Logo

आर्थिक

कञ्‍चनपुरका कृषक र विपन्न नागरिकलाई उद्यममा जोड्ने सहकारी



मदन गिरी, कञ्चनपुर, १० भदौ – कुनै समय सानो आर्थिक क्रियाकलाप गर्न पनि कर्जा नपाएर चिन्तित कञ्चनपुरका बासिन्दालाई अहिले त्यो संकट पर्दैन। सहकारी संस्थासँग जोडिएपछि गाउँपालिका र नगरपालिकाका धेरै किसानलाई लगानीको समस्या समाधान भएको हो।

कञ्जनपुर जिल्लामा छोटो समयमा नै उत्कृष्ट पहिचान बनाउन सफल सहकारी संस्था हो, निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड। सानो समूहबाट शुरु भएको निङ्गलाशैनी सहकारी अहिले जिल्लाकै बढी कारोबार गर्ने तथा बढी शेयर सदस्य भएको सहकारीमा पर्छ।

वि.सं. २०६६ सालमा ५० जना शेयर सदस्यबाट जनही १० हजार संकलन गरी स्थापना भएको सहकारीमा अहिले ८ हजारभन्दा बढी शेयर सदस्य छन्। गाउँमा वित्तीय सुविधा नभएका बेला खुलेको सहकारी अहिले सबैको बचत संकलनसँगै ऋणदाताको सहयोगी बनेको छ।

कुशल नेतृत्व र व्यवस्थापनले नै सहरकारी स्थापनाको एक दशकमै उल्लेख्य प्रगति गर्न सफल भएको छ। तत्कालिन रुपमा सहकारीलाई हेर्ने दृष्टिकोण राम्रो नभएपछि गाउँका इमान्दार मानिने युवा समूहले सहकारी खोल्दा स्थानीयले पनि विश्वास गरे। जनताको विश्वासले सहकारीलाई उचाईमा पु¥यायो जुन हाल पनि कामय छ।

सहकारी अध्यक्ष दीपकप्रसाद जोशीले सहकारीको सफलतालाई कुशल टीम र असल व्यवस्थापन रहेको बताएका छन्। भीमदत्त नगरपालिका–१८ गोवरैयास्थित केन्द्रीय कार्यालय रहेको निंगलाशैनी सहकारी गाउँमा वित्तीय संस्थाको आवश्यकता भएको बेला खोलिएको थियो। उक्त सहकारी अहिले नगरकै वित्तीय सहयात्री बनेका छ।

‘त्यति बेला गाउँमा वित्तीय संस्थाहरू थिएनन्, सबैले यसको संस्थाको आवश्यकता महसुस गरेका थिए,’ अध्यक्ष जोशीले भने, ‘बैंकहरूको ऋण प्रक्रिया निकै झन्झटिलो हुने भएकाले हामी त्यसको विकल्प खोजेका हौँ।’

सहकारी स्थापनाका योजनकार समेत रहेको अध्यक्ष जोशी यसअघि दुई कार्यकाल समितिको सचिव समेत रहेर काम गरेको अनुभव संगालेका छन्।

कृषि र पशुपालनलाई प्राथमिकता

२ करोड शेयर पूँजी रहेको निंगलाशैनीले हाल करिब १० करोड ऋण प्रवाह गरेको छ। सहकारीले आर्थिक, सामाजिक र शैक्षिक गरी तीन वटा पक्षलाई विशेष महत्वका साथ अगाडि बढएको अध्यक्ष जोशीको भनाई छ। उनका अनुसार आर्थिक गतिवधि अन्तर्गत सहकारीले बचत संकलन गर्ने र क्रण प्रभाव गरिहेको छ।

शैक्षिक कार्यक्रम अन्र्तगत शेयर सदस्यका छोरोछोरीलाई ५० हजारदेखि १० लाखसम्मको ऋण उपलब्ध गराउने गरेको छ। त्यस्तै सहकारीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी वित्तीय क्षेत्र र यसबारे जानकारी समेत दिँदै आएको छ।

सहकारीले कृषि र पशुपालन व्यवसायमा लगानीलाई पहिलो प्राथमिकतामा राखेको छ। अध्यक्ष जोशीका अनुसार हाल सहकारीको करिब ६० प्रतिशतभन्दा बढी कर्जा कृषि र पशुपालनमा छ।

शेयर सदस्यले कृषि तथा पशुपालन गर्न चाहेका २ लाख रुपैयाँसम्म बिना धितो सो भन्दामाथि आवश्यकता अनुसार धितो राखेर ऋण दिने सहरकारीको व्यवस्था छ।

सहकारीबाट ऋण लिएका शेयर सदस्यहरूले अहिले कुखुरापालन, बाख्रापालन, तरकारी खेती लगायतका व्यवसाय गरी मनग्यै आम्दानी गरिरहेका छन्। सहकारीले उत्पादनमुखी कर्जा नीति अवलम्बन गरेको छ।

कृषि क्षेत्रका विकासका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनासँगको सहकार्यमा ५० प्रतिशत अनुदानमा सहकारीले कस्टम हायरिङ सेन्टर स्थापना गरेको छ। जसमार्फत् सहकारी सुपथ मूल्यमा कृषकलाई कृषि औजार सहयोग गरिरहेको छ।

शेयर सदस्यको लगानी सुरक्षाका लागि ‘लगानी सुरक्षा बिमा’ र कर्जा लगेर पशुपालन गरिहरका ऋणीका लागि ‘पशु बिमा’को समेत व्यवस्था गरेको अध्यक्ष जोशीले बताए।

त्यस्तै सहकारीले सामाजिक कार्य अन्तर्गत स्थानीय विद्यालय तथा मन्दिर लगायतका सार्वजनिक स्थलहरूमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ। सहकारीले ‘सदस्य कल्याण कोष’ अन्तर्गत समस्यामा परेकालाई बिना ब्याज आपत्कालिन सहयोग समेत प्रदान गर्ने गरेको छ।

भीमदत्त नगरपालिका कार्यक्षेत्र रहेको सहकारीलाई जिल्लाभरिमा विस्तार गर्ने र देशका सबै सहकारी संस्थाहरूसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष जोशीले बताए।

कुशल व्यवस्थापनले बदलिएको सहकारी अभियान

२०५४ सालमा महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका जोशीले महेन्द्रनगरकै सिद्धनाथ बहुमुखीबाट २०६३ सालमा वाणिज्य संकायमा स्नातक तह पास गरे।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्नाकोत्तर गरेका अध्यक्ष जोशीले अध्ययन सकेर गाँउमै स्कूल खोलेर शिक्षासेवामा लागेका थिए। २०६६ सालमा साथीहरूसँगको सल्लाहमा सहकारी सञ्चालन गरे। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपप्राध्यापक रहेका जोशीले अध्यापनपछिको बाँकी समयमा सहकारीको व्यवस्थापनमा खर्च गर्ने गरेको बताए।

सरकारले ल्याएको नयाँ सहकारी ऐनले सहकारीलाई आन्यौलमा परेको अध्यक्ष जोशीको भनाई छ। ‘नयाँ ऐनले सहरकारीको ५१ प्रतिशत मुख्य कारोबार हुनुपर्ने उल्लेख गरेको छ,’ जोशीले भने ‘बहुउद्देश्यीय सहकारीको मुख्य कारोबार के हुने भन्ने कुरा नै स्पष्ट छैन, यसले अन्यौलमा परेको छ।’

जोशी विगत आठ वर्षदेखि अध्यापनरत छन्। शैक्षिक रुपमा वित्तीय क्षेत्रको राम्रो ज्ञान भएकाले उनलाई सहकारीको व्यवस्थापन र जिम्मेवारी बहन गर्न सहज भएको छ।

अबको योजना

सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रेमसिंह भाटले सहरकारी पसल सञ्चालनको योजना रहेको बताए। उनका अनुसार सहकारीको क्षेत्र विस्तारका लागि ३ वटा सहकारीसँग मर्जरका लागि छलफल भइरहेको छ।

प्रधान कार्यालयसहित चार वटा सेवा कार्यालयमार्फत सेवा दिइरहेको निंगलाशैनीले ३० जनालाई प्रत्यक्ष रोजगार दिइरहेको छ। वित्तीय साक्षरतालाई पनि जोड दिएको सहकारीले विद्यायलस्तरमा पनि उक्त कार्यक्रम सञ्चालन गरेको छ।

सहकारीले भीमदत्त–१८ को निंगलाशैनी माध्यमिक विद्यालयका ३ सय ५० र ग्रीनल्याण्डका १ सय ५० विद्यार्थीलाई वित्तीय सारक्षताबारे जानकारी दिइएको छ। सोही कार्यक्रमबाट विद्यार्थीलाई बचत गर्ने बानीको विकास भएको सहकारी स्थापनाका योजनाकार समेत रहेका सिईओ भाटको भनाई छ।

‘हामीले विद्यालय र सामुदायमा पनि वित्तीय साक्षरता अभियान शुरु गरेका छौँ,’ सिइओ भाटले भने, ‘अहिले विद्यार्थीमा बचत गर्ने बानी विकास भएको छ, उनीहरूले खाजा खर्च कटाएर अहिले २५ लाख रुपैयाँ सहकारीमा बचत गरेका छन्।’

सहकारीले विद्यार्थीलाई खाजाघरबाटै ल्याउने र सोहीबापतको रमक सहकारी बचत गर्ने प्रोत्साहित गरेको हो। त्यस्तै सहकारी कोरोना संक्रमणका कारण तीन लाख रुपैयाँ ब्याज छुट गरेको छ। युवा स्व–उद्यमका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

सिइओ भाटले कृषि क्षेत्रको विकासमा जोड दिँदै बिउँ उत्पादन र भैँसी श्रोत केन्द्र स्थापनाका लागि समेत पहल भइरहेको बताए। अगामी साधारणसभाबाट भावी योजना पारित गरी कार्यान्वयनको चरणका लगिने उनको भनाई छ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल