Logo

आर्थिक

अर्थतन्त्रलाई उकास्ने एजेण्डासहित एफएनसिसिआई भिजन–२०२५ : चन्द्रप्रसाद ढकाल



काठमाडौं, ८ मंसिर – नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ। निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यसलाई महाभिडन्तका रुपमा लिने गरिएको हो।

महासंघको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने गर्छन्। वरिष्ठ उपाध्यक्ष पदमा महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन्।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले कोरोना प्रकोपका कारण थपिएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने गरिका एजेण्डा प्रस्तुत गरेका छन्। ‘अर्थतन्त्र जर्जर भएको छ, उद्योगी, व्यवसायीहरू गम्भीर संकटमा परेका छन्, ती सबैलाई समेटेर कार्यक्रम बनाएको छु,’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघ देशका सबै उद्यमी व्यवसायी तथा नेपालमा लगानी गर्ने वैदेशिक लगानीकर्ताको छाता संस्था भएकाले यसको नेतृत्वका सन्दर्भमा बहस हुनु स्वाभाविक भएको ढकालको तर्क छ।

‘महासंघसँग सिंगो निजी क्षेत्रको प्रतिष्ठा र भविष्य जोडिएको छ, विगतका उपलब्धिको रक्षा गरेर अहिले बदलिएका चुनौती र अवसरको सदुपयोग गर्न सक्नुपर्छ,’ ढकालले भने, ‘कोभिड–१९ का कारण हामी प्रतिकूल परिस्थितिमा करिब ८ महिना ढिलो गरी साधारणसभा र निर्वाचन गर्दैछौं, यसैले कोभिड–१९ पछिको अर्थतन्त्रको पुनरुत्थान एवं महासंघलाई अझ बढी सशक्त र प्रभावकारी बनाउनका लागि म र मेरो टिमले मिसन र भिजनसहित नेतृत्वमा दावी गरेको हो।’

‘एफएनसिसिआई भिजन–२०२५’ सार्वजनिक गरेका ढकालले यसमा भिजन, एजेन्डा र कार्ययोजना समावेश गरिएको जानकारी दिए। महासंघको संस्थागत सुधारदेखि नीतिगत पैरवी र आम व्यवसायीको संरक्षणको परिधिभित्र रहेर आर्थिक विकासमा थिंकट्यांकको भूमिका पनि निर्वाह गर्ने उनले बताए।

‘समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मूल नारालाई सार्थक परिणाममुखी बनाउने दावी गर्दै ढकालले महासंघको नेतृत्व गर्दै समग्र व्यापार, व्यवसाय प्रवर्द्धनका लाग्ने बताए।

‘उद्यम, व्यापार, व्यवसायसँगै हासिल गरेको शीप र अनुभवका माध्यमले नयाँ उद्यमी जन्मन सकुन्, राज्यले पनि सोही अनुभवको उपयोग गर्दै व्यवसायमैत्री नीति निर्माण गरोस् भन्ने पवित्र उद्देश्यले नै महासंघमा आबद्ध भएको हौं,’ उनले भने।

महासंघले गर्नुपर्ने दुई कार्य

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले व्यवसायीको हकहित तथा सुरक्षा र नीतिगत पैरवीलाई मुख्य एजेन्डा बनाएका छन्। सरकारका आर्थिक नीतिले मुलुकमा लगानीमैत्री वातावरण बनाउन सकियोस् भन्ने उद्देश्यले महासंघले नीतिगत पैरवी गर्ने उनको भनाई छ।

‘मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन्, सबैलाई समेटेर लैजान सक्ने खुबी छ, नीति निर्माण तहसम्म व्यवसायीका समस्या पुर्‍याउन सक्ने क्षमता छ, त्यसैले नेतृत्वका लागि अघि सरेको हुँ,’ उनले भने।

महासंघ र सरकार संघको समन्वय

उपाध्यक्ष ढकालले आगामी नेतृत्वले सरकारसँगको समन्वयलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने बताएका छन्। सरकारको नीति, कार्यशैलीमा राम्रो भएका खण्डमा देशैभरिका उद्योगी व्यवसायीहरूले राज्यलाई फाइदा पुर्‍याउन सक्ने उनले बताए।

‘राज्यले उद्योगी व्यवसायीहरूलाई अघि बढ्न प्रोत्साहन गर्नुपर्छ, राज्यप्रति निभाउनु पर्ने दायित्वमा हामी सधैं जिम्मेवार भएर पूरा गर्छौं,’ ढकालले भने।

हरेक वर्ष सरकारले ल्याउने बजेट र मौद्रिक नीतिलाई समयसापेक्ष बनाउनका लागि महासंघले सुझाव दिँदै आएको स्मरण गर्दै ढकालले निजी क्षेत्रले आर्थिक उदारीकरण, सम्पत्तिको हकलगायत विषयमा गरेको लबिङको सुनुवाइ भएको प्रष्ट पारे।

एफएनसिसिआई भिजन–२०२५ मा महासंघले देशका प्रबुद्ध वर्गको प्रतिनिधित्व गराएर ‘थिंकट्यांक’ बनाउने अवधारणा ढकालको छ। ‘निजी क्षेत्रमा बृहत छलफल र सहभागिता गराएर प्रभावकारी महासंघलाई रुपमा अघि बढाउने हाम्रो योजना हो,’ ढकालले भने।

उत्पादनमूलक वा सेवामूलक क्षेत्र सक्षम बनाएर राज्यसँग सधैं माग्ने स्थितिबाट मुक्त गराउने ढकालको योजना छ। राज्यसँग इच्छाशक्ति र निजी क्षेत्रसँगको सहकार्यबाटै राष्ट्र अघि बढ्ने बताउँदै उपाध्यक्ष ढकालले यसरी अघि बढेमा कोरोना प्रकोपबाट सिर्जना भएको संकटबाट मुलुकले सहजै मुक्ति पाउने दावी गरे।

आर्थिक प्याकेज आउनुपर्छः ढकाल

उपाध्यक्ष ढकालले अर्थतन्त्रको पुनःउत्थानका लागि सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने बताएका छन्। यसो गर्दा उद्योगी, व्यवसायीलाई मनोवैज्ञानिक रुपमा सरकारको साथ रहेको सन्देश प्रवाह हुने उल्लेख गरे।

महासंघले कोरोना प्रकोपले बन्द भएका हजारौं साना, मझौला उद्यमीको व्यवसाय सुचारु गर्ने र रोजगारी गुमाएकाहरूलाई राहत र रोजगारी दिनेसहितको योजना ढकालले बताएका छन्। ‘अर्थतन्त्रलाई गति दिन वित्तीय सहयोगदेखि बजारीकरणको प्याकेजका कार्यक्रम सरकारलाई प्रस्ताव गर्ने छौं,’ उनले भने।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल