Logo

समाचार

‘आर्थिक रुपान्तरण र उद्योगी व्यवसायीलाई केन्द्रमा राखेर योजना बनाएका छौं’



नेपाली उद्योगी व्यवसायीहरूको हक र अधिकारका पक्षमा निरन्तर लडाइँ लड्दै आएका व्यवसायी हुन् प्रकाशसिंह कार्की । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका कार्कीले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । महासंघको वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवार दिएका कार्कीका आगामी एजेण्डाका सन्दर्भमा गरिएको संवादः

चुनाव प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?

–नेपाल उद्योग वाणिज्य महासंघ सबै उद्योगी व्यवसायीको साझा संस्था हो । निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पनि यो अधिवेशनलाई महत्त्वका साथ लिइएको छ । म पनि एउटा जिम्मेवारीमा उठ्दै छु । चुनाव प्रचारप्रसार चलिरहेको छ । कोरोना प्रकोपका कारण पहिले र अहिलेको चुनावी अभियानमा धेरै फरक आएको मैले पाएको छु । कोरोना महामारीका कारण अहिले मान्छेलाई घरमै गएर भेट्ने अवस्था छैन । फोनमा कुरा भइरहेको छ । एसएमसमार्फत् साथीहरूलाई मेरो उम्मेदवारीका सन्दर्भमा जानकारी गराइरहेको छु । हाम्रो एजेण्डाहरूलाई मतदाता साथीहरूसम्म पु¥याउने प्रयत्नमा निरन्तर लागिरहेका छौं । अधिवेशन केही दिन मात्रै बाँकी रहेकाले पनि हामीले हाम्रो एजेण्डालाई व्यवसायी साथीहरूमाँझ पु¥याउने जमर्को तीव्रतर रुपमा गरिरहेका छौं ।

मतदाताको प्रतित्रिया के छ ?

मतदाता साथीहरूले हाम्रा एजेण्डामा मन पराउनु भएको छ । कोरोना प्रकोपबाट थलिएको आर्थिक अवस्थालाई सुधार गर्न पनि हाम्रो टिमले जित्नुपर्छ भन्ने प्रक्रिया मतदाताबाट आएको छ ।

कोभिड–१९ को महामारीपछि व्यावसायिक उत्थानका सन्दर्भमा धेरै कामहरू गर्नुपर्ने भएकाले अब नेतृत्वमा आउनका लागि तपाईको प्यानलले के–कस्ता योजना अघि सारेको छ ?

–म वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलबाट उठ्दै छु । महासंघलाई अहिले सक्षम नेतृत्व चाहिएको छ । कोरोना प्रकोपले हाम्रो अर्थतन्त्र नै धराशायी अवस्थामा छ । यसलाई पनि माथि लैजाने तबरबाट जानसक्ने नेतृत्व नेपाल उद्योग वाणिज्य संघमा चाहिन्छ । सरकारलाई पनि साथमा लिएर जाने, समन्वय र सहकार्य गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक परेको छ । यदि त्यसो भएमा निजी क्षेत्रले सुविधा लिनसक्ने र सरकारलाई दिन सक्ने अवस्था बन्छ । त्यही पक्षलाई व्यवस्थापन गर्न सक्ने नेतृत्व महासंघलाई चाहिएको छ । यसरी हेर्दा, निजी क्षेत्रलाई बुझ्नु भएका र भिजन भएका व्यवसायी चन्द्रप्रसाद ढकाल अब महासंघको नेतृत्वमा आउनुपर्छ । उहाँको टिममा सबै सक्षम उम्मेदवार रहनेको कुरा पनि म प्रष्ट पार्न चाहन्छु ।

महासंघले सरकारसँग समन्वयको कुरा मात्रै गर्छ । उद्योगी व्यवसायीको एजेण्डा उठाउनै सक्दैन भन्ने आरोप लाग्छ । तपाईको टिमले यस विषयमा कस्तो कार्यदिशा तय गरेको छ ?

–नेपाल उद्योग वाणिज्य महासंघलाई चलायमान गराइराख्न र गति दिन पनि चन्द्रप्रसाद ढकालको टिमले जित्नुपर्छ । हो, सरकारसँग अपेक्षा बढी र काम कम भएकै हो । तर, अब त्यस्तो हुँदैन । उद्योगी व्यवसायीको हरेक सवालमा सरकारलाई जिम्मेवार बनाउन नै हामीले आवश्यक रणनीति बनाएका हौं ।

उद्योगी व्यवसायीको हित गर्ने सन्दर्भमा के छन् एजेण्डा ?

–व्यवसाय गर्न देशमा शान्ति सुरक्षा चाहिन्छ । लगानीको सुरक्षा हुनुपर्छ । यसका लागि सबैलाई समेटेर अघि बढाउन र सरकारसँग पनि समन्वय गर्न सक्ने गरी हाम्रा कार्यक्रम बनेका छन् । महासंघमा जितेपछि सबैलाई मिलाएर लानसक्ने किसिमको क्षमता भएको मान्छे पनि चन्द्रप्रसाद ढकाल नै हुनुहुन्छ । र, उहाँको टिम पनि सशक्त छ । हामी चुनाव पनि जित्छौं । तर, यो प्यानल १३ गतेसम्म मात्रै हुन्छ । त्यस पश्चात हामीले सबैलाई मिलाएर लैजानुपर्छ । हामीसँग त्यसैअनुसारको क्षमता पनि हुनुपर्छ । र, अघि बढ्नु पनि पर्छ । सरकारसँग समन्वय गर्दै निजी क्षेत्र एकताबद्ध बनाएर लैजानसक्ने टिम हाम्रो नै हो । आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा परेको कोरोना प्रकोपको असरलाई न्यूनिकरण गर्न र दीर्घकालीन रणनीति बनाएर अघि बढ्न हामी प्रतिवद्ध छौं ।

को हुन् प्रकाशसिंह कार्की ?

२०२० सालमा सोलुखुम्बु जिल्लाको साविकको सल्यान गाविसमा जन्मिएका हुन् प्रकाशसिंह कार्की । त्यसपछि प्रारम्भिक शिक्षा र हाइस्कुल शिक्षा सदरमुकाममा एडमण्ड हिलारीले स्थापना गरेको स्कूलबाट पूरा गरे । त्यसपछि १८ वर्षको उमेरमा काठमाडौं आएका हुन् उनी । क्याम्पस पढ्ने सिलसिलामा उनले पब्लिक क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह (आइकम) पूरा गरे ।

एसएसलसी २०३६ सालमा पास गरेका कार्की त्यसपछिका ३ वर्ष सोलुखुम्बुमै बसे । २०३९ सालमा काठमाडौं आए । आइकम पूरा गरे । त्यसपछि व्यवसायतिर लागे । झण्डै ३५ वर्षदेखि व्यवसायमा सक्रिय कार्कीले नेपाल उद्योग वाणिज्य संघमा यसअघि पनि काम गरिसकेका छन् ।

यसअघि निर्वाचन जितेर महासंघको कार्यकारी सदस्य भएका कार्कीले उद्योगी व्यवसायीका पक्षमा सुधारका धेरै काम गरेका छन् । व्यापार एक्सपोर्ट प्रवद्र्धन केन्द्रको सभापति पनि थिए उनी । विशेषगरी लजिस्टिक कस्ट घटाउने विषयमा भूमिका खेल्दै एक्सपोर्ट र इम्पोर्टका सन्दर्भमा पनि उनले काम गरे । आयात निर्यात क्षेत्रको एशोसिएसन चाहिने भएकाले विगत १५ वर्षदेखि लगातार महासंघमा सहभागी हुँदै आएको उनी बताउँछन् ।

‘कुनै एउटा क्षेत्रमा मात्रै होइन, नेपाल देशका सबै व्यवसायी उद्योगीहरूका लागि काम गर्ने प्रतिज्ञा गर्दै हामी महासंघको चुनावी प्रतिस्पर्धामा छौं, जीत सुनिश्चित हुन्छ भन्नेमा हामी पूर्ण रुपमा विश्वस्त छौं,’ कार्कीले भने ।

प्रकाशित : ८ मंसिर २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल