Logo

अन्तरवार्ता

‘समयसापेक्ष भाडादर निर्धारण हुनुपर्छ’



यातायात क्षेत्रमा नयाँ भाडादर निर्धारण नभएको दशक हुन लाग्यो। सरकारले अहिलेसम्म यस विषयमा कुनै तयारी गरेको छैन। पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडादर बढ्ने र मूल्य घट्दा सोहीअनुसार भाडादर परिमार्जन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ। दक्षिणकाली मेट्रोबस सेवा प्रालिका व्यवस्थापक नरहरि बलामीसँग यातायात क्षेत्रका विभिन्न आयामहरूमाथि गरिएको कुराकानीः

यातायात क्षेत्रमा कसरी सम्बद्ध हुनुभयो? दक्षिणकाली क्षेत्रमा यातायातको समग्र अवस्था कस्तो रहेको छ?

–हाम्रो क्षेत्र दुर्गम क्षेत्रसँग जोडिएको ठाउँ हो। दक्षिणकालीलाई यातायातसँग कसरी जोड्न सकिन्छ भनेर चिन्तन गर्दागर्दै यातायात व्यवसायी हुन पुगेको छु। पहिला दक्षिणकाली बस सेवा समितिको उपाध्यक्ष थिएँ। नेपाल यातायात राष्ट्रिय महासंघको अञ्चल कोषाध्यक्ष भएँ। अहिले पनि म चौध अञ्चल ७७ जिल्लामा संयोजनको काम गरिरहेको छु। हाल दक्षिणकाली मेट्रोबस सेवा प्रालिको व्यवस्थापकको रुपमा रहेको छु। पहिला १६ जनाको टीम मिलेर काम गरिहरका थियौं। तर, विस्तारै सबै साथीहरु बाहिरिँदै जानु भयो र चार जनाको टीमले यसलाई सञ्चालन गरिरहेका छौं। अहिले हामीले दक्षिणकाली क्षेत्रमा सत्र वटा बस सञ्चालनमा ल्याएका छौं। यातायात क्षेत्रको विस्तार पाटन, सिस्नेरी–कुलेखानी–फाखेल हुँदै रत्नपार्कसम्म पुग्ने बस सेवालाई फराकिलो बनाएर लैजाने क्रममा लागिरहेका छौं। यस क्षेत्रमा अर्को पनि कम्पनी रहेको छ। उक्त कम्पनीसँग सहकार्य गर्दै दक्षिणकाली–कुलेखानी–हेटौंडा भनेर सञ्चालित व्यवसायीलाई समेटेर हाल ५४ वटा गाडीहरु सञ्चालनमा आएका छन्।

काेराेना प्रकाेपकाे प्रभाव कस्ताे छ?

अहिले व्यवसाय क्षेत्रमा ठूलो असर परेको छ। कोभिड–१९ को महामारीले यातायात क्षेत्रमा पारेको प्रभावका कारण व्यवसायीहरुले किस्ता तिर्न नसक्ने अवस्था छ। हाम्रो सातौं महिनादेखि रोकिएको किस्ता तिर्न नसकेर यो व्यवसाय तहसनहस भएको छ। तर पनि विचलित नभइ यस क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने क्रममा लागिरहेका छौं। ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका आधारमा निरन्तर खटिएका छौं। दक्षिणकालीको दर्शनमा आउने धर्मावलम्बीहरुलाई सेवा पु¥याउने उद्देश्य समेत राखेर काम गरिरहेका छौं।

२०२० सालमा दक्षिणकाली क्षेत्रमा बाटो बनेको भन्ने इतिहास छ। विगतमा तत्कालीन राजा सवारी हुँदा राजाको ‘देवाली’ गर्ने नै दक्षिणकाली भएको हुनाले बाटो राम्रो थियो। हरेक वर्ष मर्मत हुने गरेको थियो। तर, अहिले सडक विस्तारको क्रममा लामो समय अवरोध भएको कारण समस्या उत्पन्न भएको हो। ग्रामीण क्षेत्र नै भएको हुँदा भाडादर समेत न्यून हुनुले यहाँका व्यवसायीहरु मारमा परेका छन्। र, यो व्यवसायदेखि विस्थापित हुने अवस्थामा पुगेका छन्। यसका लागि राज्यले सम्बोधन गर्न सक्नु पर्छ भन्ने हाम्रो माग छ। यसक्षेत्रको यातायात व्यवस्थापनमा भाडादरलाई केही हदसम्म भए पनि समायोजन गरी व्यवसायीलाई बचाउने काम राज्यले गर्नु पर्दछ।

स्थानीय सरकारले यसको निराकरणका लागि किन समन्वय नगरेको हो?

–विगतमा हामीले दक्षिणकाली नगरबस सेवा सञ्चालनमा ल्याएका थियौं। उक्त नगरबसलाई स्थानीय निकायले केही अनुदान राहत दिँदै आएको थियो। तर, सञ्चालनमा ल्याउँदा अर्को समूहबाट बाधाअड्काउ भएको कारण निरन्तरता पाउन सकिएन। पछि दुई किसिमका बससेवाहरु गठन भए। ऐनले स्थानीय तहलाई भाडादर तोक्ने अधिकार दिएको भए पनि त्यो हुन सकिरहेको छैन। स्थानीय निकायले थोरै भए पनि भाडादरमा समायोजन गर्नुपर्छ भन्ने मागसहित हाम्रो पहल र अभियान निरन्तर जारी राखेका छौं।

प्रदेश राजधानी हेटौंडासम्म जोडिने राजमार्गको अवस्था किन यस्तो भएको हो?

–सडक सञ्जालको विकास गर्ने क्रममा डिभिजन कार्यालयले सडक निर्माणको काम गरिरहेको छ। विगतमा केही–केही कम्पनीहरु नआएका होइनन्। तर, भाडादर अपुग भएकै कारण ती यातायातहरु सञ्चालनमा लामो समय टिक्न सकेनन्। साझा र गोकर्णेश्वर जस्ता कम्पनीले समेत यहाँ सेवा दिन सकेनन् र बन्द भए। अहिले सञ्चालनमा आएका यातायात पनि भाडादर समायोजन नहुने हो भने बन्द हुने अवस्थामा छन्।

नयाँ व्यवसायीलाई स्वागत गर्ने हाम्रो अभियान छ। सिण्डिकेट भन्ने यस क्षेत्रमा छैन। एकाधिकार कसैले जमाउनु हुँदैन। यस व्यवसायलाई धरासायी बनाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। तर, राज्यको निकायले यस क्षेत्रका यातायात व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै राहतका प्याकेज ल्याउनु जरुरी छ। अरु किसिमले केही गर्न नसके पनि भाडादर समायोजन गरिदिने अवस्था आयो भने दक्षिणकाली क्षेत्रको विकासमा यातायातले पार्ने प्रभाव र धार्मिक पर्यटक आवगमनमा यसको महत्त्वपूर्ण भूमिका रहन्छ। यहाँका किसानले उत्पादन गरेका कृषि उपज तथा नगदेबालीहरुले उचित मूल्य र बजार पाउनका लागि यातायातले ठूलो योगदान पुर्‍याउन सक्ने अवस्था रहन्छ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल