![](https://www.asiasanchar.com/wp-content/uploads/2020/09/mangala-devi-singh-asia-sanchar.jpg)
काठमाडौ, १७ भदौ – नेपाली कांग्रेसका नेताहरूले नेपालमा महिलाहरूलाई मताधिकारको व्यवस्था गर्नका लागि भएको संघर्षको नेतृत्वकर्ता स्व. मंगलादेवी सिंह नै रहेको बताएका छन्।
मंगलादेवी सिंहको २४औं स्मृति दिवसमा मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमका वक्ताहरूले नेपाली महिला आन्दोलनमा नेतृ सिंहको योगदान सदा अमर हुने बताएका हुन्।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पुरुषहरूलाई मात्रै मताधिकारको व्यवस्था रहेको उल्लेख गर्दै नेपाल महिला संघकी संस्थापक अध्यक्ष सिंहकै माग र दबाबअनुसार महिलालाई मताधिकारको व्यवस्था गरिएको बताए।
निर्वाचित व्यक्तिले महिलामाथि पनि शासन गर्ने भएकाले महिलाले पनि मताधिकार पाउनु पर्ने माग मंगालादेवीले शिर्ष नेताहरुसँग राखेपछि त्यस्तो व्यवस्था भएको सिंहले बताए।
महिला र पुरुषको अधिकार बराबर हुनुपर्ने, आन्दोलनमा महिलाहरूको योगदान पनि धेरै रहेकाले महिलाहरूलाई मताधिकार हुनुपर्ने मागले राखेको नेता सिंहले स्मरण गरे।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले महिला अधिकारको क्षेत्रमा मंगलादेवी सिंहको योगदानको चर्चा गरे। महिला अधिकारका लागि कांग्रेसले र महिला संघले धेरै महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले महिला सशक्तिकरणबाट मात्रै लोकतन्त्र बलियो हुने भएकाले नै महिला सशक्तिकरणको एजेण्डा कांग्रेसको प्राथमिकतामा परेको बताए।
कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डिला पन्त संग्रौलाले पार्टी र राज्यको निर्णायक तहमा महिलालाई ठाउँ दिन कांग्रेसले थप उदारता देखाउनु पर्ने धारणा राखिन्।
संग्रौलाले अहिले पाएका अवसरहरूलाई प्रभावकारी बनाउनु पर्नेतर्फ पनि सबैले ध्यान दिनु बताएकी छिन्। देशभरका महिलाहरूलाई जागरुक बनाउन विभिन्न गतिविधि गरिरहेको र थप योजनाहरु पनि बनाइएको उनले बताइन्।
प्रतिष्ठानकी अध्यक्ष गंगालक्ष्मी अवालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा महिला अधिकारकर्मी नम्रता शर्माले कार्यपत्र प्रस्तुत गरेकी थिइन्। अधिवक्ता विष्णु बस्यालले कार्यक्रमको सहजीकरण गरेका थिए।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी तथा प्रतिष्ठानका प्रदेश संयोजक लगायतले स्थानीय सरकारमा महिला सहभागिता र उनीहरूको समस्या तथा भूमिकाका बारेमा समीक्षा गरेका थिए।
प्रतिक्रिया