Logo

समाचार

बुवा



बुवा,
साँझ भात खान बस्दा
सधैँ म पहिले खाइसक्थेँ
मैले तपाईलाई जित्नैपर्थ्याे
तपाईंलाई जित्नकै लागि
म भात नथपी उठ्थेँ
पाँच मिनेटपछि जब तपाईं चुठिसकेर
भैँसी दुहुन जानुहुन्थ्यो
म हतार हतार भित्र पसेर
तपाईंको जुठो झर्के थालमा
फेरि भात खान थाल्थेँ
बाल्टीभरि दूध लिएर जब तपाईं
भित्र पस्नुहुन्थ्यो,
म आमासँग बसेर भात खाइरहेको हुन्थेँ
त्यतिबेलाको तपाईंको मुस्कान
मैले बिर्सिएको छैन

म त्योभन्दा पनि सानो छँदा
टाँडे घरको तल्लापट्टिको बरण्डामा
हलुङ्गेको एक जग पानीले आफू चुठिसकेर
मलाई पनि चुठाइदिनुहुन्थ्यो
चुठ्दा तपाईंले कुल्ला गरेको आवाज
मैले जति प्रयास गरेपनि
आजसम्म निकाल्न जानेको छैन
जगबाट पानी पिउँदा
तपाईंले घाँटीबाट निकाल्ने कत्लक् कत्लक् आवाज
मैले आजसम्म निकाल्न सकेको छैन
तपाईंले काँक्रा टोक्दा आउने कड्याम्म आवाज
मैले केही गर्दा निकाल्नै जानिनँ
पुस माघको जाडोमा सिरक खापेर
तपाईंका ताता तीघ्राले
मेरा चिसा खुट्टा च्यापेर सुताएको
मैले बिर्सिएको छैन
२४ इञ्चको साइकलको अगाडिको डण्ठीमा
सानो सिट लगाएर
जहाँ जाँदा पनि तपाईंले सँगै लगेको
मैले बिर्सिएको छैन
म नर्सरी कक्षामा पढ्दा
स्कूल छुट्टी हुने बेला त्यही साइकल लिएर
तपाईं मलाई लिन पुग्नुहुन्थ्यो

एकदिन
स्कूलको चौरीमा हामीलाई लाइन लगाउँदा
हाम्रो लाइन बांगो भयो भनेर
दार्जीलिङतिरबाट आएकी कान्ता मिसले
हामी सबैलाई पिटिन्
मैले पिटाइ खाएको गेट बाहिरबाटै देखेर तपाईंले
हेड सर र ती मिससँग सिंहझैँ गर्जिएको
मैले बिर्सिएको छैन

बुवा,
याद छ तपाईंलाई ?
७–८ वर्षको उमेरमै हलोको अनौ थामेर
म तपाईंलाई खाजा खान पालो दिन्थेँ
हलोको अनौ मेरो टाउकोभन्दा पनि माथि हुन्थ्यो
अनौ थिच्न कहाँ सक्नु !
दुवै हातले समातेर अनौमाथि झुण्डिन्थेँ
ती राँगा कत्ति ज्ञानी थिए
पछाडि म छु भनेर बिस्तारै हिँडिदिन्थे
मैले त्यो उमेरमै जोतेको देखेर
बांगेचोकको ओली जेठाले
आए कान्छा,
तलाई राँगाले हगेर पुर्ला नि भनेको
मैले बिर्सिएको छैन
असारको बेला खेतको आलीबाटै म
परपर पुग्नेगरी
बीउका मुठा हुत्याउँथेँ
हिलोमा नपसी त्यसरी मुठा फ्याल्दा
म कत्ति हौसिन्थेँ
म हौसिएको देखेर तपाईं रमाएको
मैले बिर्सिएको छैन
मेरो कान्छो छोरो
होमवर्क नगरी सुत्दैन भनेर
पाहुनालाई तपाईंले सुनाएको
मैले बिर्सिएको छैन
कान्छो छोरो ठूलो भयो
गाउँ छाडी सहर पस्यो
केही वर्ष सहरमा त बस्यो
तर त्यो सहर बिरानो भयो
अहिले त झन् परदेशी सहरमा छ
घरअगाडिको बाटोमा मेरा साथीहरु हिँडेको देख्दा
मलाई सम्झेर तपाईंको मुटु
चसक्क गर्दो हो।

बुवा,
मलाई ठूलो हुन होइन,
फेरि सानो कान्छो छोरो हुन मन छ
तपाईंको त्यही काखमा त्यसैगरी लुटपुटिँदै
त्यही छातीमा त्यसैगरी निदाउँन मन छ
त्यो छातीमा निदाउन मन छ बुवा
त्यो छातीमा निदाउन मन छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल