![](https://www.asiasanchar.com/wp-content/uploads/2021/01/Yashoda-Bhattarai-ECAN-Educational-Consultancy-Association-of-Nepal-Asia-Sanchar.jpg)
उच्च शिक्षा हासिल गर्नका लागि विभिन्न देशमा जाने विद्यार्थीहरू लाखौं छन्। अध्ययनपछि रोजगार र स्वदेशमै आएर पनि आफ्नो ज्ञानको अनुभवलाई प्रयोगमा उतार्ने विद्यार्थीहरू पनि धेरै छन्। केही दशकअघि अध्ययनका लागि कसरी विदेश जाने भन्ने विषयमा विद्यार्थी अन्यौलमा पर्थे। तर, अहिले देशको राजधानीदेखि दुरदराजसम्म शैक्षिक परामर्श केन्द्रहरू खुलेका छन्। र, हजारौं विद्यार्थीले शैक्षिक परामर्श सेवा लिन पाएका छन्। शैक्षिक परामर्श कार्यका लागि छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले उच्चतम् पहल गरिरहेको छ। तर, कोरोना प्रकोपले शैक्षिक परामर्शको क्षेत्रमा पनि निकै ठूलो असर पारेको छ। यही परिप्रेक्ष्यमा इक्यान शैक्षिक मेला भर्चुअलमाध्यमबाट सञ्चालन भइरहेको छ। प्रस्तुत छ यही सेरोफेरोमा नेपाल शैक्षिक परामर्श संघकी सल्लाहकार एवं सजीव एजुकेशनल कन्सल्ट्यान्सीकी निर्देशक यशोदा भट्टराईसँग गरिएको कुराकानी:
कोरोना प्रकोप शुरु भएपछि अरु क्षेत्रजस्तै शैक्षिक परामर्शको क्षेत्रमा पनि असर पर्यो। लकडाउन खुलेपछि परिस्थिति केही सहज भएको हो?
–कोरोना प्रकोपको असर अरु क्षेत्रमा भन्दा पनि शैक्षिक क्षेत्रमा बढी पर्यो। विद्यार्थीहरूको पढाई नै एक वर्ष ढिला भयो। विद्यार्थीले शैक्षिक वर्ष सकिने बित्तिकै कक्षा ११ र १२ को परीक्षा दिन पाएनन्। त्यससँगै जो विद्यार्थी अध्ययनका लागि बाहिर जान चाहनुहुन्छ, उहाँहरूले लिनुपर्ने भाषाको परीक्षाको तयारी कक्षा पनि लिन पाउनु भएन। लकडाउनको अवधिमा कन्सल्ट्यान्सी बन्द गर्नुपर्यो। त्यसैले भावी पुस्ताका लागि निकै ठूला असर पर्यो। तर, अहिले आएर केही सहज भएको छ। यद्यपि, अझै केही समय लाग्छ। अरु क्षेत्रजस्तै शैक्षिक परामर्शको क्षेत्रको पुनरोत्थान हुन केही समय अवश्य पनि लाग्छ।
नेपालमा कयौं शैक्षिक परामर्श केन्द्रहरू छन्। ती कन्सल्टेन्सी र इन्टिच्यूटहरूले लकडाउनपछि कस्तो रणनीतिका साथ काम गरिरहेका छन्? र, परामर्शको कार्यका लागि के कस्ता काम भइरहेका छन्?
–विद्यार्थी र अभिभावकलाई सही सूचना दिनु नै शैक्षिक परामर्शदाताको मुख्य उद्देश्य हुनुपर्छ। हाम्रो उद्देश्य, रणनीति वा कार्यक्रम जे भने पनि विद्यार्थी र अभिभावकलाई उच्च शिक्षा हासिल गर्ने सम्बन्धमा सही सूचना दिनु नै हो। संक्रमणकालको फाइदा उठाएर विभिन्न गलत सूचनाहरु प्रवाह गर्ने, विद्यार्थीलाई मिसगाइड गर्ने काम चाहिँ कुनै पनि शैक्षिक परामर्शदाताबाट हुनुहुँदैन। कुनै पनि व्यवसायीले यस्तो काम गर्नु हुँदैन। योबीचमा विदेशमा पढ्न चाहनेहरूलाई पनि निकै ठूलो समस्या र तनाव आइपर्यो। कलेजमा पनि नियमित रुपमा अप टु डेट भएर पढ्न पाएनन्। त्यसकारण उनीहरूको ग्रेडमा पनि समस्या आयो होला। कतिलाई पारिवारिक वियोग पर्यो होला। कतिको परिवारमा संक्रमण देखियो होला। यस्तो सेन्टिमेन्टलाई बुझेर पनि परामर्शदाताहरूले सही परामर्श दिनुपर्छ। मैले पनि यस्ता समस्याहरू भएको थाहा पाएमा सोही बमोजिमको उत्साह, सल्लाह र प्रेरणा दिने गरेकी छु। तनावबीच अघि बढ्ने अठोट सबैले राख्नुपर्छ।
सजीव एजुकेशनल कन्सल्ट्यान्सीबाट विदेश पढ्न गएका विद्यार्थीहरूको अवस्था कस्तो रह्यो? उनीहरूले आफूले भोगेको समस्याबारे जानकारी लिने र सहजीकरण गर्ने गर्नुभयो?
–मैले सञ्चालन गरेको कन्सल्ट्यासी मात्रै होइन, अरु कोही कसैलाई केही भएको खण्डमा हामी एकजुट भएर समस्याको समाधान खोज्ने गर्छौं। मेरो व्यक्तिगत कुरा गर्दा धेरै ठूलो भोल्यूम छैन मसँग। म आफूलाई भाग्यमानी भनौं कि, विद्यार्थीहरू सही ठाउँमा पुग्नुभएर भनौं कि, धेरै संख्या नभएको कारणले मलाई धेरै समस्या भएन। मलाई योबीचमा कुनै पनि विद्यार्थीले गुनासो गर्नु भएन। यद्यपि, कुनै समस्या परेका बेला हामीले आफ्नो दायित्व पालना गर्न हामी तयार छौं।
नेपाल शैक्षिक परामर्श संघ इक्यानको शैक्षिक मेला भर्चुअलमाध्यमबाट माघ २ गतेदेखि ५ गतेसम्म हुँदैछ। यसबाट विद्यार्थी तथा अभिभावकहरूले कस्तो किसिमको फाइदा लिन सक्नुहुन्छ?
–इक्यानले कोरोना प्रकोपलाई दृष्टिगत गरेर भर्चुअलमार्फत् इजुकेशन फेयर गरेको हो। यसबाट विद्यार्थी र अभिभावकले भर्चुअल माध्यमबाटै विदेशका विभिन्न विश्वविद्यालय, कलेज र महत्त्वपूर्ण शैक्षिक संस्थाको विषयमा जानकारी लिन सक्नुहुन्छ। यसअघि हामीले फिजीकल्ली फेयर गरेर सम्पूर्ण जानकारी दिने गरेका थियौं। तर, अहिले कोरोनाको प्रकोप छ। भेटघाट गर्न नसक्ने अवस्था छ। भौतिक रुपमा उपस्थित भएर कार्यक्रम गर्न सक्ने अवस्था नै रहेन। जसले इन्टरनेशनल एजुकेशन लिन्छु भन्ने सोच्नुभएको छ। ती विद्यार्थीले भर्चुअल फेयरबाट विभिन्न देशका कलेज, शैक्षिक क्षेत्रका विज्ञ र इक्यानका सदस्यहरूबाट सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ। इक्यानकाे १४औं शैक्षिक मेला अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि कोशेढुंगा सावित हुनेछ।
कोरोना प्रकोपका कारण कतिपय अभिभावकहरू आफ्ना छोराछोरीलाई विदेश पठाउन डराइरहेका छन्। अहिले अध्ययनका लागि विदेश जान कतिको अनुकूल छ? र, विद्यार्थी र अभिभावकलाई के सन्देश दिन चाहनुहुन्छ?
–कोरोना प्रकोपका कारण केही अन्यौत र शंकाहरू उत्पन्न भए पनि होला। तर, अभिभावक र विद्यार्थीले नै सही परामर्श लिनुपर्छ। र, आफूले पनि अध्ययन गर्न आफू जान चाहेको देशको अवस्था कस्तो छ भनेर जानकारी लिनुपर्छ। त्यहाँको स्वास्थ्य स्थिति, कोरोना प्रकोप र व्यवस्थापनका सन्दर्भमा जानकारी लिनुपर्छ। बिमा नीतिबारे बुझेर, क्वारेन्टाइनको नीति नियम कस्तो छ भन्ने बुझेर जान सकिन्छ। हतार नगरी सबै कुरा बुझेर आफ्नो सुरक्षालाई ध्यानमा राखेर मात्रै अध्ययनका लागि जान सल्लाह दिन्छु।
नेपाली विद्यार्थीहरू अध्ययन गरिरहेका कयौं देशमा कोरोना प्रकोपको प्रताडनामा छन्। यस्तो परिस्थितिमा विदेश गएर पढ्न कति सुरक्षित छ? अध्ययनका लागि बाहिर जान सक्ने स्थिति आइसकेको हो?
–नेपाल र अरु देशको स्वास्थ्य नीति फरक छ। कोरोना प्रकोपको प्रताडना भए पनि स्वास्थ्य सुरक्षा अपनाएर अध्ययन–अध्यापन भइरहेको छ। विश्वका सबैजसो प्रसिद्ध विश्वविद्यालयहरू एड्भान्स छन्। प्रधिविको उच्चतम् प्रयोगका कारण होस्टलमै बसेर पढ्न पाउने व्यवस्था छ। त्यसैले चिन्ता गर्नुपर्दैन। केही देशमा भाइरसको दोश्रो लहर शुरु भएको सुनिएको छ। जस्तै बेलायतमा पनि प्रभाव भएको भनिएको छ। ती देशहरुले हामी सुरक्षित छौं नभनेसम्म हामीले धैर्य गर्नुपर्छ। अष्ट्रेलियामा पनि भिषा लागेका विद्यार्थी जान पाएका छैनन्। उनीहरूकै नीति नियममा बसेर अघि बढ्नुपर्छ। नेपालको सन्दर्शमा कोरोना छैन जस्तै माहोल बनिसकेको छ। तर, हामीले जुन देशमा जाने हो, त्यो देशको अवस्था नबुझी अहिले नै जानुपर्छ भनेर म व्यक्तिगत रुपमा भन्न चाहन्न। तर, अनुकूल अवस्था आउने बित्तिकै विद्यार्थीहरू अध्ययनका लागि जान सक्नुहुन्छ।
शैक्षिक परामर्श क्षेत्रका तमाम समस्या समाधान गर्न र विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि आवश्यक सेवा दिन अबको योजना कस्तो हुनुपर्छ?
–नेपाल शैक्षिक परामर्श संघ इक्यानभित्र रहेका सदस्यलाई शिक्षित गराउनु सबैभन्दा ठूलो काम हो। इक्यानले त्यो काम गरिरहेको पनि छ। जिम्मेवार व्यवसायी भएर सही परामर्श र सूचना दिन उत्प्रेरणा दिनुपर्छ। छोटो समयमा धेरै कमाउने सोचेर गलत अभ्यास गर्नुहुन्न। विद्यार्थीलाई भविष्यमा नराम्रो र अप्ठ्यारो हुनेगरी कुनै ठाउँमा पठाउनु हुन्न। नेपाल शैक्षिक परामर्श संघको नेतृत्वमा व्यवसायिक सुधार र व्यवसायिक सुरक्षाका लागि आवश्यक सम्पूर्ण काम गर्नुपर्छ।
प्रतिक्रिया