Logo

आर्थिक

पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा ‘गुण्डागर्दी शैली’मा अवैध कर असुली



काभ्रे, २८ असोज – पाँचखाल नगरपालिका कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग कर असुली गर्ने गरेको पाइएको छ। समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक कर उठाउने ठेक्का लिएको ठेकेदार कम्पनीले अवैध कर असुली गरेको हो।

पाँचखाल–३ का स्थानीय सुवास पौडेलको ‘माता सीतादेवी कन्स्ट्रक्सन प्रालि’ले सडक कर उठाउँदै आएको छ। ठेकेदार कम्पनीले नगरपालिकाको राजश्व विभागसँगको मिलेमतोमा नगरपालिका कार्यालय प्रवेशद्वारमै ढाट राखेर पालिका कार्यालय जाने स्थानीयबासी र सेवाग्राहीसँग जबरजस्ती कर असुल गरिरहेको छ।

पाँचखाल नगरपालिका–१३ का गोपीकृष्ण थपलियाले नगरपालिका कार्यालयमा प्रवेश गर्दा पनि कर तिर्नु परेको गुनासो गरे। आफूसँग जबरजस्ती कर असुली गरेको उनको गुनासो छ। ‘नगरपालिका कार्यालयमा जाने भन्दा पनि मसँग ठेकेदारका कर्मचारीले जबरजस्ती २५ रुपैयाँ कर असुल गरे, यसरी दैनिक सयौं सेवाग्राहीले अनाहकमा रकम सुम्पिनु परिरहेको छ,’ उनले भने।

त्यसैगरी, पाँचखाल १२ का धनबहादुर श्रेष्ठसँग पनि पालिका कार्यालयमा जाँदा सवारी कर असुल गरियो। यतिसम्मकी ठेकेदारले खटाएका व्यक्तिहरूले पत्रकार र अन्य सामाजिक सेवा क्षेत्रका अगुवालाई पनि कर नतिरी कार्यालय प्रवेश गर्न दिँदैनन्।

‘म अनेकोट जाने होइन, पालिका कार्यालयबाटै फर्किन्छु भन्दा पनि ठेकेदारका कर्मचारीले यहाँ त नगरपालिकाका कर्मचारीसँग पनि कर लिइन्छ, कर नदिई तपाई जान पाउनु हुन्न भन्दै गुण्डागर्दी शैलीमा अवैध रुपले रकम असुल गरिन्छ,’ श्रेष्ठले भने।

नगरपालिकाले ठेकेदार कम्पनीको यो दादागिरीसहितको जबरजस्ती रकम असुली गरेको देख्दा यो कार्य नगरपालिकाको मिलेमतो बिना ठेकेदारले गर्न नसक्ने स्थानीयबासीको धारणा छ।

अरनिको राजमार्गबाट झण्डै २ सय मिटरभित्र पाँचखाल नगरपालिकाको कार्यालय भवन छ। तर, ठेकेदार सुवास पौडेलले पालिका कार्यालय प्रवेशमार्गमै ढाट राखेर सवारीसाधन लिएर पालिका कार्यालयमा मात्रै जाने सेवाग्राहीसँग जबरजस्ती ‘गुण्डागर्दी शैली’मा सडक करका नाममा रकम असुल गरिरहेका छन्।

जबकि समाज कल्याण–अनेकोट सडकखण्ड पालिका कार्यालयको पूर्व–दक्षिण भेगबाट मात्र शुरु हुन्छ। स्मरण रहोस्, अहिले नगरपालिका भवन बनेको स्थानमा नै विगतमा समाज कल्याण परिषद्ले असहाय एवम् अनाथ बालबालिकालाई आवास सुविधासहित शिक्षादिक्षाको व्यवस्था गरेको थियो। तर, अव्यवस्था र बेथितिका कारण वर्षौ पहिले त्यो संस्था बन्द भयो।

त्यसरी नगरपालिका कार्यालय प्रवेशद्वारमै ढाट राखेर पालिकासम्म आउने सेवाग्राहीसँग कर उठाउन दिएको सम्बन्धमा पाँचखाल नगरपालिकाकी राजश्व सहायक कुशमाया दनुवारसँग जिज्ञाशा राख्दा कर उठाउने विषयमा नगरपालिका कार्यालयले हस्तक्षेप नगर्ने जवाफ फर्काइन्।

‘ठेक्का लगाउने बेलामा नगरपालिकाले स्थान तोकेर यहीँनेर ढाट राख्नुपर्छ भनेर ठाउँ तोकेको थिएन, ठेकेदार कम्पनीले चाहेको ठाउँमा ढाट राखेर सडक उपभोग कर उठाउन पाउछ, त्यसमा हामीले हस्तक्षेप गर्ने कुरो छैन,’ दनुवारले भनिन्।

जबकि नगरपालिका कार्यालयको पूर्व दक्षिणतर्फबाट शुरु भएर समाज कल्याण–अनेकोट सडकखण्ड शुरु हुन्छ। नियम हेर्ने हो भने नगरपालिकाको दक्षिण–पूर्व त्यही भागमा ढाट राखिनुपथ्र्यो।

त्यसो नगरेर नगरपालिकाले ठेकेदार सुवास पौडेललाई नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग पनि अवैध रुपमा रकम असुली गर्न छुट दिएको प्रष्ट भएको स्थानीयबासीको भनाई छ।

काठमाडौं चावहिलका कुशकुमार ढकाल पनि पाँचखाल नगरपालिका कार्यालयमा जाँदा सडक कर बुझाएर मात्रै कार्यालय प्रवेश गर्न पाए। ‘सडक कर भनेर मसँग २५ रुपैयाँ असुल गरियो, कुरा २५ रुपैयाँको होइन, २५–२५ रुपैयाँ गर्दै कति रकम अवैध रुपमा असुली भएको छ, त्यो महत्त्वपूर्ण कुरा हो,’ ढकालले भने।

यस विषयमा नगरका मेयर महेश खरेलसँग जिज्ञाशा राख्दा कर संकलनको विषयमा अनभिज्ञता प्रकट गरे। ‘ढाट त कार्यालय प्रवेश मार्गमै राखेको छ, पालिका कार्यालयमा आउनेसँग पनि ठेकेदार कम्पनीले कर उठाइरहेको छ भन्ने कुरा चाहिँ मलाई थाहा भएन, के रहेछ म बुझ्छु,’ खरेलले भने।

कम्तिमा दैनिक दुई पटक मेयर आफै ओहोरदोहोर गर्ने त्यस मार्गमा ढाट राखेर पालिका कार्यालयमा मात्रै आउने सवारीसाधनसँग कर उठाइरहेको कुरा मेयर खरेलले चाल पाएकै छैन भन्ने कुरामा विश्वास गर्न कठिन रहेको स्थानीय सेवाग्राहीको टिप्पणी छ।

तथापि, मेयर खरेलको ध्यान त्यसतर्फ नपुगेर नै ठेकेदारले मनपरी ढंगबाट अवैध रुपमा नगरपालिकाका सेवाग्राहीसँग जबरजस्ती रकम उठाइरहेका हुन् भने त्यो ढाट पालिका कार्यालयबाट शुरु हुने अनेकोट सडकखण्डमा सारिसक्नु पर्ने स्थानीय सामाजिक अगुवाहरूले बताए।

मेयर खरेलको संज्ञानमा यो विषय आएको २० दिन बितिसक्दा पनि ढाट सारिएको छैन। ठेकेदारले यथावत रुपमा अवैध कर असुल गरिरहेका छन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सडक करको ठेक्का लगाउँदा नगरपालिकाबाट भएको यस त्रुटीलाई सच्याउँछु भनेका थिए।

तर, भण्डारीले त्यो काम गर्न सकेनन् वा गर्न नपाई उनको सरुवा भयो। अहिले भण्डारी धुलिखेलस्थित मालपोत कार्यालय काभ्रेमा पुगेका छन्।

यसैबीच, उदयपुर नगरपालिकाबाट सरुवा भएर पाँचखाल नगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका शिवप्रसाद हुमागाईंले यस विषयमा अनभिज्ञता प्रकट गरे। ‘म यहाँ सरुवा भएर आएको ७–८ दिन मात्र भयो, त्यस सम्बन्धमा केही बुझ्नै पाएको छैन,’ हुमागाईंले भने।

उपमेयर लक्ष्मी दनुवारलाई भने यस सम्बन्धमा केही पनि जानकारी नभएको बुझियो। उनलाई त ठेक्का कसले पाएको छ भन्नेसम्म ज्ञान नभएको पाइयो। उपमेयर दनुवारले यस विषयमा बुझ्ने बताइन्। ‘नगरपालिका कार्यालयमा आउने व्यक्तिसँग ठेकेदारले किन जबरजस्ती कर असुल गरिरहेको छ, त्यसबारेमा म बुझ्छु,’ उनले भनिन्।

ठेकेदार कम्पनी माता सीतादेवी कन्स्ट्रक्सनले पालिका कार्यालयमा मात्र आउने सेवाग्राहीसँग जबरजस्ती कर त असुल गरिरहेकै छ, यसबाहेक उसले नगरले तोकेकोभन्दा केही बढी नै रुपैयाँ कर वापत असुल गरिरहेको पाइएको छ।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल