![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/pradeep-gyawali-ram-prasad-sapkota-ramesh-paudel-ranjeet-tamang-ain-mahar-1.jpg)
काठमाडौं, २८ वैशाख – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र राष्ट्रिय युवा संघ नेपालले नेपालसँगका अन्तर्राष्ट्रिय सीमानालाई व्यवस्थित गर्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्ने बताएका छन्।
सत्तारुढ नेकपाका भ्रातृ संगठन अनेरास्ववियू र युवा संघका शीर्ष नेताहरूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सीमानाको सुरक्षाका लागि काँडेतार लगाउन र सुरक्षा फौज राख्न माग गरेका हुन्।
सीमानाको विषयमा पटक–पटक उत्पन्न समस्या र अतिक्रमणको दीर्घकालीन समाधान गर्नका लागि उच्च राजनीतिक तहमा संवाद गर्न अनेरास्ववियू र युवा संघले माग गरेको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिएका छन्।
सरकारलाई निर्णायक पहल गर्न आग्रह गरिएको जानकारी महरले दिए। अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपालले २०७६ मंसिर महिनामा भारतले नेपाली भूमिसमेत समेटेर सार्वजनिक गरेको नक्सा खारेजी गर्न माग गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटाले वैशाख २६ गते भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकको सञ्चालनमै रोक्न लगाउन माग गरिएको जानकारी दिए।
दुवै संगठनले अतिक्रमण गरी निर्मित सडक सञ्चालनमा रोक लगाउनुका साथै तत्काल कूटनीतिक संवादमार्फत भारत र चीनसँग सीमाक्षेत्रको अतिक्रमण अन्त्य गरी कदमअघि बढाउन आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले ज्ञापनपत्र बुझेपछि सीमा समस्या समाधान गर्न सरकारले सम्पूर्ण कूटनीतिक पहल शुरू गरिसकेको जानकारी दिएका छन्।
ज्ञापनपत्रमा राष्ट्रिय युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा (दिपशीखा) र सहसंयोजक रमेश पौडेल तथा अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जीत तामाङले हस्ताक्षर गरेका छन्।
![](https://i0.wp.com/www.asiasanchar.com/wp-content/uploads/2020/05/pradeep-gyawali-ram-prasad-sapkota-ramesh-paudel-ranjeet-tamang-ain-mahar1.jpg?fit=720%2C897)
हेर्नुहाेस्: सहकारी आन्दोलनमा बिपी कोइराला र मदन भण्डारीको योगदान के थियो?
प्रतिक्रिया