Logo

आर्थिक

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाः दुई दशकमै नयाँ सिराबाट आर्थिक क्रान्ति



मदन गिरी, महेन्द्रनगर, १८ भदौ – सुदूरपश्चिम प्रदेशमै एक नाम चलेको प्रतिष्ठित सहकारी हो– उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड । स्थापनाको दुई दशकमै स्थानीयको मन जित्न सफल सहकारीको रुपमा स्थापित छ उदयदेव । २०५६ सालमा स्थापना भएको सहकारी २५ जना शेयर सदस्यबाट शुरु भएको थियो । उक्त सहकारीमा हाल २४ हजार शेयर सदस्य जोडिएका छन्।

संयोग के छ भने २५ जना स्थापनाकार सदस्यमध्ये २३ जना चन्द परिवारकै हुन्। दुई जना महरा परिवारका। २५ जनाले ४० हजारका दरले संकलन गरी सञ्चालन भएको सहकारी अहिले सुदूरपश्चिमै स्थापित सहकारीका रुपमा परिचित छ।

सहकारीको सफल नेतृत्व र व्यवस्थापनले नै सहकारीलाई उचाईमा पुर्‍याएको हो । १० लाख पुँजीबाट शुरु भएको सहकारीमा हालको पुँजी हाल १० करोड ५६ लाख पुगेको छ, भने ऋण लगानी ९३ करोड ५३ लाख छ । दैनिक बचत संकलन र सामान्य कर्जाबाट शुरु भएको उदयदेवमा अहिले वार्षिक करोडौंको कारोबार भइरहेको छ ।

सहरकारीका योजनाकार तथा प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जनताको अविश्वासलाई विश्वासमा परिणत गरेर नै सहकारी सफल भएको बताउँछन् । ‘हामीले सहकारी स्थापना गर्दा सजिलै विश्वास गरी हाल्ने वातावरण थिएन, त्यही चुनौतीलाई चिर्दै यो स्थानमा आइपुगेका हौं ।’ जिल्लाकै ४ सयको हाराहारीमा रहेका सहकारीमा नम्बर वन बनेको सहकारीको दुई दशकको यात्रा निकै संघर्षणूर्ण छ ।

कृषी सामग्री संस्थानको तीन वर्षे करार जागिरपछि काठमाडौं हानिएर सिईओ चन्दले त्यहाँ सहकारीको बारेमा राम्रोसँग बुझ्ने अवसर पाए । कृषी सामग्रीमा काम गर्दादेखि नै उनले सहकारी ऐन र विनियमको बारेमा अध्ययन गरेका उनले बताए ।

काठमाडौं गएर उनले त्यहाँका राम्रा चलेका रोयल बहुउद्देश्यीय सहकारी जस्ता सहकारीको अवलोकन गरे । काठमाडौंमै भेटिएका महावीर चन्द र प्रेमबहादुर चन्दसँग सल्लाह गरेर आफ्नै ठाउँमा व्यवसाय गर्ने उद्देश्य लिएर महेन्द्रनगर फर्किए चन्द ।

महेन्द्रनगरका प्रतिष्ठित अधिवक्ता पूर्णबहादुर चन्दसँगको समन्वयमा २५ जना मिलेर उदेयदेव बहुउद्देश्यीयको स्थापना भयो । पेशागत रुपमा प्रतिष्ठित अधिवक्ता चन्दलाई अध्यक्ष बनाएर सहकारीले काम २०५६ साल असार २ गतेबाट कारोबार शुरु ग¥यो ।

शेयर सदस्यबाट दैनिक पाँच रुपैयाँ संकलन गरी गरेको बचत अहिले ८१ करोड पुगेको छ । केन्द्रीय कार्यालयसहित उदयदेवले हाल पाँचवटा कार्यालयमार्फत् जिल्लामा सेवा दिइरहेको छ । कञ्चनपुरको भीमदक्त नगरपालिका–१८ मा केन्द्रीय कार्यालय रहेकोमा उदयदेवले बेलौरी, कृष्णपुर, शुक्लाफाँटा र महाकाली नगरपालिकामा सेवा कार्यालय राखेर कारोबार गरिरहेको सिईओ चन्दले बताए।

२०६२/०६३ को जनआन्दोलनपछि अस्तव्यस्त बनेको सुदूरपश्चिमको ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई उकास्न उदयदेवको ठूलो योगदान छ ।

सहकारी संस्थाले तत्कालीन समयमा विपन्न तथा आर्थिक रुपले पछाडि परेका वर्गलाई आयमुलक बाटोमा जोड्न लघु उद्यम कार्यक्रम सञ्चालन गर्‍यो । सो कार्यक्रममार्फत् २० हजार महिलालाई पाँच हजार रुपयाँसम्म बिना ब्याज उपलब्ध गरायो ।

‘त्यति बेला महिलाहरु घरायसी काममा मात्रै सीमित थिए, आर्थिक क्रियाकलापमा उहाँहरुको सहभागिता खासै थिएन, हामी द्वन्द्वकालमा खस्केको अर्थतन्त्र उठाउनका लागि महिलालाई पनि स्वउद्यममा जोड्नुपर्ने थियो, सो अवधारण अन्तर्गत हामीले लघुवित्त कायक्रम सञ्चालन ग¥यौं ।’ सिईओ चन्दले भने ।

साथै सहकारीले वित्तिय साक्षरता र सामाजिक कार्यलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको छ । त्यस्तै, विभिन्न साझेदार संघ सस्थाहरुसँगको सहकार्यमा प्राविधिक कार्यक्रम पनि गर्दै आएको छ । किसान परियोजनासँगको सहकार्यमा कृषी सामग्री तथा उपकरणसँगै शेयर सदस्यलाई प्राविधिक सहयोग गरेको छ । पशुविकास आयोजनासँगको सहयकार्यमा पनि कार्यक्रम गरिसकेको छ । ह्याभिटेड फर ह्युम्यानिटी नेपालसँग मिलेर कञ्चनपुरका चारसय ३९ परिवारको कच्ची शौचालय निर्माण र दुईसय १९ परिवारलाई हेन्डपम्म सेट वितरण गरेको सिईओ चन्दको भनाई छ ।

अहिले कोरोना संक्रमणले विश्व अर्थतन्त्र तहसनहस छ । अर्थतन्त्रको पुर्नउत्थानका लागि छट्टै कार्यक्रम सञ्चालन गरिएको छ । कोरोना संक्रमणपछि लकडाउनमा आर्थिक कारोबार ठप्प भए सोही कुरालाई दृष्टिगत गर्दै उदयदेवले कर्जामा १० प्रतिशत ब्याज मिनाहा गरेको छ । जसबाट कर्जा धनीले ३३ लाख बराबरको ब्याज छुट पाएका छन् ।

त्यस्तै, सहकारीले कोरोना कोषमा जिल्लाका सात नगरपालिकालाई ४०–४० हजार र दुई गाँउपालिकालाई २५–२५ हजार नगद सहयोग गरेको छ। राहत वितरणका लागि पनि खाद्यान्न तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको सहकारीले जनाएको छ । एक अर्ब २० करोडको सम्पत्ति रहेको सहकारीले ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ।

संस्थाले महिलाई स्वउद्यममा जोड्न महिला समूहलाई तीन लाखसम्म बिना धितो कर्जा उपलब्ध गराउने सहकारीको नीति छ । गत आर्थिक वर्षमा मात्रै आठ सय जनालाई सीपमूलक तालिम प्रदान गरेको थियो । भने एक सय ६५ वित्तिय साक्षरता कार्यक्रमा गरिएको पाँच हजार बढीको सहभागीता रहेको थियो ।

कृषि ज्ञान केन्द्रको कञ्चनपुरको सहयोगमा ५० प्रतिशत अनुदानमा सहकारी कष्टम हायरिङ सेन्टर स्थापना गरेको छ । जसबाट करिब पाँच सय बढी किसान लाभान्वित हुनेछन् ।

कोभिड–१९ ले धराशायी बनाएको अर्थतन्त्रको विकासका लागि व्यवसाय पुर्नस्थापना कर्जा कार्यक्रम सहकारीले अघि सारेको छ । सहकारीका सिईओ चन्दका अनुसार १० करोडको कोष खडा गरि १३ प्रतिशत ब्याजदरमा शेयर सदस्यलाई व्यवसाय पुर्नस्थापना कर्जा दिन लागेको हो ।

त्यस्तै शेयर सदस्याका छोरोछोरीको पढाईका लागि सहकारीले बालबचत कार्यक्रम ल्याएको छ । जसमा १२ उक्त कार्यक्रम भदौ १ देखि लागू भएको छ । सहकारीको सामान्य ब्याजदर १६ प्रतिशत छ ।

सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लास्थित बाल अनाथालय, बृद्धाश्रम, सरकारी अस्पतालमा आर्थिक सहयोग गर्दै आएको छ भने चारवटै सेवा कार्यलयमा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।

त्यस्तै शेयर सदस्यको श्रीमान वा श्रीमतीको मृत्यु भएका ५ हजार, र शेयर सदस्यको मृत्यु भएको १० हजार कृया खर्च उपलब्ध गराउने गरेको छ । त्यस्तै महिला शेयर सदस्यलाई सुत्केरी भत्तासमेत दिने व्यवस्था गरेको छ । जसअन्तर्गत गत वर्ष मात्रै तीन लाख ३८ हजार खर्च भएको छ । त्यस्तै दैविक प्रकोपका बेला पनि सहकारीले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

उदयदेवका एक्ला सिईओ

उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापनाका कालदेखिका एक्ला सिईओ हुन् गणेशबहादुर चन्द । सहकारी ऐन २०४८ अनुसार चन्द प्रबन्ध सञ्चालकको रुपमा सहकारीका कार्यकारी पदमा रहेर काम गरे भने सहकारी ऐन २०७४ आएपछि उनी प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । बैतडीको दशरथचन्द नगरपालिकामा २०३० सालमा जन्मिएका चन्दले एसएलसी बैतडीकै वीरेन्द्र माध्यमिक विद्यालयबाट पास गरे, भने प्सल टु र स्नातक तह व्यवस्थापन संकायमा कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट गरे ।

सहकारी जीवनको लामो अनुभव लिएका चन्द राष्ट्रिय सहकारी महासंघमा ६ वर्षसम्म केन्द्रीय सदस्य भएर काम गरे । मलेसियाबाट डिप्लोमा ईन सहकारी गरेका सिईओ चन्द विभिन्न अन्र्तराष्ट्रिय संघ संस्थाबाट तालिमसमेत लिइसकेका छन् ।

पछिल्लो समय सरकारले ल्याएको सहकारी ऐन नियमन गर्न खोज्नु राम्रो भए पनि मूल कारोबार र प्रतिनिधित्व मूलक सहभागिताबारे स्पष्ट र सहज व्यवस्था नभएको उनको भनाई छ ।

त्यस्तै सहकारी अध्यक्ष पूर्णबहादुर चन्द पनि स्थापनाकाल देखिकै अध्यक्ष हुन् । अध्यक्ष चन्द कञ्चनपुरका प्रतिष्ठित कानून व्यावसायी हुन् । अध्यक्ष चन्दले पछिल्लो समय नोबेल कोरोना भाइरसको संक्रमणपछि अर्थतन्त्र धराशायी बनेपछि सहरकारीलाई चुनौती थपिएको बताए । लकडाउनले सबै व्यवसाय बन्द भएपछि कर्जा लगानि र कर्जा संकलनमा समस्या भएको छ । साथै शेयर सदस्यलाई कारोबारमा सक्रिय बनाउन विभिन्न कार्यक्रमसहित शेयर सदस्यलाई नै परिचालन गरिने उनको भनाई छ ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल