Logo

समाचार

काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रिजालको पहलमा जनमैत्री अस्पताल सञ्चालनमा हुने



काठमाडौं, १२ भदौ – काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताल सञ्चालनमा आउने भएको छ। व्यवस्थापनको कमजोरीका कारण विगत केही वर्षयता बन्द अवस्थामा रहेको अस्पताल पुनः सञ्चालनमा आउने भएको हो।

सरकारले तत्काल कोभिड अस्पतालको रुपमा विकास गर्ने भएको हो। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनमैत्रीसहित तीन अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सूचीकृत गरेको बताएका छन्।

जनमैत्रीसहित काठमाडौंकै कान्तिपुर अस्पताल र वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल रहेका छन्। बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र महानगरपालिकाको वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए।

गत साउन २९ मा काठमाडौं महानगरपालिकाको तर्फबाट वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालले अस्पताल व्यवस्थापनलाई पत्राचार गर्दै अस्पताल सञ्चालन गर्न आग्रह गरेका थिए।

अस्पताल सञ्चालन गर्न आग्रह गर्दै प्रेषित पत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतलाई पनि बोधार्थ गरिएको थियो।

महानगरकै पहल र चासोमा सरकारले कोभिड अस्पतालका रुपमा सूचीकृत गरेको हो। अहिले कोभिड अस्पताल हुने र निकट भविष्यमा पूर्णरुपमा अस्पताल सञ्चालनमा आउने रिजालले बताए।

अत्याधुनिक भवन र ३ सय शैय्या क्षमता भएको अस्पताल सञ्चालनमा आउने भएसँगै बढ्दो कोरोना भाइरस जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अध्यक्ष रिजालले विश्वास व्यक्त गरे।

कुनै बेला राजधानीको चर्चितमध्ये एक अस्पताल जनमैत्री अहिले प्रयोगविहीन अवस्थामा पुग्दै गर्दा फेरि सञ्चालनमा आउने भएको हो।

मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार ९ सय ५७ र ६ ४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको समेत छ। मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जानकारी दिएको छ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल