Logo

मनोरञ्जन

खस संस्कृतिमा आधारित टेलिश्रृंखला ‘चार दुना नौ’को छायाङ्‌कन जुम्लामा



जुम्ला, १९ कात्तिक – जुम्लाको खस संस्कृतिको विषयवस्तुमा आधारित टेलिश्रृंखलाको छायाङ्कन शुरु हुँदैछ। ‘चार दुना नौ’ टेलिश्रृंखलाको छायाङ्कन शुरु हुन लागेको हो। कात्तिक २२ गतेबाट टेलिश्रृंखलाको छायाङ्कन शुरु हुने छ।

टेलिश्रृंखलामा जुम्लाको खस संस्कृति, कला, परम्परा, छाउप्रथा, जारी प्रथा, जातीय विभेद तथा ऐतिहासिक पर्यटकीयस्थलहरूको प्रवर्द्धन तथा प्रचारलाई कथावस्तुका रुपमा समेटिएको छ।

‘चार दुना नौ’का निर्देशक छेडुप लामाले टेलिश्रृंखला दोस्रो चरण जुम्लामा छायाङ्कन गर्न लागिएको जानकारी दिएका छन्। उनका अनुसार टेलिश्रृंखलाका ३ भाग जुम्लामा छायाङ्कन गरिने छ।

जुम्लाका ८ वटा स्थानीय तहका पर्यटकीय गन्तव्यको प्रवद्र्धनसहित खस संस्कृतिमा आधारित धेरै कुरा टेलिश्रृंखलामा समावेश गरिने लामाले बताएका छन्। चौँथो भाग मुगुको रारा तालमा पुगेर छायाङ्कन हुने छ।

‘चार दुना नौ’ टेलिश्रृंखलामा हास्य कलाकार राजाराम पौडेल मुख्य भूमिकामा रहेका छन्। कलाकारहरू धनराज सुनार, असिम सिजवाल, भुपेन सिजवाल, सूर्यमणि हमाल, कर्ण भण्डारी, सरिता चौलागाई, निरु परियार, अर्जुन परियार र गोविन्द सुनारले टेलिश्रृंखलामा अभिनय गरेका छन्।

त्यसैगरी, काठमाडौंबाट कलाकार रेशम बुढाथोकी र सेबिता अधिकारी जुम्ला आइपुगेका छन्। छायाङ्कनका लागि जुम्ला पुगेका हास्य कलाकार राजाराम पौडेलले काठमाडौंमा बसेर कल्पना गरेकोभन्दा वास्तविक जुम्ला अलग रहेको धारणा राखे।

निर्देशक लामाले जुम्लाको छुमचौर, गुठीचौर पाटन, चन्दननाथ भैरवनाथ मन्दिर, तातोपानी धारा, हिमाको काँठेपुल, पाण्डवगुफा लगायतका ऐतिहासिक पर्यटकीयस्थलमा ‘चार दुना नौ’ टेलिश्रृंखलाको छायाङ्कन हुने बताएका छन्।

टेलिश्रृंखला निर्माणका लागि यसअघि नै निर्माण टिमले स्थलगत अध्ययन र रिसर्च गरेको थियो। अध्ययनपछि रेशम बुढाथोकी, निर्माता गणेश तामाङ र कर्म डी लामाले टेलिश्रृंखला लेखन सम्पन्न गरेका हुन्।

जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले जुम्लाको खस संस्कृति प्रवर्द्धन गर्न र ऐतिहासिक पर्यटकीयस्थलहरूको संरक्षणका लागि टेलिश्रृंखला प्रेरक हुने विश्वास व्यक्त गरेका छन्।

गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर डाँगीले खस संस्कृति प्रवर्द्धनका लागि निर्माण हुने टेलिश्रृंखलामार्फत् कर्णालीका सांस्कृतिक सम्पदाको उजागर हुने विश्वास व्यक्त गरेका हुन्।

प्रकाशित : २० कार्तिक २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल