कार्यक्रमको विस्तृत जानकारी दिइने बताइएको छ।

को हुन् सृष्टि केसी?

सृष्टि केसीले १६ वर्षको उमेरमा दृष्टि गुमाएकी हुन्। आँखाको सामान्य एलर्जीले सताएपछि उनी अभिभावकसँग अस्पताल गएकी थिइन्। डाक्टरले ’स्टेरोयड’ सम्बन्धी औषधी दिएपछि त्यसको नकारात्मक प्रभावले उनको आँखामा जलबिन्दु भयो।

त्यही समस्याले पछि उनले सदाका लागि आँखाको ज्योती गुमाइन्। साहित्य, गायन र विशेषगरी नाच्नमा रुची राख्ने सृष्टि, मोटिभेस्नल स्पीकरको रुपमा देशविदेशमा प्रख्यात छिन्।

उनी त्रिभुवन विश्वविद्यालयको २०६५ सालको स्नातक परीक्षामा नेपाली साहित्य विषयमा विश्वविद्यालय ‘टपर’ हुन्। सृष्टिले नर्वेजियन विश्वविद्यालयबाट ‘डान्स एन्थ्रोपोलोजी’मा स्नातकोत्तरसमेत गरेकी छिन्।

सृष्टिको संस्था ‘ब्लाइण्ड रक्स्’ले दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सीप सिकाउने, व्यक्तित्व विकासमा मद्दत पुर्‍याउने, आत्मबल बढाउने लगायतका काम गर्दै आएको छ। देशका विभिन्न स्थानमा ‘ब्लाइण्ड रक्स्’ले आफ्नो गतिविधि बढाइरहेको छ।

सृष्टिको जीवनमा आधारित ‘ब्लाइण्ड रक्स्’ बायोपिक बनिसकेको छ। सृष्टिले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान पाएकी छन्।

महावीर पुनले बनाए घर–घरमै औषधी पुर्‍याउने मेडिकल ड्रोन (भिडियो)

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल