Logo

राजनीति

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय अविलम्ब फिर्ता गरः नेपाली कांग्रेस



काठमाडौं, २ असोज – नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत रहेको ठहर गरेको छ।

कांग्रेस प्रवक्ता तथा सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी सरकारको निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका हुन्।

कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र संक्रमितबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व रहेको पनि प्रवक्ता शर्माले स्मरण गराएका छन्।

‘तर, यो अवधिमा कयौंले जीवित छँदै आफ्नो स्थितिबारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए, मृत्युपछि मात्रै पीसीआर? भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजीमा होइन, कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ,’ शर्माले भनेका छन्।

शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहँदा त्यससँग गाँसिएका गम्भीर सैद्धान्तिक र व्यावहारिक प्रश्न नजरअन्दाज नगर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

‘शंकास्पद मृत्यु भएका व्यक्तिको परिक्षण गरिनु झनै जरुरी हुन्छ, आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा हो,’ शर्माले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन दिनु जिम्मेवार राज्यको परिचय होइन, राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन मिल्दैन।’

जीवित छँदै परीक्षण नगरिदिँदा परिवारले एकातर्फ तनाव भोगिरहेकै हुने र मृत्यु पश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिँदा झनै अन्यौल र फरक ढंगको मानसिक तनाव बढेर जाने कांग्रेसको ठहर छ।

परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरूको परिक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउन सक्ने तर शंकास्पदको परीक्षण नगर्दा त्यो दायित्वबाट राज्य विमुख रहने स्थिति बन्ने शर्माले बताएका छन्। ‘पछिल्लो निर्णयले सरकारलाई त्यो दायित्वबाट विमुख रहन जरुर सघाउने छ तर परिवारजनलाई तनावबाट मुक्त हुन किमार्थ सघाउँदैन,’ उनले भनेका छन्।

शंकास्पद मृत्युको परीक्षणबाट रिपोर्ट नेगेटिभ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुन सक्ने र परिक्षण गरेर त्यो सहजीकरण गर्ने जिम्मेवारीबाट राज्यले भाग्नु गैरजिम्मेवार प्रवृत्ति भएको पनि प्रवक्ता शर्माको तर्क छ।

सरकारले यो नीति लिएका बेला मृत्युको ग्राफ दिनहुँ उकालो लागिरहेको बताउँदै विज्ञप्तिमा शर्माले शंकास्पद मृत्युको परीक्षण नगर्ने नीतिले कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाउने भए पनि मृत्युको बढ्दो गति रोक्न नसघाउने उल्लेख गरेका छन्।

‘सरकारको शक्ति र रणनीति मृत्युको तथ्यांक लुकाउनमा प्रयोग गर्ने कि मृत्युको गति नियन्त्रण गर्न प्रयोग गर्ने? जिम्मेवार सरकारको कर्तव्य के हुनुपर्दछ?,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाली कांग्रेस शंकास्पद मृत्युको कोरोना परीक्षण नीति अविलम्ब फिर्ता लिन सरकारलाई सार्वजनिक रुपले अपील र आग्रह गर्दछ।’

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल