Logo

स्वास्थ्य

फ्रन्टलाइनमा नेपाली चिकित्सक: कतारमा कार्यरत लाखौं श्रमिकको सेवामा खटिएका डा. अर्याल



कतार, ५ भदौ – कोभिड–१९ प्रकोपबाट सबैभन्दा धेरै नेपाली प्रभावित भएको देश कतार। कोरोना भाइरसको संक्रमणबाट झण्डै ८ हजार नेपाली प्रभावित बनेका छन्।

वर्षेनी झण्डै ५० हजार नेपाली कामदार कतार जान्छन्। र, कतारमा ५ लाखभन्दा धेरै नेपाली रोजगारीका लागि पुगेका छन्।

जहाँ अवसर हुन्छ, त्यहाँ चुनौती पनि हुन्छ। नभन्दै ‘राम्रो’ पारिश्रमिक पाउने देश कतारमा अहिले ठूलो संख्यामा नेपाली कोभिड १९ को प्रभावमा परेका छन्।

‘तर, स्वास्थ्य सेवा प्रवाह राम्रो रहेकाले धेरै नेपाली कोरोनाको संक्रमणमुक्त भएका छन्, कतिपय स्वास्थ्यलाभको चरणमा छन्,’ कतारमा करिव १० दशकदेखि स्वास्थ्यसेवा प्रदान गर्दै आएका डा. नितेश अर्यालले भने।

नेपाली नागरिकको स्वास्थ्य अवस्थाका बारेमा डा. अर्यालसहित नेपाली दूताबास, गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, प्रवासी संघ पनि सक्रिय छन्।

कयौं नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू कतारमा अहिले पनि फ्रन्टलाइनमा कार्यरत छन्। ‘आफूलाई संक्रमणबाट जोगाउने र अरूलाई संक्रमणमुक्त गराउने, हाम्रो प्रयास त्यही नै हुन्छ,’ डा. अर्यालले भने।

डा. अर्याल कयौं नेपाली कामदारको सम्पर्कमा छन्। उनको मेडिकलमा उपचार गराउन आउने नेपालीको संख्या उल्लेख्य छ।

जुनसुकै रोगका बिरामी हुन् वा कोरोना संक्रमित उनी आवश्यक स्वास्थ्योपचार र आवश्यक परामर्श दिएर पठाउँछन्। उनको स्वास्थ्य केन्द्रमा अहिले परामर्श लिन आउने अधिकांश नेपाली छन्। ¬

नेपालीलाई कतार सरकारको साथ

नेपाली नागरिकका लागि आकर्षक गन्तव्य रहेको कतारमा देखिएको कोरोना महामारी रोकथाम गर्न त्यहाँको सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।

‘कतार सरकारले नम्बर दिएको छ, स्वास्थ्य समस्या देखिएमा वा कोरोना संक्रमणको आशंका लागेमा त्यो नम्बरमा फोन गरेपछि तत्काल चेकजाँचको व्यवस्था गरिन्छ,’ डा. अर्यालले भने।

सरकारी निकायमा भएको प्रणालीगत चुस्तताले पनि कतारका नागरिकसँगै नेपालीहरूको उपचार र रेखदेखमा कुनै समस्या हुन नपाएको उनले बताए।

कतार सरकारले संक्रमण देखिएमा के गर्ने, कसरी बस्ने, संक्रमण फैलिन नदिन कसरी दुरी कायम गरेर बस्ने भन्ने विषयमा सम्पूर्ण जानकारी र सचेतना प्रदान गरिरहेको छ।

‘नहुनु पर्ने थियो, संक्रमण भइहाल्यो, अब बँच्ने उपाय अपनाउनुको विकल्प छैन, कतार सरकारले पनि यही कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको हामीले पाएका छौं,’ उनले भने।

डा. अर्यालले कोरोना संक्रमित र अन्य सामान्य अवस्थाका बिरामीलाई पनि उपचार गरिरहेका छन्। स्वास्थ्य समस्या भएपछि सम्पर्क गर्ने र प्रत्यक्ष आउने सबैलाई उच्च सतर्कताका साथ आवश्यक उपचार गर्दै आएका छन् उनी।

‘जोखिम भएपनि सरकारले उपलब्ध गराएको एप्लिकेसनबाट कोरोना संक्रमण छ–छैन भन्ने अनुमान लगाउन सकिन्छ,’ उनले भने, ‘संक्रमण भएमा त्यही अनुसार उच्च सतर्कता अपनाएर काम गर्ने, संक्रमण नभएका अरू बिरामीलाई पनि नियमित स्वास्थ्यसेवा दिइरहने गरिएको छ।’

नयाँ रोगले निम्त्याएको सन्त्रास

कतारमा बस्ने नेपालीमा कोरोना संक्रमण फैलिएपछि दुई किसिमको समस्या देखिएको डा. अर्यालले बताए। कतिपयले परीक्षण नगराउँदा संक्रमण फैलिने जोखिम भएको तथा केही संक्रमितले संक्रमण भएका जानकारी लुकाएर पनि समस्या देखिएको छ।

‘साथीहरूले स्वीकार्ने हुन्–होइनन् भनेर डराएको पनि पाइएको छ, यसरी संक्रमण लुकाउँदा अरू सम्पर्कमा आउन सक्ने भएकाले जोखिम हुन्छ,’ अर्यालले भने, ‘तर, हामीले प्रष्टसँग भनेका छौं, संक्रमणको जोखिम भएमा, स्वास्थ्य समस्या देखिएमा तत्काल परामर्श लिनुपर्छ, र सुरक्षित बस्नुपर्छ।’

कतारमा रहेका नेपालीहरूका लागि दूताबासले पनि जानकारीमूलक सन्देशहरू जारी गरेको छ। त्यसैगरी, त्यहाँ रहेका नेपाली स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्थाले पनि जनचेतना जगाउनका लागि काम गरिरहेका छन्।

‘नेपाली साथीहरूले म्यासेज गर्नुहुन्छ, हामी काउन्सिलिङ गर्छौं, सुरक्षित रहने विधि बताउँछौं, उहाँहरू पनि संक्रमण नफैलिने गरी आफूलाई सुरक्षित राख्नुहुन्छ,’ डा. अर्यालले भने।

नयाँ रोग भएकाले पनि के होला–कसो होला भन्ने संत्रास नेपालीहरूमा रहेको उनको भनाइ छ। यो त्रासलाई हटाउन हरप्रकारले आफूहरू काम गरिरहेको उनले बताए।

कतारका नेपालीहरूलाई मुख्य चुनौती

कतारमा कोरोना परीक्षण तीव्र पारिएको छ। परीक्षणमा तीव्रता दिएपछि संक्रमितको संख्या धेरै देखिएपनि स्वास्थ्यलाभ गर्नेको संख्या पनि उल्लेख्य छ।

‘कोरोना संक्रमणको रिकभर तीव्र छ, युवाहरू धेरै भएकाले पनि तीव्र सुधारहरू भइरहेका छन्,’ अर्यालले भने, ‘आशा गरौं धेरैभन्दा धेरै साथीहरूले स्वास्थ्यलाभ गरेर घर फर्किनु हुनेछ।’

उच्च रक्तचाप र मधुमेहका बिरामी अलि जोखिममा रहेको जानकारी डा. अर्यालले दिए। अरूलाई खासै स्वास्थ्य समस्या नभएकाले कोरोनाको संक्रमण भएपनि छिट्टै स्वास्थ्यलाभ हुने उनले बताए।

कतार सरकारले आइसोलेसन र क्वारेन्टाइनको निर्माण उच्चस्तरीय र सुविधायुक्त तरिकाले गरेको छ। जसका कारण संक्रमितको आत्मविश्वास प्रबल हुने र छिटो निको हुने अर्यालले बताए।

सामाजिक संस्थाबीच सहकार्य

नेपाली नागरिकलाई कुनै किसिमको समस्या परेमा तथा स्वास्थ्य समस्या भएमा राहत वितरण गर्न र स्वास्थ्योपचार गर्नका लागि त्यहाँ सक्रिय संघसंस्थाले संयोजनकारी भूमिका खेलिरहेका छन्।

गैरआवासीय नेपाली संघले ‘कतार च्यारिटी’सँग मिलेर काम गरिरहेको छ। गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका मध्यपूर्व संयोजक अर्यालका अनुसार अहिले त्यहाँ रहेका नेपालीलाई प्रकोपको सन्त्रासले नेपाल जान पाए हुन्थ्यो भन्ने सोच राख्ने नेपालीहरूलाई चिकित्सकीय परामर्श दिइँदै छ।

साथै मध्यपूर्वका नेपालीहरूको स्वास्थ्य सेवाका लागि निरन्तर छलफल–बैठक गरी त्यसको कार्यान्वयनका लागि निरन्तर प्रयासहरू भइरहेको उनले बताए।

‘परदेशको बसाइमा डिप्रेसनको समस्या हुनसक्छ, कोरोना ठूलो रोग हो, विश्वव्यापी फैलिएको छ भनेर सुनेपछि अलिकति तनाव भएको छ नै,’ अर्यालले भने, ‘डर र एन्जाइटीबाट मुक्त गराउने विषयमा अलि बढी हाम्रो ध्यान केन्द्रित भएको छ।’

जनकपुरबाट कतारसम्मको यात्रा

वि.सं. २०३४ सालमा धनुषामा जन्मिएका डा. अर्यालले २०४९ मा एसएससी पास गरे। र, उनी एमबिबिएस अध्ययनका लागि बंगलादेश गए।

सन् २००२ मा बंगलादेशको युनिर्भसिटी अफ साइन्स एन्ड टेक्नोलोजी (युएससिटी) बाट एमबिबिएस पूरा गरे। र, नेपाल फर्किएर सशस्त्र प्रहरी बल अस्पतालमा ९ वर्ष काम गरे।

त्यसबीचमा शिक्षण अस्पतालबाट सन् २०११ मा एमडी मेडिसियनको अध्ययन पूरा गरेपछि डा. अर्याल सन् २०१२ मा कतार गएका हुन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ५ भाद्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल