Logo

स्वास्थ्य

उपचार सम्भव छ ‘डेढो’ आँखाको, यो भाग्यमानीको संकेत होइन



के हो डेढोपन?

हाम्रा दुईवटा आँखा भए पनि एउटाले मात्र पनि देख्नचाहिँ सक्छ। तर, दुवै आँखा राम्रो देख्ने भएमा वस्तुहरू बढी प्रष्ट देखिने, त्यसको आकार–प्रकार र सही गहिराइ र दूरी मापन सहज हुने तथा दृष्टि क्षेत्र पनि बढ्ने हुन्छ। तसर्थ, हाम्रा दुवै आँखाले देख्नु जरुरी छ। दुवै आँखाले देख्न सामान्य अवस्थामा दुवै आँखाका दृष्टिपर्दाका दृष्टिकेन्द्रमा आकृति बन्नुपर्दछ। त्यसका लागि हामीले कुनै पनि वस्तु हेर्दा दुवै आँखाले एउटै विन्दुमा हेर्ने गर्छन्, दुवै आँखा सँगसँगै घुम्ने गर्छन्।

आँखालाई यसरी घुमाउन दुवै आँखामा ६–६ वटा मांसपेशी हुन्छन्, जसले आँखालाई सबै दिशामा एकैसाथ घुमाउन सहयोग गर्छन्। यो क्रियामा दुवै आँखाका मांसपेशी अलग–अलग भए पनि यसको समन्वयात्मक भूमिका हुन्छ। कुनै पनि कारणले आँखाका यी मांसपेशीको समन्वयमा गडबडी आएमा वा कुनै मांसपेशी कमजोर भएमा दुवै आँखा एकैतिर एकैसाथ घुम्न वा हेर्न नसक्ने वा अप्ठ्यारो हुने गर्छ। आँखाको यो अवस्थालाई डेढो आँखा भन्ने गरिन्छ।

समस्याको व्यापकता

आँखाको डेढोपन जुनसुकै उमेरका व्यक्तिमा हुने गर्छ। तर, यसको जटिलता साना नानीबाबुमा बढी हुन्छ। उनीहरूमा यसको असर बढी पर्ने हुनाले बच्चाको डेढोपनको उपचार ठूला व्यक्तिको भन्दा बढी जरुरी हुन्छ।

झन्डै ५ प्रतिशत बच्चा सामान्यदेखि जटिल अवस्थाको डेढोपनको समस्याबाट ग्रस्त रहेको तथ्यांकले देखाएको छ। बच्चामा डेढो आँखा पाइएमा त्यसको उपचार सकेसम्म चाँडै गराउनुपर्छ। ढिलोमा पनि बच्चा ६–७ वर्षको उमेर नकट्दै उपचार गराउनुपर्छ। यसो गरेमा बच्चाको आँखा सीधा हुनुका साथै दुवै आँखाको दृष्टिसमेत जोगाउन सकिन्छ। अन्यथा, उपचारमामार्फत आँखा सीधा भए पनि दृष्टिमा सुधार नआउन सक्छ। यसर्थ, बच्चामा डेढोपन देखिएमा चाँडै आँखा अस्पताल लैजानु जरुरी हुन्छ।

डेढोपनका कारण

डेढो आँखा विभिन्न कारणले हुन सक्छ। चस्मा लगाउनुपर्ने कारणले वा अन्य कारणले दृष्टि कम भएमा, आँखाको गेडीलाई चलाउने मांसपेशी वा स्नायुको खराबीजस्ता कारणले पनि आँखा डेढो हुनसक्छ। केटाकेटी अवस्थामै एउटा आँखाभन्दा अर्काे आँखाको दृष्टि क्षमतामा कमी, न्यूनदृष्टि वा अन्धोपनको समस्या भएमा पनि यो समस्या देखिन सक्छ।

डेढो आँखाको असर

हामीले हेरेको वस्तुको चित्र दिमागमा पर्दा एकै ठाउँमा केन्द्रीकृत हुन्छ, जसका कारण हामी दुवै आँखाले हेरेको वस्तु एउटै देख्छौँ। तर, आँखा डेढो हुँदा दुई आँखाले हेरेको वस्तुको चित्र आँखाको दृष्टिपर्दामा फरक–फरक ठाउँमा केन्द्रीकृत हुन पुग्छ। जसले गर्दा दिमाग भ्रमित हुन पुग्छ र विस्तारै दिमागले भ्रमित आकृति पठाउनुका साथै आँखाबाट आएका आकृति स्वीकार गर्न छोडिदिन्छ। फलस्वरूप डेढो आँखाले पछि बिस्तारै नदेख्ने हुन थाल्छ।

उपचार

धेरैजसो डेढोपन दुईवटा आँखाको दृष्टि क्षमतामा भएको फरक तथा मांसपेशीको समन्वय नहुनाले हुने गर्छ। यस्तो किसिमको डेढोपनलाई चस्माको प्रयोग तथा समयमै आँखाको मांसपेशीको व्यायाम गराएर निको पार्न सकिन्छ। यदि यसबाट पनि निको नभएमा शल्यक्रियाद्वारा मांसपेशीलाई ठीक पार्न सकिन्छ। तर, यसको उपचार बच्चा ६–७ वर्ष नपुग्दै गरेमा मात्र दृष्टि क्षमतामा सुधार आउने सम्भावना हुन्छ। त्यसैले समयमै उपचार गराउनु राम्रो मानिन्छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल