Logo

प्रदेश-१

बिर्तामाेड दुर्घटना : ११ वर्षीय बालकसहित २ को मृत्यु, बालककी आमा अस्पतालकाे शैय्यामा



झापा, ३ मंसिर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोडमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बुधबार भएको दुर्घटनामा अरु दुई जना घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाएका बालककी आमा घाइते भएकी छिन्।

मृत्यु हुनेमा मे२प ४८४७ नम्बरको मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल र बुद्धशान्ति–३ कै २४ वर्षीय लक्ष्मण लिम्बू रहेका छन्।

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी निरीक्षण प्रकाश जबेगुले घटनाको पुष्टि गरेका हुन्। उनका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही ठाउँकी ३९ वर्षीया सावित्रा घिमिरे कँडेल घाइते भएकी छिन्।

त्यसैगरी, ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ पनि घाइते भएका छन्।

जबेगुले दुर्घटनामा ज्यान गुमाएका दिप्सनकी आमा हुन् सावित्रा। घाइते दुवैको विर्तामोडमा रहेको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्व आउँदै गरेको मे२प ४८४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकल एकआपसमा जुधेर दुर्घटना भएको हो।

सोही समयमा पश्चिमबाट आइरहेको ना६ख ३३५० नं को ट्रकले उक्त मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।

ट्रक चालक फरार रहेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित : ३ मंसिर २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल