Logo

विचार

सम्भव छ नेपाली कांग्रेसको समग्र रुपान्तरण



राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात गर्दै अगाडि बढेको पार्टी नेपाली कांग्रेस नेपालको भौगोलिक, राजनीति एवं सामाजिक बनावटका आधारमा नेपालकै भूगोलमा स्थापना गरिएको पार्टी हो। तर, त्यही मूल मन्त्रलाई धराशायी बनाउँदै पार्टी मुलधारबाट बाहिरिएर अगाडि बढ्न खोज्दा पार्टीका निर्वाचनहरुमा नराम्रो पराजय भोग्नु परेको छ। शुभेच्छुकहरूमा चिन्ता छाउने गरेको छ।

राष्ट्रियताको सवालमा जननायक बीपी कोइरालाले भारतीय विस्तारवादलाई चुनौती दिँदै नेपाल फर्किए लगतै राष्ट्रका हित र भारतीयहरूका विरुद्धमा कदम चालेका थिए। तर, आज त्यही पार्टीको बागडोर सम्हाल्नेहरूमा प्रष्ट दृष्टिकोण देखिँदैन। कम्युनिष्टहरूको खोक्रो राष्ट्रवाद र अर्नगल प्रचारलाई चिर्न नसक्दा पार्टीले भारतमुखी भएको आरोप खेप्नु परेको छ। हिजो मुलुकलाई उदारवाद र खुल्ला अर्थतन्त्रको दिशामा लगेकै कारण आज निजी क्षेत्र यसरी फस्टाउन सकेको छ। तर, सर्वसाधारण जनतामा सरकारी स्वामित्वका संस्थाहरु बेचेर रोजगारी खोसेको, मुलुकको अर्थतन्त्र धराशायी बनाएकोजस्ता नारा दिएर कम्युनिष्टहरुले फाइदा उठाएका छन्।

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थानविन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। वामगठबन्धन अध्याधिक सिट जितेपछि लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको कांग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको थियो। निकै कठिन अवस्थामा निर्वाचन सम्पन्न गरेर शेरबहादुर देउवाको सरकारले कांग्रेसले फेरि एकपटक आफू हारेर देश जिताएको छ। नेपालको हरेक राजनीतिक संक्रमणको साक्षी बस्दै त्यसको समाधानको लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली का‌ंग्रेसले सरकारको नेतृत्व गरेर देशको सविधान कार्यान्वयनको प्रवेशद्वारलाई सफल बनाएको छ।

पहिलो र मुख्य कारण नेपालको राजनीतिमा रहेको मुख्य तीन शक्ति कांग्रेस, एमाले र माओवादीमध्ये दुई शक्ति एकातिर हुँदा अर्को पक्ष निकै कमजोर हुन्छ नै। निर्वाचनको परिणाम आएका सबैजसो स्थानमा प्रतिद्वन्द्वी नेपाली कांग्रेस नै देखिएको छ। धेरै ठाउँमा हार्दाको मतान्तर पनि निकै कम छन्। अर्कोतर्फ तराईमा उमेरको केही दल जसले दुई वाम एकठाउँमा हुँदा पनि लोकतन्त्रवादी शक्तिलाई सहयोग गरेनन्। र, आ–आफै लड्दा उनीहरुले आफ्नो बलियोपना गुमाएका छन्। कम्युनिष्टहरुलाई साथ लिएर गठन भएका सरकारहरूले गरेका कतिपय निर्णयहरुको अपजस जति सबै कांग्रेसको थाप्लोमा आयो जस जति एमाले र माओवादीले लिन सके। कांग्रेसले दोष लागेका कुरामा आफ्नो प्रस्ट दृष्टिकोण जनतासम्म लैजान सकेन।

कांग्रेसले जनताबीच प्रष्ट पार्न नसकेको विषय भारतीय नाकाबन्दी हो। त्यतिबेला भारतले नेपालमा नाकाबन्दी लगाउँदा नेपाली कांग्रेस कूटनीतिक समाधान निकाल्न चाहन्थ्यो। किनभने संसारमा एक देश र अर्को देशबीचको समस्या समाधान गर्ने कूटनीतिक पहलबाटै हो। तर, एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दी नै कांग्रेसले लगाएजस्तो गरी त्यसको दोष कांग्रेसको टाउकोमा थुपार्‍यो। ओलीले नक्कली राष्ट्रवादको शैली अपनाएर कांग्रेस गैरराष्ट्रवादी बनाउने प्रापोगण्डा जनताका माँझ विकाउ बन्न पुग्यो। कांग्रेसले त्यसलाई कूटनीतिक समाधानका लागि गरेको प्रयास जनता सामु लैजान सकेन। नेपाली कांग्रेसले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियाग लगाउने प्रयासदेखि निर्वाचनमा माओवादीलाई बढी महत्त्व दिएर समीकरण गर्दा धेरै नोक्सानी भोग्नुपर्‍यो। जसरी कांग्रेसले निर्वाचन जित्न अरुको सहारा लिन थाल्यो, त्यसपछि लोकतन्त्र पक्षधरहरू चिन्तित हुँदै गएर लोकतान्त्रिक धार समातेको एमालेमा मतदान गर्न पुगे।

भन्ने बेलामा २०४६ सालपछि कांग्रेस अधिकांश समय सत्तामा रहेको र अधिकांश नेता, मन्त्रीहरू भ्रष्टाचारमा लुप्त भएको भन्ने आरोप लगाइन्छ। तर, वास्तविकता फरक छ। सरकारको नेतृत्व कांग्रेसले गरेपनि सत्तामा एमाले, माओवादीको रजगज धेरै अवधि छ। भ्रष्टाचारमा कांग्रेसको पालामा भन्दा कम्युनिष्टको समयमा अधिक छ। यहाँसम्म कि वर्तमान ओली सरकारले कोरोनाको समेयमा समेत जनताको स्वास्थ्यलाई वेवास्ता गरी अर्बौं रुपैयाँ खुल्लमखुल्ला भ्रष्टाचार भएको छ। हिजो कांग्रेसले आफै सरकारमा हुँदा पनि आफ्नै पार्टीका नेताहरूलाई पनि भ्रष्टाचारको आरोपमा कारबाही गरेको थियो। अहिले भ्रष्टाचार संस्थागत र पार्टीको संरक्षणमा भएको छ।

सुधारको सम्भावना

असफलता नै सफलताको सिँढी भनेझैं कांग्रेसले अब हिजोको कमीकमजोरीबाट पाठ सिक्दै २१औं शताब्दी हाँक्ने पार्टीको विकास निर्माण गर्नुपर्ने छ।बुढाहरूको पार्टी भन्ने आरोप लाग्दै आएको कांग्रेस पार्टीमा विस्तारै युवा जमातको बाहुल्य बढ्दैछ। नयाँ पुस्तामा नेतृत्व गर्नसक्ने क्षमताको विकास भएको छ। अझै बुढा नेताहरुले पार्टीलाई हिजोको वपौती ठानिरहेकाले आगामी अधिवेशनमा नयाँ पुस्ताले नेतृत्व हाक्ने अवसर दिनुपर्छ।

पार्टीभित्रको गुटगत राजनीतिलाई सञ्चारमाध्यममा छरपष्ट गर्ने प्रवृत्तिले जनतामा निराशा बढाएको छ। नेकपाभित्र केही समयदेखि देखिएको रडाको चरम विन्दुमा पुग्दा पनि बाहिर जनताका अगाडि पार्टीकै पक्षमा हरेक नेताहरु प्रस्तुत हुने गरेका छन्। पार्टीभित्रका आन्तरिक कुराहरूलाई सञ्चारमाध्यममा ल्याउदा सबैलाई खल्लोपना सिर्जित हुन्छ नै। अन्य पार्टीका नेता कार्यकर्तालाई भित्र्याइरहँदा खुशी हुनुपर्नेमा अनेक बखाडा झिकेर पार्टीभित्र ठूलै विवाद रहेकोजस्तो अभ्यास प्रदर्शन गर्नुले आगन्तुकहरुलाई उत्साह आउन सक्दैन।

विभिन्न कालखण्डमा कांग्रेसले गरेको गल्ती र कमीकमजोरीलाई नेपाली जनताले विचाराधीन अवस्थामा थाती राख्दै कांग्रेसलाई विश्वास गरी लाखौलाख नेपाली जनताले कांग्रेसलाई नै भोट दिएर विजय गराउँदै आइरहेका छन्। कुनै निर्वाचनमा अन्य पार्टीलाई बढी मत दिएपनि नेपाली जनताको आस्था र विश्वास कांग्रेसमै रहेको छ। मात्र कांग्रेसले त्यसलाई समेट्न सक्नुपर्छ।

नाकाबन्दीको समय र पछिल्लो समयमा वाम एकताको हौवाले केपी ओलीको राष्ट्रवादी चरित्र पनि अब उदाङ्गो भएको छ। नेकपा विभाजनको संघारमा छ। केपी ओलीको खोक्रो राष्ट्रवादको पछाडि जनता सत्य तथ्य नबुझिकनै लाग्नुले पनि कांग्रेसलाई पछिल्लो चुनावमा असर परेको भएपनि अब जनताले वास्तविकता बुझिसकेका छन्। तर, जनतालाई यसबारेमा बारम्बार सम्झाइरहनु पर्छ। यतिबेला भनेको कांग्रेस आन्तरिक कलहमा नलागी एकढिक्का भएर अगाडि बढ्ने समय आएको छ। नेपाली जनताको भावना, राष्ट्र र राष्ट्रियताको हितमा लागेर अगाडि बढ्न सके भविष्य सुनौलो छ।

(धिताल नेपाली कांग्रेसका नेता हुन्।)

कसरी भयो नवजात शिशुमाथि यत्रो षड्यन्त्र ? को हुन् शिशुकी आमा ?

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल