Logo

समाचार

साउदी अरबमा सक्रिय नेपाली पत्रकार श्रेष्ठको निधन



हरिकृष्ण न्यौपाने (जीएनएन), कुवेत, १३ साउन – कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका–८, स्याङ्जा घर भई साउदीअरबमा लामो समयदेखि कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ।

एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदीअरबको दमाम सेन्ट्रल अस्पतालमा आइतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भइरहेको थियो।

लामो समयदेखि श्रेष्ठसँग नजिकै रहेर धेरै सामाजिक कार्यहरूमा हातेमालो गर्दै आएका गैरआवासीय नेपाली संघ मध्यपूर्वका सहसंयोजक राजेन्द्र अर्यालले श्रेष्ठको निधनले साउदीअरबमा रहेका सम्पूर्ण नेपाली समुदाय स्तब्ध भएको बताए।

‘उहाँको पहलमा नेपालअरब डटकमले पछिल्लो समयमा साउदी अरब तथा मध्य पूर्व अनि विश्वभरका गतिविधिहरूलाई समेटदै आएको थियो,’ अर्यालले भने, ‘श्रेष्ठको अकल्पनीय निधनले वैदेशिक रोजगारीमा रहेर श्रम गर्दै बचेको समय नेपाली पत्रकारितामा खर्चिने अनि श्रमिकहरूको आवाज सम्बन्धित ठाउँमा पुर्‍याउने एक असल व्यक्तित्व हामीले गुमाउन पुग्यौं।’

श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि मात्र साउदी आइ पुगेका थिए। उनी पत्रकारिताका साथै स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थाहरूमा पनि सक्रिय थिए।

श्रीमतीसहित साउदीमा बस्दै आएका रोशन बिदामा घर आएपछि श्रीमतीलाई काठमाडौं नै छोडेर साउदी फर्किएका थिए। श्रेष्ठका श्रीमती, आमा र एक भाइ छन्।

अहिलेसम्म संसारभरि कोरोना संक्रमणका कारण १ सय ८० भन्दा बढी पत्रकारहरूको ज्यान गइसकेको छ। जसमध्ये बंगलादेशमा १४ जना, भारतमा १३ जना र पाकिस्तान तथा अफगानिस्तानमा ७–७ जनाको ज्यान गएको विभिन्न संस्थाहरूले उल्लेख गरेका छन्।

प्रकाशित : १३ श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल