Logo

राजनीति

‘निषेधाज्ञा गरेर मात्रै कोरोना प्रकोप नियन्त्रण हुँदैन, नयाँ मोडालिटीमा जानैपर्छ’



काठमाडौं, १९ भदौ – नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भिजन नभएकै कारण काठमाडौंमा कोभिड–१९ प्रकोप नियन्त्रण बाहिर गएको बताएका छन्।

एशिया सञ्चारसँगको संवादमा वडाध्यक्ष केसीले निषेधाज्ञा जारी गरेर मात्रै कोभिड–१९ को प्रकोप रोकथाम हुन नसक्ने भएकाले नयाँ मोडालिटी तयार गरेर महामारीविरुद्ध लड्नुपर्ने बताएका हुन्।

‘सातदिन निषेधाज्ञा जारी भयो, फेरि थपियो, त्यसको विकल्पमा फेरि के गर्ने कसरी जाने भन्ने स्ट्राटेजी त दिनुपर्‍यो नि, कोरोना यसरी रोक्नुपर्छ, ट्रेनिङ दिनुपर्‍यो, मान्छेलाई सूचना प्रवाह गर्नुपर्‍यो,’ केसीले भने, ‘सात दिन लकडाउन गर्‍यौं, आठौं दिनमा यसरी जानुपर्छ भनेर योजना दिनुपर्‍यो नि, तर अहिलेसम्म कहाँ आयो खोई?’

केपी शर्मा ओली नेतृत्वको संघीय सरकारले कोरोना प्रकोप व्यवस्थापनमा योजनाबद्ध रुपमा काम गर्न नसकेको केसीको टिप्पणी छ।

लकडाउन, निषेधाज्ञा र सेना परिचालन नै गरे पनि कोरोना संक्रमण फैलिने क्रम नरोकिने केसीको तर्क छ। ‘कर्फ्यू लाग्दैमा, सेना परिचालन गर्दैमा कोरोना नियन्त्रण हुँदैन,’ उनले भने, ‘सबै गल्ली–गल्लीमा सेना पुग्न सक्दैन।’

अहिले संघीय सरकारको दायित्व मोडालिटी निर्माण रहेको केसीले बताए। काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाबाट प्रवेश गर्नेको संख्या बढेपछि राजधानीमा कोरोना फैलिएको उनले बताए।

संघले विस्तृत मोडालिटी निर्माण गरेर कोरोना प्रकोप नियन्त्रण गर्नुपर्नेमा नेता केसीको जोड छ। ‘स्थानीय सरकारलाई कोभिड–१९ प्रकोप नियन्त्रण गर्ने अधिकार र साधनस्रोत दिएको भए यस्तो अवस्था आउने नै थिएन,’ केसीले भने।

वडाध्यक्ष केसीले सांसद र मन्त्रीहरूकै गाडीबाट कोरोना भाइरसबाट संक्रमितहरू काठमाडौं प्रवेश गरेको बताए। प्रदेश सरकारले दिएको सवारी पासको पनि उनले आलोचना गरे।

‘कोही डिआइजीको मान्छे, कोही जर्साबको मान्छे, मन्त्रीको मान्छे, कोही सांसदको गाडीमा आएका छन्,’ उनले भने, ‘काठमाडौं आउने श्रीमान् र श्रीमतिमध्ये एक जनाको मात्रै पिसिआर गर्छन्, अनि दुई जनाकै किन नगर्नु भएको भनेर सोध्दा मेरै श्रीमान् त हो नि उहाँको गरेपछि भै’गो नि भन्नेहरू पनि छन्।’

स्थानीय सरकारलाई भूमिका निहीन बनाउने ओली सरकारको निर्णय र कदमको पनि वडाध्यक्ष केसीले आलोचना गरे।

‘स्थानीय सरकारलाई वडाका सुक्ष्मभन्दा सुक्ष्म कुरा पनि थाहा हुन्छ, त्यसैले चार जना सदस्य राखेको हो,’ उनले भने, ‘स्थानीय सरकारको भूमिका के हो भन्ने नै बोध नगरेपछि अहिले समस्या भएको हो।’

वडाध्यक्ष केसीले काठमाडौं महानगरपालिका–१० मा सबै समुदायका नागरिक, विभिन्न सामाजिक संघसंस्थाहरू, नागरिक समाज, क्लबहरू र सरोकारवाला निकायहरू परिचालन गरी कोभिड–१९ को प्रकोप नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए।

सचेतना कार्यक्रमसहितका अभियान वडाको तर्फबाट सञ्चालन भइरहेको जानकारी दिँदै अध्यक्ष केसीले वडाको प्रयासले मात्रै प्रकोप नियन्त्रण हुन नसके पनि वडाबासीलाई सुरक्षित राख्न चरणबद्ध रुपमा काम गरिरहेको बताएका छन्।

हेर्नुहोस्: वडाध्यक्ष रामकुमार केसीसँगको अन्तरवार्ता

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल