Logo

समाचार

रमेश खरेल नेतृत्वको सुशासन अभियानको निष्कर्ष– संसद् विघटन संविधानमाथि घात र ‘कू’



काठमाडौं, ६ पुस – नेपाल सुशासन अभियानले प्रधानमन्त्री केपी शर्माको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको घटनालाई गम्भीर रुपमा लिएको जानकारी गराएको छ।

सामाजिक अभियन्ता एवं पूर्वप्रहरी रमेश खरेलको नेतृत्वमा रहेको अभियानले प्रेस विज्ञप्ति जारी गरी संसद् विघटनको कदम संविधानमाथि घात र ‘कु’ नै भएको निष्कर्ष निकालेको हो।

‘खड्गप्रसाद ओलीले संसद विघटन र चुनावको घोषणाको सिफारिश राष्ट्रपतिलाई गरेलगतै राष्ट्रपतिद्वारा त्यो सिफारिस स्वीकृत भएबाट देशको राजनीति तरंगित , आक्रोशित र गम्भीर मोडमा पुगेको हुँदा नेपाल सुशासन अभीयानको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ जनआदेशका लागि कदम चाल्नु लोकतन्त्रमा नौलो कुरा त होइन, तर जुन कारण परिस्थिति र औचित्यका जगमा यो काम भएको छ।’

यसले संविधान, लोकतन्त्र र जनचाहनाको अवमूल्यन मात्र होइन, पूर्ण रुपमा अवहेलना गर्दै अधिनायकवादी चरित्रको पर्दाफास भएको अभियानको ठहर छ। ‘र, संविधानमाथि घात र ’कु’ नै भएको छ, हामी यो कार्यको घोर भत्सर्ना गर्दछौं,’ अभियानको विज्ञप्तिमा उल्लेख छ।

देशको सम्मानित संस्था राष्ट्रपतिबाट बिना अध्ययन, राय र परामर्शबिना तुरुन्त स्वीकृति हुनुलाई अभियानले बिडम्वनापूर्ण भनेको छ।

‘र, संविधान र जनतामाथिको अपमान हो, मौका छोप्दै, स्वार्थपूर्ण रुपमा र संविधान–कानूनको अवहेलना गर्दै अध्यादेशमार्फत् संवैधानिक परिषद्ले संवैधानिक अगंहरूमा स्वार्थपूर्ण नियुक्ति गरेको छ, त्यो समेत गम्भीर आपत्तिको विषय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘र, सबै राजनीतिक शक्ति, विद्वान वर्ग र जनताले यसलाई अमान्य घोषित गर्नु पर्छ भन्ने हाम्रो मान्यता र आह्वान छ।’

प्रधानमन्त्री र राष्ट्रपतिको साँठगाँठ र अन्य केही व्यक्तिहरूको मिलिमतोमा भएका यस्ता कार्यहरूको नेपाली जनताले राम्ररी मूल्याकंन गर्ने अभियानको ठम्याई छ।

‘र, हामी संविधान र विधिको शासन तथा सुशासनलाई आघात पुर्‍याउने कार्यलाई सफल हुन दिनु हुँदैन भन्ने पनि हाम्रो अपिल छ, सम्भवत् यो विषय सम्मानित सर्वोच्च अदालतमा पुग्ला र यथासमयमा निर्णय होला,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, अधिनायकवादी सोच तथा कार्य र संविधान कानूनको अवहेलनालाई जुन तहबाट भएको भए पनि हामी निन्दा र भत्सर्ना गर्दछौ।’

यो अवस्थामा राजनीतिक शक्ति, जनता, नागरिक समाज सबै देश र जनताका पक्षमा एकजुट भइ अघि बढ्न र निर्णयमा पुग्न अभियानले आह्वान गरेको छ।

हेनुहाेस्: रमेश खरेलसँग विशेष अन्तरवार्ता:

प्रकाशित : ६ पुस २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल