Logo

समाचार

‘हङकङ आगलागी’मा बिते श्रीमान्, छोरा र दाजु, सिकिस्त आफन्त कुर्दै अस्पतालमा तुलसी



काठमाडौं, २ मंसिर – कयौं नेपालीको सपनाको शहर हङकङ, रोजगारी र अध्ययनको एउटा राम्रो गन्तव्य पनि हो। तर, सबैलाई सधैं सोचेकै जस्तो कहाँ हुन्छ र!

यस्तै भयो दुई नेपाली परिवारका लागि। काम गर्ने र केही कमाउने अनि खुशी र सुखी भएर जीवन बिताउने चाहना बोकेर त्यहाँ पुगेका दुई परिवारलाई सोच्दै नसोचेको बज्रपात आइपर्‍यो।

क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा जन्मदिन मनाइरहेका दुई परिवारका सदस्य विभत्स रुपमा बिदाई हुन पुगे।

मृतकहरू आफन्त रहेको पनि खुलेको छ। जन्मदिन मनाउन निम्ता गरिएका आफन्त र होटलका स्टाफ आगलागीमा परी ज्यान गुमाउन पुगेका हुन्।

आगलागीमा परेकाे परिवार दाजु र बहिनीकाे रहेकाे खुलेकाे छ। दाजु युवराज कँडेल र बहिनी तुलसी नेपालकाे परिवार आगलागीकाे विभत्स घटनामा परेकाे हाे।

को–को परे आगलागीमा?

नेपालीले नै सञ्चालन गरेको रेस्टुरेन्टमा भएको अत्यासलाग्दो आगलागीमा परी ७ जना नेपालीसहित ११ जनाको मृत्यु भएको हङकङ प्रहरीले पुष्टि गरेको छ। अन्य ९ जना घाइते भएका छन्। घाइतेमध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको छ।

आगलागीमा परी ज्यान गुमाउने सात नेपालीको सनाखत भइसकेको छ। उक्त आगलागीमा ज्यान गुमाउने नेपालीमा ३८ वर्षीय युवराज कँडेल, उनकी छोरी १३ वर्षीया कृतिका कँडेलको मृत्यु भएको छ।

त्यसैगरी युवराजका बहिनीज्वाइँ ३५ वर्षीय राजबाबु नेपाल, राजबाबुका जेठा छोरा ९ वर्षीय रायन नेपालको मृत्यु भएको छ। आगलागीमा घाइते भएका उनका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको छ।

त्यसैगरी, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ।

नायिका ऋचा शर्माको डरलाग्दो कोरोना अनुभव, एलिजा गौतम चिन्तित, नीति शाहले मागिन् माफी

केही घाइतेको अवस्था गम्भीर

आगलागीमा युवराज कँडेलकी श्रीमती गीता कँडेल र उनका भाइ कृष्णबहादुर कँडेल घाइते भएका छन्। हङकङको उच्च सरकारी स्रोतका अनुसार उनीहरू दुवैको अवस्था चिन्ताजनक छ।

घाइते कृष्ण कँडेलकी श्रीमती देवकी कँडेल, छोरी १८ वर्षीया सुरक्षा कँडेल र छोरा १३ वर्षका शालिग्राम कँडेल पनि आगलागीमा परी गम्भीर घाइते भएका छन्।

त्यस्तै मृतक विनिता तामाङका श्रीमान् मुकेश तामाङ, हस्तमाया धिमाल राई, सुवित्रा थापा र आङ लाक्पा नामका नेपालीको पनि गम्भीर अवस्था उपचार भइरहेको छ।

युवराज कँडेलका ३ वर्षीय छोरा, उनकी दिदी तथा राजबाबु नेपालकी श्रीमती तुलसी नेपाल, राजबाबु र तुलसीका ७ वर्षीय कान्छा छोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

आइतबार राति भएको आगलागीमा परी तत्कालै ७ जनाको मृत्यु भएको थियो। १८ जना घाइतेमध्ये थप ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी शुरु भएको थियो। आगलागी फैलिएपछि रेस्टुरेन्टका अधिकांश सामग्री नष्ट भएका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङकी अध्यक्ष टीका गुरुङले नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित रेस्टुराँमा भएको आगलागीमा परी घाइते भएका नेपालीको उपचार चलिरहेको बताइन्।

गुरुङले राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको जानकारी दिँदै घाइतेहरूलाई उपचारको कमी हुन नदिन सबै नेपाली संघसंस्थाहरूसँग समन्वय गरिरहेको बताएकी छिन्।

हङकङ प्रहरीका एक प्रवक्ताले उक्त रेस्टुरेन्टले सञ्चालनका लागि अनुमति नलिएको प्रारम्भिक जानकारी आएको बताएका छन्। सो आगलागी हङकङमा गत एक दशकयता भएका सबैभन्दा खराब आगलागीहरूमध्ये एक भएको सरकारी अधिकारीहरूको भनाई छ।

प्रकाशित : २ मंसिर २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल