Logo

पत्र-पत्रिका

संविधान सर्वस्वीकार्य बनाउनुपर्छः कांग्रेस युवा नेता पन्त



काठमाडौं, १ असार – नेपाली कांग्रेसका युवा नेता तथा राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संविधानलाई सर्वस्वीकार्य बनाउनु पर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै पन्तले आवश्यक परिमार्जन गरी संविधानलाई सर्वस्वीकार्य बनाउन माग गरेका हुन्।

‘संविधान पूर्ण कार्यान्वयन भएको छैन, मौलिक हकका विधेयकहरू हतार–हतारमा आएपनि त्यसका नियमावली नबन्दा कार्यान्वयनमा निकै समस्या भएको छ,’ नेता पन्तले भने, ‘संविधानलाई सबैको सर्वस्वीकार्य बनाउन आवश्यक छ।’

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका विषयमा पनि समस्या रहेको टिप्पणी गर्दै पन्तले अधिकार क्षेत्रका विषयमा ऐनहरू बन्न बाँकी रहेको विषयमा ध्यानाकर्षण गराएका छन्।

स्थानीय तहलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराउँदै युवा नेता पन्तले कोरोना भाइरसको महामारी बढ्दै जाँदा संसद चल्न नसक्ने अवस्थामा कसरी जाने भन्ने विषयमा कार्ययोजना पेश गर्न माग गरे।

यसका लागि छुट्टै समिति बनाएर काम गर्न सकिने नेता पन्तको तर्क छ। ‘सरकारलाई सघाउने र निर्देशन दिने सम्बन्धमा त्यो महत्त्वपूर्ण हुन सक्छ,’ पन्तले भने।

मेलम्ची खानेपानी आयोजनाको विषयमा प्रश्न उठाउँदै तत्काल सबै नागरिकलाई खानेपानीको उपलब्धता सुनिश्चित गर्न नेता पन्तले सरकारसँग माग गरेका छन्।

त्यसैगरी, राष्ट्रियसभा सदस्य पन्तले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका मस्यौदा लेखन गर्ने कर्मचारीलाई विशेष तालिमको व्यवस्था गर्न माग गरे।

कोरोना प्रकोपबाट उत्पन्न परिस्थिति र युवालाई रोजगारी दिनका लागि कृषिसहित सम्भाव्य क्षेत्रको अध्ययन गरी कार्यक्रम निर्माण गर्न पन्तले माग गरेका छन्।

यो पनि हेर्नुहोस्

प्रकाशित : १ असार २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल