Logo

समाचार

पोर्चुगलको राजधानीमा १०औं हजार सर्वसाधारणलाई निःशुल्क खाना खुवाउने नेपाली व्यवसायी



लिस्बन, ३ साउन – पिज्जा बनाउन प्रयोग गर्ने टेबुलको अगाडि लेखिएको छ, ‘हामी एक्लै संसार बदल्न त सक्दैनौं। तर, संसार बदल्न सहयोग गर्न सक्छौं।’ त्यसकाे छेउमा आफ्‍नाे टिमसहित सर्वसाधारणकाे सेवा गर्दै भेटिन्छन् नेपाली व्यवसायी टंक सापकोटा।

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण अधिकांश मानिसहरू घरभित्रै लकडाउनमा बसिरहेका बेला पोर्चुगलका नेपाली व्यवसायी टंक सापकोटाले राजधानी लिस्बनका करिब १० हजारभन्दा धेरै सूचीकृत न्यून आय भएका परिवारका सदस्यहरूलाई निःशुल्क खाना खुवाएका छन्।

यो अभियानलाई सफल पार्न सापकोटाकी श्रीमती सीता सापकोटासँगै परिवारका अन्य सदस्य तथा पोर्चुगलकै अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा लगायत १५ जनाको टोली अहोरात्र खटेको थियो।

प्रत्येक वडामा पुगेर खाना तयार पारेपछि सो खाना लक्षित घर परिवारसम्म पुराउने कामको व्यवस्थापन सम्बन्धित वडा कार्यालयले नै गरेको थियो। नागरिकको घरसम्म खाना पुर्‍याउने वडाको अभियानलाई विभिन्‍न स्वयंसेवी संघसंस्था तथा व्यक्तिले पनि स्वतस्फूर्त रुपमा सहयोग गरेक थिए।

वडा कार्यालयसँगको समन्वयमा हरेक दिन लिस्बनका भिन्न–भिन्न वडामा पुगेर खाना तयार पार्ने र पिज्जा बनाउन प्रयोग गरिने सामग्री तथा अँगेनो (फोर्ने) लाई हरेक दिन गाडीमा राखेर वडाले तोकिदिएको स्थानमा लगेर राख्ने गरिएको अभियानका सञ्‍चालक टंक सापकोटाले बताए।

यो अभियानकै लागि भनेर सापकोटाले करिब ३५ लाख नेपाली रुपैयाँ बराबरको पिज्जा बनाउने घुम्ती अँगेनो (फोर्नो) किनेर प्रयोगमा ल्याएका छन्।

सापकोटाले सञ्‍चालन गरेको ‘फोर्ने दिओरो’ रेस्टुरेन्टले बनाउने पिज्जा विश्वकै उत्कृष्ट पिज्जाको सूचीमा सूचीकृत समेत भइसकेको छ। अहिले लिस्बनका निम्न आय भएका नागरिकका लागि वितरण गरिएको पिज्जा पनि रेस्टुरेन्टमै उपलब्ध हुने स्वाद र गुणस्तरको रहेको छ।

पछिल्लो समयमा पोर्चुगलमा देखिएका संक्रमितमध्ये अधिकांश राजधानी लिस्बनकै भएपनि यस्तो जोखिमपूर्ण अवस्थामा अभियान चलाएर समाजका लागि केही योगदान गर्नसकिन्छ भन्ने उदाहरण पनि उनले देखाएका छन्।

लिस्बन नगरपालिका भित्रका विभिन्न वडामा ‘घुम्ती पिज्जा रेस्टुरेन्ट’ सञ्चालन गरेका सापकोटाको सो अभियानले पोर्चुगलका सञ्चारमाध्यमको समेत ध्यान खिचेको छ।

‘कोरोना संक्रमणका बेला सम्बन्धित वडाले तयार पारेका न्यूनआय भएका मजदुरहरूको सूचीलाई नै आधार बनाएर हामीले उनीहरूलाई बेलुकाको खाना अर्थात् पिज्जा र जुस वितरण गर्‍यौ‌ं, लिस्बनमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिइरहेका बेला आवश्यक सबै सुरक्षा सावधानी अपनाएर हामीले अभियान सञ्चालन गरेका हौं,’ आफ्नो अभियानबारे सापकोटाले भने।

अभियानको संयोजन गरिरहेको लिस्बन नगरपालिकाले सापकोटाको यो अभियानको प्रशंसा गरेको छ। नगरपालिका अन्तर्गतको सामाजिक उत्तरदायित्व विभाग हेर्ने लिस्बनका उपमेयर कार्लोस कास्ट्रोलगायतको टोली पनि हरेक दिन पिज्जा बनाइएको स्थानमा पुगेर सापकोटा नेतृत्वको टोलीले गरिरहेको कामलाई अनुगमन गरेका थिए।

उपमेयर कार्लोसले बहुसांस्कृतिक, बहुभाषिक मानिसहरूको बसोबास रहेका लिस्बनभित्र यो कठिन अवस्थामा एकजना नेपाली व्यवसायीले शुरु गरेको सामाजिक अभियानबाट सिंगो नगरपालिका हर्षित भएको बताए।

‘हामीले नगरपालिकाको तर्फबाट नागरिकहरूका लागि आवश्यक प्रबन्ध त मिलाएकै छौं, तर एउटा व्यक्तिले मात्रै चाह्यो भने पनि समाजका लागि धेरै गर्न सक्छ भन्ने यो एउटा अद्भूत उदाहरण हो,’ कार्लोसले भने।

साढे २ दशकदेखि राजधानी लिस्बनलाई कर्मथलो बनाएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका सापकोटाले ‘हामी एक्लैले संसारै बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नका लागि समाजसेवाको यो अभियान अघि बढाएको बताए।

८ हजारभन्दा बढी नागरिकलाई रेस्टुरेन्टमै पाइने गुणस्तर र स्वादको पिज्जा खुवाउँदा कति खर्च हुन्छ त भन्ने जिज्ञासामा सापकोटाले भने, ‘खर्चको हिसावले यो निक्कै खर्चिलो र अहिलेको अवस्थामा जोखिमपूर्ण काम हो, तर यहाँ खर्चभन्दा पनि समाजप्रतिको उत्तरदायित्व महत्त्वपूर्ण विषय हो, त्यही काम मैले गरेको हुँ।’

गत जुन १६ तारिखबाट शुरु भएको यो अभियान जुलाई १६ तारिखका सम्पन्न भएको छ। पोर्चुगलमा ४ वटा रेस्टुरेन्ट सञ्चालनमा ल्याएका (फोर्नो दोरो, कोमे प्रिमा, काजा नेपालेसा, इल मेर्कातो) व्यवसायी सापकोटाले विगतमा पनि आफ्ना रेस्टुरेन्टहरूका माध्यमबाट नेपाललगायत विभिन्न देशहरूका नागरिकलाई सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइसकेका छन्।

बाग्लुङ जिल्ला अन्तर्गत साविकको दमेकमा जन्मिएका व्यवसायी सापकोटाले नेपालका पनि एक दर्जनभन्दा बढी स्थानमाआफू र आफ्ना बयोवृद्ध पिताको माध्यमबाट समाजसेवामा वर्षेनी लाखौं रकम खर्च गर्दै आइरहेका छन्।

क्यानडाको जीवनशैली र सुबिधा सम्पन्न जागिर छोडेर किन आए नेपाल?

प्रकाशित : ३ श्रावण २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल