Logo

राजनीति

केसीको उद्घोष, ‘चुनावमाथि षड्यन्त्र गरेर सत्ता लम्ब्याउन खोजे केपी ओलीलाई जनताले सडकमा फाल्छन्’



नुवाकोट, १३ पुस – नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसांसद् जगदीशश्‍वर नरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर–१, चौघडा बजारमा र क्षेत्र नम्बर–२ ले विदुरमा सोमबार आयोजित कार्यक्रममा सभापति केसीले वैशाखमा चुनाव हुनेमा शंका व्यक्त गर्दै चुनाव हुन नसके ओलीलाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन्।

‘केपी ओलीजीको सरकारले वैशाखमा चुनाव त घोषणा गर्‍यो, चुनाव गर्न सक्छौं कि सक्दैनौं, चुनाव नगर्ने षड्यन्त्र गरेर दुई–तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला, जब चुनाव हुन सक्दैन, नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छन्, त्यो दिन टाढा छैन,’ उनले भने।

नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे।

ओलीले असंवैधानिक कदम चलाएको टिप्पणी गर्दै केसीले ओलीलाई प्रश्‍न गरे, ‘यो देशलाई कुन ठाउँमा पुर्‍याउन चाहन्छौ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ? नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि ‘कू’ गरेको नेता केसीको भनाइ थियो।

अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेस उभिएको उल्लेख गर्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने केसीले बताए। ‘केपी शर्मा ओलीले उनको खड्ग उनका पार्टीका नेता कार्यकर्तालाई प्रयोग गरुन् हामीलाई टाउको दुखाइको विषय भएन, तर नेपालको संविधानमा त्यो खड्ग प्रयोग गर्न पाइँदैन, त्यो खड्ग प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन, लोकतन्त्रको हत्या गर्न खोजिएको छ, लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो, लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ–गाउँमा जारी रहन्छ,’ उनले भने।

रमेश खरेलकाे विशेष अन्तरवार्ता: प्रहरीदेखि राजनीतिसम्म

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल