Logo

समाज

कुवेतमा रोजगारी गुमाएका नेपाली श्रमिकको प्रश्न, ‘सरकार! चार्टर्ड फ्लाइट खोई ?’



कोरोना संक्रमणको कारण कुवेत अझै सम्म ५० प्रतिशत लकडाउनमा छ। फेब्रुअरी २१, २०२० हल्ला फेब्रुअरी (कुवेतको राष्ट्रिय दिवस) को सरकारी बिदाबाट शुरु भएको लकडाउन २९ फेब्रुअरी २०२०, बाट आधिकारिक घोषणाको साथ शुरु भएको पनि १ सय ६९औं दिन भइसकेको छ।

कुवेतकै इतिहासमा तेस्रो पटक लागू गरिएको (पूर्ण र आंशिक दुवै गरी) कर्फ्यू पनि आजको दिन सम्म १ सय ३९ औं दिन चल्दैछ। मार्च–१४, २०२० बाट बन्द भएको अन्तर्राष्ट्रिय व्यावसायिक उडान कुवेतले अगष्ट–१, २०२० बाट शुरु गरेपनि नेपालमा अझै व्यावसायिक उडान शुरु नहुँदा कुवेतमा समस्यामा परेर घर फर्किनै पर्ने अवस्थाका नेपाली कामदारहरू अझै अन्यौलताको साथ थप समस्यामा परेका छन्।

कुवेतले व्यावसायिक उडान शुरु नगर्दासम्म महँगै भाडादरमा भए पनि केही चार्टर्ड फ्लाइटमार्फत अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरू फर्किन पाएकोमा विगत १० दिनदेखि त्यही चार्टर्ड उडान पनि रोकिएको छ।

खाडीलगायत अन्य देशमा समस्यामा परेका नेपालीहरूका लागि नेपाल सरकारले चार्टर्ड उडान गरिरहे पनि कुवेतमा चार्टर्ड उडान भर्दै आएको नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा जजिरा एयरले अगष्ट १ तारिखदेखि कुनै पनि उडान भरेका छैनन्।

कुवेतबाट घर फर्किनै पर्ने विभिन्न बाध्यात्मक अवस्थामा रहेका नेपाली श्रमिक दाजुभाइ, दिदीबहिनीहरू यति बेला ‘घर न घाट’का भएका छन्। कम्पनीले निकालेका, लामो समयदेखि काम गर्न नपाएका लगायत धेरैलाई त दैनिक खाद्यान्‍नकै समस्या छ।

नयाँँ चार्टर्ड उडानबारे थप जानकारी आएको छैनः दूताबास

विगत १० दिनदेखि कुवेतका लागि चार्टर्ड उडानहरू किन रोकिएको? भन्ने प्रश्नमा नेपाली राजदूताबास कुवेतकी सूचना अधिकारी तथा द्वितीय सचिव जानकी ओझाले सम्बन्धित निकायसँग कुरा गरिरहेको बताएकी छिन्। ‘नयाँ चार्टर उडानबारे थप जानकारी आएको छैन, हामीसँग कुनै पनि नयाँ जानकारी आएमा हाम्रो फेसबुक पेजमा अपडेट गर्ने छौं,’ ओझाले भनिन्।

घर जानैपर्ने अवस्थामा रहेका नेपालीहरूको नामावली निकालिरहने तर चार्टर उडान समेत रोकिएपछि श्रमिकहरू अझै समस्यामा परेका छन् नि भन्ने प्रश्नमा ओझाले भनिन्, ‘हामीलाई पनि दैनिक अनगिन्ती फोन कल आएका छन्, र हामीले नेपाल सरकार र कुवेत सरकारको सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेका छौं, छिट्टै समाधान हुनेमा आशावादी छौं।’

‘हामी घर न घाटका हुने भयौँ’

५ महिनादेखि कम्पनीले बस्ने सुबिधा मात्र दिएको र कुनै पारिश्रमिक वा खानाको सुबिधा नपाएर घर जाने टिकटको प्रतिक्षामा रहेकी इलामकी निना राई भन्छिन्, ‘हामी सैलुन बन्द भएदेखि नै काम र दाम नपाएर बसेको ५ महिना भयो, जजिराबाट घर जान ऋण गरेरै भएपनि टिकट लिएँ, तर अन्त्यमा उडान नहुने भन्दै पैसा फिर्ता दियो।’

अहिले कुनै उडान नहुने भएपछि त्यही टिकट काट्ने पैसा पनि खानामा सकिने अवस्था आएको राईले बताएकी छिन्। ‘हामी चार जना महिला छौं, अब सैलुन खोल्ने कुनै निश्चित छैन भनेर साहुले घर जा भन्छ, आफैले टिकट लिएर जानेभन्दा पनि टिकट पाइएन, घरको न घाटको पो हुने भइयो,’ उनले भनिन्।

त्यस्तै समस्यामा छिन् झापाकी कमला घले। ‘काम पनि छैन, दाम पनि छैन, बन्द कोठामा बसेको ५ महिना भयो, भिसा सकिएको छ, साहुनीले सकेसम्म छिट्टै जाउ भनेको छ, पहिले दूताबासको घर जाने लिस्टमा नाम थिएन, जान पाइएन अहिले नाम निस्कियो उडान छैन,’ घलेले प्रश्न गर्छिन्, ‘के गर्ने होला?’

अझै एक ठूलै ब्युटिसियन कम्पनीमा फेब्रुअरी पहिलो हप्ता आएकी काठमाण्डौंकी बबिता रानाभाट भन्छिन्, ‘हाम्रो त अझै कुवेतको सिभिल आइडी पनि बनेको छैन, मेडिकल हुँदा हुँदै लकडाउन शुरु भयो, कुवेतमा हामीसँगै आएका ११ जनामध्ये एक जनाको घरमा समस्या भएर एक महिनाअघि घर फर्किनु भयो, हामी १० जना कहिले खुल्ला कुवेत र काम शुरु होला भनेर बसिरहेका छौं।’

कम्पनीले भिसा लगाउन शुरु गरेको जानकारी दिएको रानाभाटले बताइन्। ‘तर, काम कहिलेबाट खुल्छ, केही थाहा छैन, बस्न त दिएको छ, खाना महिनामा ५ किलो चामल र केही दाल तेलबाहेक पाएका छैनौं,’ उनी भन्छिन्, ‘सायद कम्पनीले जाउ भन्ने हो कि?’

यसैगरी, काम गरिरहेको रेस्टुरेन्ट बन्द भएको लामो समय भएपनि फेरि नखोल्ने भनेर साहुले घर जान भनिरहेको सुनाउँदै दोलखाका सुमन कार्कीले अहिलेसम्म चाहिँ बस्ने ठाउँ कम्पनीले नै दिएको बताए।

‘अब अगस्ट २५ भित्र त्यो ठाउँबाट निस्की भनेको छ साहुले, फ्लाइट छैन,’ उनी थप्छन्, ‘दुई पटक त राहत लियौं, अब कसलाई मागेर खाने होला?, पहिलो पटक विदेश आएको एक वर्षमै फर्किनु पर्ने भयो, अझै कसरी फर्किने भन्ने नै अन्यौल छ,’ उनी थप्छन्, ‘पहिले त हरिसले दुई दिन बत्तीपानी काटी दियो अहिले त दिएको छ, हामी तीन जनाको झन बिजोग हुने भयो।’

माथिका घटनाहरू केही प्रतिनिधि घटना मात्र हुन्। तर, नेपाल सरकारले भदौ १ बाट नियमित उडान शुरु गर्ने भनिए पनि नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको कारण देखिअरु १५ दिन उडान नगर्ने बताइरहेको अवस्थामा कुवेतमा तत्काल हप्तामा २–३ वटा चार्टर्ड फ्लाइटको व्यवस्था नगर्ने हो भने धेरै नेपाली श्रमिकहरू अझ थप समस्यामा पर्ने देखिएको छ।

आशा गरौं, नेपाली राजदूताबास कुवेत र नेपाल सरकारका सम्बन्धित निकायहरूले कुवेतमा रहेका र घर फर्किनै पर्ने अवस्थाका नेपाली श्रमिकहरूलाई सहज रुपमा छिट्टै फर्काउन चार्टर उडानको व्यवस्थापन गर्ने छ।

(माथि उल्लेखित केही पीडितहरूको नाम ठेगाना उनीहरूको आग्रहमा परिवर्तन गरिएको छ।)

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल