![](https://www.asiasanchar.com/wp-content/uploads/2020/08/Balaram-Baniya-Journalist.jpg)
काठमाडौं, २८ साउन – दुई दिनदेखि सम्पर्कमा नरहेका वरिष्ठ पत्रकार बलराम बानियाँको ‘निधन’ भएको छ। बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादकको जिम्मेवारीमा थिए।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बानियाँको शव मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत परियोजना क्षेत्रमा फेला परेको बताएका हुन्। उनको शव हेटौंडा अस्पतालमै राखिएको छ।
सोमबार दिउँसोदेखि सम्पर्कमा नरहेका बानियाँको निधनको खबरले नेपाली पत्रकारिता क्षेत्र स्तब्ध भएको छ। सोमबार अपरान्ह बल्खुचोकमा देखापरेका बानियाँ केही समययता मानसिक समस्यामा थिए।
बल्खुमा प्रहरीको गस्ती टोलीले सोमबार दिउँसो देखेपछि बानियाँलाई सोधपुछ गरेको थियो। त्यसपछि बल्खु खोलाको पुलमुनि गएको बानियाँ बेपत्ता भएका थिए।
एसएसपी थापाले पत्रकार बानियाँको जुत्ता हिलोमा अड्किएपछि खोलामा लडेको बताए। स्थानीयले उद्दार गर्ने प्रयास गरेपनि पानीको बढी भएपछि स्थानीयले बाहिर निकाल्न सकेनन्।
त्यतिबेला बानियाँको पहिचान खुल्न नसकेका प्रहरीको भनाइ छ। पत्रकार बानियाँ एक दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए। बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्।
‘तनाव’मा थिए बानियाँ
पत्रकार बानियाँ केही महिनायता अलि बढी तनावमा थिए। पारिवारिक श्रोतका अनुसार ‘नेपाल–चीन सीमा’सम्बन्धी समाचारका कारण पत्रकार बानियाँलाई कान्तिपुर दैनिकको प्रशासन र सम्पादकीय नेतृत्वले एक महिनाका लागि निष्काशन गरेको थियो।
‘त्यसपछि बलराम दाइ तनावमै हुनुहुन्थ्यो, आज निधनको खबर आयो, हामी स्तब्ध छौं, हामीलाई दुःख लागेको छ, उहाँको निधनको कारण अनुसन्धानबाट खुल्ने नै छ,’ कान्तिपुरका एक पत्रकारले भने।
प्रतिक्रिया