Logo

प्रदेश-१

ताप्लेजुङ दोश्रो पटक कोरोना संक्रमणमुक्त, प्रजिअ भन्छन्, ‘प्रकोप भित्रिनै नदिन प्रयत्नरत छौं’



शान्तिराम नेपाल, ताप्लेजुङ, ४ भदौ – सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङ कोरोनामुक्त जिल्ला भएको छ। ताप्लेजुङ कोरोनामुक्त जिल्ला भएको यो दोश्रो पटक हो।

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका घर भएका एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको थियो। तर, दोश्रो पटकको पोलिमर्स चेन रियाक्सन (पिसिआर) परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले ती युवाको आरटी पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि ताप्लेजुङ दोश्रो पटक कोरोना संक्रमणमुक्त जिल्ला भएको बताए।

‘हाम्रो प्रयास जिल्लामा कोरोनाको संक्रमण नहोस् भन्ने हो, त्यसैले योजनाबद्ध रुपमा काम पनि गरिरहेका छौं, बाहिरबाट आउनेको प्रवेश रोक तथा प्रवेश गर्नेलाई क्वारेन्टिनमा राख्ने काम भइरहेको छ,’ चापागाईले एशिया सञ्चारसँग भने।

यसअघि, सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनकी एक युवतीमा कोरोनाको संक्रमणको आशंका गरिएको थियो। उनको ज्वरोको कारण मृत्यु भएको थियो। स्वाब परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ।

प्रमुख जिल्ला अधिकारी चापागाईले सिरिगंघा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङसँगको समन्वयमा मृतकको सम्पर्कमा आएका व्यक्तिहरूलाई पनि पिसिआर परीक्षण गर्ने तयारी भएको जानकारी दिए।

ताप्लेजुङमा कोरोनाका आशंका गरिएका र क्वारेन्टिनमा रहेका रहेका व्यक्ति र सुरक्षाकर्मीसहित ४० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो।

जनस्वास्थ्य कार्यालयले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ। साउन २० गते कोरोना संक्रमणमुक्त भएको ताप्लेजुङमा साउन २६ गते पुनः संक्रमण देखिएको थियो।

जिल्ला प्रशासन कार्यालयले कोरोना प्रकोपको वैश्विक प्रभावलाई दृष्टिगत गरी पहिलो चरणको लकडाउनमै उच्च सतर्कता अपनाउन शुरु गरेको थियो।

ताप्लेजुङ भौगोलिक रूपमा पनि अत्यन्तै विकट जिल्ला भएकाले चीन र भारतबाट प्रवेश गर्न त्यति सजिलो छैन। यद्यपि, प्रशासनले सीमा क्षेत्रमा अहिले निगरानी गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसा अहिले चीनसँगको टिपताला नाका पूर्णरूपमा बन्द छ। हिउँ परेर चीनसँगको नाका बन्द छ, त्यसमाथि अहिले भारी वर्षा भइरहेका कारण पनि ओहोरदोहोर गर्न सम्भव छैन।

ताप्लेजुङसँगको चिनियाँ नाका अहिले खुल्न सम्भव छैन। ओलाङचुङगोलातिरका नाका प्राकृतिक रूपमै बन्द रहेकाले त्यताबाट कुनै जोखिम छैन। र, तिब्बतमा कोरोना संक्रमण नरहेकाले जोखिम नहुने विश्वास प्रशासनिक निकायको छ।

भारतसँगको सिमानामा पनि त्यति सहज नभएकाले त्यताबाट सर्वसाधारणको प्रवेश सम्भव छैन। प्रायः सिक्किमबाट आउने वा जाने मानिसले च्याङथापु नाका प्रयोग गर्ने भएकाले त्यहाँ सुरक्षा प्रबन्ध भइसकेको प्रशासन कार्यालयले जानकारी दिएको छ।

सिदिङबा गाउँपालिकाको कालिखोलामा हेल्थ डेस्क राखिएको छ। हेल्थ डेस्कमा अहिलेसम्ममा अगन्य संख्यामा सर्वसाधारणको प्रवेश देखिएको छ।

प्रमुख जिल्ला अधिकारी चापागाईका अनुसार विदेशबाट वा अन्य जिल्लाबाट आउनेका लागि कोबेलीमै हेल्थ डेस्क राखिएको छ। उनले प्रकोप भित्रिनै नदिने प्रयत्न आफूहरूको रहेको बताए।

प्रत्येक सवारीसाधनका यात्रुको स्वास्थ्य जाँच भएको उनले बताए। आरडिटी र पिसिआर परीक्षण आवश्यकता अनुसार बढाइने बताउँदै चापागाईले ताप्लेजुङलाई कोरोनाको जोखिमबाट मुक्त राख्न हरसम्भव कोसिस गर्ने प्रष्ट पारेका छन्।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ४ भाद्र २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल