Logo

बागमती प्रदेश

सहकारी अभियानलाई बागमती प्रदेशको समृद्धि र विकासमा जोड्छौं: अध्यक्ष सापकाेटा



शिक्षा थपलिया, काठमाडौं, २० कात्तिक – वरिष्ठ लेखक शिव खेडाले विश्व प्रसिद्ध पुस्तक ‘जीत तपाईकै हुनेछ’मा लेखेका छन्, ‘सफल मानिसले फरक काम गर्दैन, फरक तरिकाले गर्छ ।’ यो प्रेरणादायी भनाईलाई आत्मसाथ गर्दै २५ वर्षदेखि सहकारी अभियानमा सक्रिय कर्मवीर हुन् उद्धव सापकोटा ।

परिस्थितिका चट्टानी पहाडहरूलाई चिर्दैअघि बढेका सापकोटा उद्यमीहरूमाँझ प्रेरणाका पात्र बन्न पुगेका छन् । सहकारी अभियानमा होमिएर समाजको आर्थिक रुपान्तरणमा निरन्तर सक्रिय सापकोटा बागमती बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन् ।

निरन्तरको प्रयास गर्दै जाँदा अहिले यो जिम्मेवारीमा आइपुगेको बताउँदै सापकोटाले सहकारी अभियानलाई विकास र समृद्धिसँग जोड्न आफ्नो पहल अविरल रहने प्रष्ट पारेका छन् ।
‘मैले सहकारी अभियानलाई नै आफ्नो लक्ष्य बनाएँ, आर्थिक रुपान्तरणका लागि सहकारी एकदमै उपयुक्त विकल्प भन्ने बोध भएपछि झन् सशक्त रुपमा यो अभियानमा होमिएको हुँ,’ सापकोटाले भने ।

वि.सं. २०३२ भदौ १६ गते नन्दप्रसाद सापकोटा र मैया सापकोटाका सुपुत्रका रुपमा जन्मिएका उद्धव सापकोटाले प्रारम्भिक शिक्षा काभ्रेमै अध्ययन गरेका हुन् । व्यवस्थापन संकायमा स्नातक तह अध्ययन गरेका सापकोटाले वि.सं. २०५४ सालमा कुशादेवी माविबाट एसएलसी पास गरेका हुन् ।

सहकारी अभियानमा अढाई दशक

वि.सं. २०५४ सालदेखि सहकारी अभियानमा सक्रिय भएका हुन् सापकोटा । उनले जिल्ला सहकारी संघ काभ्रेमा तीन पटक कोषाध्यक्षको जिम्मेवारीमा रहेर काम गरे ।
सापकोटाले वि.सं. २०६५ सालदेखि २०७६ सालसम्म तीन कार्यकाल नेफ्स्कूनको बोर्ड सदस्यको रुपमा काम गरेका छन् । ‘अब प्रदेशको अध्यक्षको रुपमा काम गर्छु, मेरो लक्ष्य जहाँबाट पनि जसरी पनि सहकारी अभियानलाई अघि बढाउने नै हो,’ उनले भने ।

सहकारी अभियानसँगै आफ्नो व्यवसाय पनि सञ्चालन गरिरहेका सापकोटाले नेपालको आर्थिक रुपान्तरणमा सहकारीलाई अझै व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्ने बताए ।

‘सहकारी संस्था सेवामूलक हुनुपर्छ, केहीले सहकारीलाई व्यवसाय पनि बनाएका छन्, त्यसले सहकारीको मर्म र भावनामा चोट पु¥याएको छ,’ सापकोटाले भने, ‘सहकारीलाई सेवामूलक संस्थाको रुपमा विकास गर्दै उत्पादनसँग जोड्नुपर्छ ।’

युवाहरूलाई सहकारी अभियानमा संलग्न गराउनु पर्ने बताउँदै अध्यक्ष सापकोटाले शहरी क्षेत्रमा जस्तै ग्रामीण क्षेत्रमा पनि सहकारी अभियानलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

‘उद्यमशीलताको अभियानमा सहकारीको योगदान उल्लेखनीय छ, अझै सशक्त बनाउनुपर्छ, सहकारीका माध्यम्बाट आर्थिकोपार्जनमा धेरै महिला दिदीबहिनीहरू लाग्नु भएको छ,’ सापकोटाले भने, ‘युवाको सहभागिता अझै बृद्धि गरी सहकारीमार्फत् लगानी बढाउँदै उद्यम् र उत्पादनसँग जोड्नुपर्छ ।’

कोरोना प्रकोपका कारण बचत तथा ऋण सहकारी संस्थाहरू समस्या रहेको सापकोटाले बताए । शहरी क्षेत्रका सहकारीहरू बढी समस्यामा रहे पनि ग्रामीण क्षेत्रमा सहकारीका गतिविधि जारी रहेको उनी बताउँछन् ।

अध्यक्ष सापकोटाले सहकारीमार्फत् बैंकमा जम्मा भएको करोडौं रकमलाई लगानी गरी रोजगारी सिर्जना गर्नुपर्ने बताए । कृषि र स्वदेशमा सम्भव हुने क्षेत्रमा लगानी गरी स्वरोजगार भए मात्रै देश समुन्नत हुनसक्ने सापकोटाको धारणा छ ।

साधारणसभाबारे स‌वाद

बागमती बचत तथा ऋण सहकारी संघको सदस्यता विस्तार कसरी गर्दै हुनुहुन्छ ?

–बागमती प्रदेशका १३ वटा जिल्ला हाम्रो कार्यक्षेत्र हो । सहकारी र जिल्ला संघ गरेर अहिले ९० सदस्य बनाइसकेका छौँ । यस वर्ष ७ सय ३० सदस्य पु¥याउने योजना छ ।

प्रदेशस्तरीय संघ भएकाले १३ वटा जिल्लाका सबै बचत तथा ऋण सहकारी संस्थाहरूलाई एउटै छाताभित्र ल्याउन कसरी पहल गरिरहनु भएको छ ?

–हामीले प्रारम्भिक लक्ष्य निर्धारण गरिसकेका छौँ । संघको केन्द्रीय कार्यालय काभ्रेमा राखेर काम अघि बढाउँदै गर्दा सबैको साथ उत्साहजनक रुपमा पाएका छौँ । विधानतः ३ महिनाभित्र साधारणसभा गरिसक्नु पर्ने भएकाले सबैलाई खबर गर्न पाएका छैनौँ । साधारणसभापछि सबैलाई खुला रुपमा आह्वान गर्छौं । अहिले बोर्डले पास गरेका सदस्यहरू सहभागी भएर साधारणसभा हुन्छ ।

कोरोना प्रकोपका बीच हुन लागेको साधारणसभाले कस्तो नीति र कार्यक्रम निर्माण गर्दै छ ?

–नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशका बचत तथा ऋण सहकारी संस्था र जिल्ला संघहरूलाई नवीनतम् कार्यदिशाका साथ अघि बढाउने गरी योजना र कार्यक्रम तर्जुमा गर्ने छौँ । ५० जति सदस्यको प्रत्यक्ष उपस्थितिमा साधारणसभा हुन्छ । र, सबैलाई इमेलमार्फत् प्रतिवेदन पठाउँछौँ । अहिले सहकारीभित्र पनि सुशासन, स्वाबलम्बन र दीगो विकासका लागि काम गर्ने हो । यही योजनालाई साकार पार्न सरकारसँग पैरवी गर्ने हो । सहकारी संस्थाहरूको प्रवद्र्धन र विकासका लागि ६ महिनाभित्रमा एक अर्बभन्दा माथि ब्यालेनसिट पु¥याउने लक्ष्य छ । ६ महिनापछि संस्थाको बृद्धि विकास, शिक्षा र तालिमको काम गर्छौं । अर्को वर्षसम्ममा प्रदेशमा व्यवस्थित र सहकारी संघसंस्थाहरूको अभिभावकको रुपमा स्थापित हुने गरी काम गर्र्र्छौं ।

बागमती बचत तथा ऋण सहकारी संघको दीर्घकालीन लक्ष्य के हो ?

–सहकारीलाई उत्पादनको क्षेत्रमा लगाउनुपर्छ । बचतकर्ताहरू आधारभूत तहका नागरिक नै हुन्छन् । त्यसैले हामीले लगानी प्रवद्र्धनमा जोड दिनुपर्छ । त्यहीअनुरुप हाम्रा सदस्यहरूलाई समन्वय हुन्छ । सहकारी संस्थाहरूको प्रवद्र्धन गर्नु, आर्थिक रुपमा नागरिकलाई सवल बनाउनु र सहकारी अभियानलाई बागमती प्रदेशको समृद्धि र विकासमा जोड्नु नै हाम्रो दीर्घकालीन लक्ष्य हो ।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल