Logo

गण्डकी प्रदेश

भानु नगरपालिका कार्यालय सार्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं, २१ असोज – तनहुँ जिल्लास्थित भानु नगरपालिकाको कार्यालय हाल कायम रहेको स्थानबाट अन्यत्र सार्न भइरहेको चलखेलविरुद्ध सर्वोच्च अदालतले तत्काल नसार्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो। सोविरुद्ध वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले दिएको रिटको आधारमा सर्वोच्चले सो निर्णय गरेको हो।

हालसम्म वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय, गत असोज १ गतेबाट वडा नं. १ स्थित भन्सारमा रहेको शहरी विकास आयोजनाको भवनबाट ३ वर्षको लागि भाडामा लिएर काम कारबाही सुरु भएको छ।

सर्वोच्चको अन्तरिम आदेशमा दुवै पक्षसग छलफल गरी टुंगो लगाउन उपयुक्त हुने भएकाले असोज २९ गते छलफलका लागि दुबै पक्षलाई झिकाउन आदेश समेत दिएको छ।

यसैबीच, नगरपालिका सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन्। उनीहरूले भूमाफियाको चलखेलमा परेर नगरप्रमुख उदयराज गौलीले यस्तो गलत निर्णय लिएको बताएका छन्।

फुस्रेटारमा नगरपालिकाको कार्यालय रहिरहँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरबासीहरूलाई सहज बाटोको व्यवस्था भएकोले पनि सो कार्यालय फुस्रेटारबाट अन्यत्र सार्न नहुने संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए।

कुँवरले कुनै पनि हालतमा जनप्रतिनिधिलाई जनहीत विपरित काम गर्न नदिने र त्यसको लागि नगरबासीले जस्तोसुकै मूल्य चुकाउनपछि नपर्ने बताए।

त्यस्तै वार्ता समितिको संयोजक सहदेव अधिकारीले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको समेत अवज्ञा गर्दै भन्सारबाटै कामकारबाही चलाइरहेको प्रति खेद प्रकट गरे।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ (४)मा सभाको बैठक बस्ने मिति, समय स्थान र बैठकको कार्यसूची सहितको सूचना बैठक बस्ने दिनभन्दा कम्तीमा ७ दिन अगावै अध्यक्ष वा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनु पर्ने भन्ने व्यवस्था रहेको छ।

साथै, गण्डकी प्रदेशसभाले निर्माण गरी प्रदेशभित्र बहाल रहेको स्थानीय तहको सभा सञ्चालन कार्यविधि ऐन २०७५ को परिच्छेद २ मा बैठक सम्बन्धी व्यवस्थामा सभाको अधिवेशन कार्यपालिकाको केन्द्र रहेको स्थानमा अध्यक्षले तोकेबमोजिम बस्ने, अधिवेशन बोलाइएको सूचना अध्यक्षले प्रत्येक सदस्यलाई दिनुपर्ने कानुनी व्यवस्थाको उल्लघंन गरी ३ दिने तालिम भन्दै बैठक बोलाइ उक्त तालिममा भएको निणर्यलाई नगरप्रमुखले नगरसभाको निर्णय भनेर नगरापलिकाको कार्यालय सार्न लागेकोप्रति स्थानीयले घोर आपत्ति प्रकट गरेका छन्।

कार्यालय सार्न गरिएको यो पक्षपातपूर्ण निर्णय संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, कानून तथा सामाजिक न्याय विपरीत रहेको स्थानीयहरूले बताएका छन्।

सर्वोच्च अदालतले दिएको आदेश नमानी जनभावना विपरीत काम गर्दै गए आफूहरू आन्दोलनमा उत्रन नडराउने उनीहरूको चेतावनी छ।

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल