Logo

समाचार

कोरोना कहर र आर्थिक प्रताडनामा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी



अष्ट्रेलिया, १३ कात्तिक – अष्ट्रेलियामा उच्च अध्ययनका लागि आएका करिब ६२ हजार नेपाली विद्यार्थीसँगै कोरोनाको महामारीमा उनीहरूको बढ्दो समस्यालाई दृष्टिगत गरेर अष्ट्रेलियास्थित नेपाली राजदूताबासले विद्यार्थीको सर्वेक्षण प्रारम्भ गरेको थियो।

समस्यामा परेका विद्यार्थीहरूले कोरोना र लकडाउनका कारण भोग्नु परेका पीडा अनि संकटका विषयमा गरिएको सो सर्वेक्षणमा ६३ हजार विद्यार्थीमध्ये मात्र १ हजार ८ सय मात्रै सर्वेक्षणमा सहभागिता भएका थिए।

हुन त आफ्नै खर्चमा विदेशमा अध्ययन गर्न पाउँ भनेर प्रारम्भमै सहीछाप गरेर आएका विद्यार्थीहरूका सवालमा कोरोनाको त्रास होस् या कामको उठिबास, आफैमा पीडा सहनुपर्ने बाध्यता छँदैछ।

तर, यस पटक नेपाली राजदूताबासले विद्यार्थीहरूलाई आह्वान गरेर समस्याको पोको खोलीदिन आग्रह गर्नु एउटा महत्त्वपूर्ण कर्म पनि थियो। समस्याको समाधान गर्न सक्षम नभए पनि समन्वयकारी भूमिकामा दूताबासले यस पटक आफ्नो इज्जत जोगाएकै मान्नुपर्छ ।

यसरी राजदूताबासले गरेको सर्वेक्षणमा एक हजार आठ सय विद्यार्थीले आफ्ना समस्याका पोका खोल्ने क्रममा धेरैले कोरोनाका कारण रोजगारी गुमाउदा आर्थिक समस्यामा पिल्सिनु परेको भाव व्यक्त गरेका छन्।

हुन पनि अष्ट्रेलियामा कोरोनाको प्रभावका कारण करिब ३० लाख मानिसले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका थिए, जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या पनि दुई लाखभन्दा बढीको रहेको थियो।

ग्राटन इन्स्टिच्युटको ‘शटडाउन एस्टिमेटिङ दी कोभिड–१९ इम्प्लोयमेन्ट शक’ नामक प्रतिवेदनले हस्पिटालिटी उद्योग सबैभन्दा बढी प्रभावित भएको र करिब ६० प्रतिशत रोजगारीका अवसर गुमेको उल्ले छ ।

यस्तै सोही प्रतिवेदनका अनुसार कला र मनोरञ्जन उद्योगले पनि ५० प्रतिशतभन्दा बढी कामदारहरूलाई रोजगारीमा राखी राख्न नसक्ने जानकारी दिएको छ।

नेपाली विद्यार्थीहरूमध्ये करिब एक सयले यस अवस्थामा केही महिनाका लागि स्वदेश फर्किन व्यवस्था मिलाइदिन समेत राजदूतबासलाई आग्रह गरेका थिए।

धेरै विद्यार्थीको समस्या काम र कोठाकै बढी देखिएको छ। धेरैले काम गुमाएको र केही विद्यार्थीले कलेजको शुल्क र सेमिस्टर सार्न पाउनु पर्ने आग्रह गरेका थिए।

नेपाली राजदूताबासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले आकस्मिक रुपमा हातमुख जोर्न र अप्ठयारो आइपरेका विद्यार्थीहरूलाई टेलिफोनमार्फत् एनआरएन र अन्य संघ संस्थामार्फत् सहयोग उपलब्ध गराइएको बताइन्।

‘केही फरक र अलग खाले समस्याहरुको मिश्रण भएकाले हामी यसलाई प्राथमिकताका आधारमा निर्क्यौल गरेर समाधानको उपाय खोज्ने काममा लागेका छौं,’ सापकोटाले भनिन्।

हुन पनि विद्यार्थीका आ–आफनै समस्या छन्, केही कामको मार त कोही आर्थिक अभावमा पील्सीएका छन्। महँगो शैक्षिक शुल्क र गाँसबाँस अनि कपास धान्न कोरोनाभन्दा पनि बढी जसरी भए पनि गरौ न भन्ने सोचमा देखिन्छन् विद्यार्थी।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले विद्यार्थीका समस्याका विषयमा उच्च अध्ययन गरी अष्ट्रेलिया आएका नेपाली विद्यार्थीको समस्याको पहिचान र समाधानको उपायका लागि यो सर्वेक्षणको शुरुआत गरेको बताए।

‘समस्यामा परेका एक हजार आठ सय विद्यार्थीले आपना समस्या राख्नु भएको छ, यसैलाई आधार बनाएर कस्ता खाले समस्या छन् र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने काममा हामी लागेका छौँ,’ दाहालले भने, ‘नेपालीहरूमा कोरोनाको प्रभाव खासै नदेखिए पनि जतिलाई देखियो, त्यसमा दूताबासले सक्रिय भएर आवश्यक सहयोग गरेको छ।’

आइसोलेसनमा रहेका नेपाली विद्यार्थीको हकमा होस् या समस्यामा परेका हुन्, जतिबेला पनि राजदूताबासको नम्बरमा फोन गर्न र २४सैं घण्टा तयारी अवस्थामा रहेको दाहालले बताए।

कोरोनाले विश्वलाई आक्रान्त पारेको बेला अष्ट्रेलिया यसको कहरबाट अहिलेसम्म मानविय क्षति र संक्रमणका आधारमा केही जोगिएकै छ। यस्तो परिस्थितिमा नेपाली विद्यार्थीहरुले धैर्यधारण गर्ने, आफ्ना अभिभावकसँग नियमित सम्पर्कमा रहने, खर्चको उचित व्यवस्थापन गर्ने र संक्रमणबाट बच्न सुरक्षित भएर हिँड्नु जरुरी देखिन्छ।

प्रकाशित : १३ कार्तिक २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल