Logo

आर्थिक

सरकारसँगको साझेदारीमा शिथिल अर्थतन्त्रलाई गतिशील बनाउँछौं : किशोर प्रधान



काठमाडौं, ८ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा तथा अधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ। निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यसलाई महाभिडन्तका रुपमा लिने गरिएको छ।

महासंघको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने गर्छन्। वरिष्ठ उपाध्यक्ष पदमा महासंघका उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले राजनीतिक हस्तक्षेपमुक्त महासंघ बनाउने, आर्थिक मुद्दा र व्यवसायीको हकअधिकारलाई चुनावी एजेण्डा बनाएका छन्। ‘हामीले आर्थिक मुद्दालाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘उद्योगी, व्यवसायीको हकहित र सम्मानका लागि उच्च प्राथमिकताका साथ काम गर्ने अभिप्रायले पनि हाम्रो टिमले महासंघको नेतृत्वको तयारी गरेको हो।’

लगानीकर्ताको मनोबल बढाउने, संगठन, सचिवालयको सुदृढीकरण, जिल्ला नगर उद्योगको संस्थागत क्षमता अभिवृद्धि गर्ने, महासंघलाई उद्योगी व्यवसायीका पक्षमा अझै सवल बनाउने योजना प्रधानले प्रस्तुत गरेका छन्।

‘महासंघको आर्थिक उन्नति, निर्यात प्रवर्द्धन, कृषिको व्यावसायिकीकरण गर्दै निजी क्षेत्रको संलग्नता बढाउने हाम्रो योजना छ,’ उनले भने, ‘साना उद्यम्को प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गर्नेगरी योजना बनाएका छौं।’

रोजगारमूलक उद्योगको विकास, विस्तारलाई प्राथमिकता दिएका प्रधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सामाजिक उत्तरदायित्व बहन गर्ने आदि प्रधानका योजना छन्।

‘कोरोना प्रकोपका कारण अस्तव्यस्त भएको आर्थिक अवस्थामा सुधार ल्याउने अभिप्रायले हामी काम गर्ने छौं, सरकारलाई दवाव दिने छौं,’ प्रधानले भने, ‘आर्थिक बृद्धिदरलाई दोहोरो अंक पुर्‍याउने गरी काम गर्न व्यवसायीलाई प्रोत्साहित गर्ने छौं।’

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले महासंघलाई नवीनतम् कार्यशैली र दृष्टिकोणका साथ अघि बढाउन आफू नेतृत्वमा आउन खोजेको उल्लेख गरेका छन्।

समयसापेक्ष कार्यक्रम, विधि र पद्धति

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले महासंघलाई समयसापेक्ष रुपमा अघि बढाउने कार्यक्रम आफ्नो टिमसँग भएको बताए। विधि र पद्धतिको विकास गर्दै महासंघलाई उद्योगी र व्यवसायीको पक्षमा अझै सशक्त रुपमा अघि बढाउनका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गरे।

महासंघलाई साझा संस्थाको रुपमा स्थापित गर्दै अल्पमतको आवाज दबिने अवस्थाको अन्त्य गर्ने प्रधानको प्रष्टोक्ति छ। ‘महासंघलाई सबैको छानो बनाउनु छ, यसमा मेरो स्वार्थ छैन, हामी देशका हरेक उद्योगी र व्यवसायीका लागि लड्छौं।’

महासंघमा ‘हैकमवादी शैली’ भित्रिएको तर्क गर्दै उपाध्यक्ष प्रधानले पछिल्लो एक दशकदेखिको यो परिपाटी अन्त्य गर्नकै लागि आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उल्लेख गरे। ‘म हैकमवादी शैलीको पक्षमा छैन, उद्योगी, व्यवसायीको पक्षमा छु–रहन्छु, र, अब भन्ने अध्यक्ष शेखर गोल्छाले पनि यसमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

‘मेरो अनुभवलाई महासंघको हितमा प्रयोग गर्छु’

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले आफूसँग भएको अनुभव र संस्थाका लागि गरेको कामको ज्ञान महासंघकै हितका लागि प्रयोग गर्ने बताए। ‘वर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र पूर्वअध्यक्षहरूले पनि मेरो अनुभवलाई हेरेर नै समर्थन र सहयोग गर्नुभएको हो,’ उनले भने।

नेपालका सबै उद्योगी र व्यवसायीका पक्षमा आवाज बुलन्द गर्न सक्ने क्षमता भएकै कारण सबैले निजी क्षेत्रको निष्ठावान नेताको रुपमा आफूलाई समर्थन गरेको प्रधानको भनाई छ।

महासंघलाई थिंकट्यांक उत्पादनको थलोको रुपमा थप सुदृढ गर्दै नेपाली अर्थजगतलाई रुपान्तरणको मार्गमा अघि बढाउनका लागि आफ्नो योगदान रहने प्रधानको भनाई छ।

‘महासंघ निजी क्षेत्रको छाता संस्था हो, तर त्योभन्दा बढी थिंकट्यांकको रुपमा विकास भएको एउटा बौद्धिक वर्ग उत्पादन गर्ने थलो पनि हो,’ उनले भने।

कोरोना प्रकोप व्यवस्थापनमा निजी क्षेत्र

वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नसकेको औल्याए। कोरोना प्रकोपका बेला निजी क्षेत्र र सरकारको साझेदारी भएको भए देश धेरै सहज अवस्थामा पुग्न सक्ने र त्यो अवसर अझै रहेको उनले उल्लेख गरे।

‘सरकारसँग सहकार्य गरेर निजी क्षेत्रले धेरै सहयोग र जिम्मेवार पूर्णको भूमिका निभाएको छ, शिथिल अर्थतन्त्रलाई सम्हाल्ने काम निजी क्षेत्रकै हो, यसमा सरकारको सहयोगी भूमिका हुनुपर्छ, हामी यही विषयहरूमा सरकारलाई सजग गराउछौं, आवश्यक ठाउँमा सहयोग गर्छौं,’ प्रधानले भने।

उपाध्यक्ष प्रधानले बैंक र वित्तीय संस्थाहरूलाई अधिक उपयोग गरेर र बैंकलाई शोषण गर्ने प्रवृत्तिबाट मुक्त गराएर राष्ट्रलाई शिथिल अवस्थाबाट माथि उठाउनका लागि सरकारले धेरै काम गर्न सक्ने बताए।

‘साना तथा मझौला उद्योगीलाई व्यावसायिक हित र पुनःरुत्थानका लागि बैंकहरूले सहयोग गर्नुपर्छ, सरकारले विशिष्ट कार्यक्रम निर्माण गरी निजी क्षेत्रलाई कोरोना प्रकोपविरुद्ध लड्न सक्ने अवस्थामा पुर्‍याउनुपर्छ,’ प्रधानले भने।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल