‘अब भोजन अभियानको मोडालिटी परिवर्तन गर्छौं’
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai-asia-sanchar.jpg)
काठमाडौं, २४ वैशाख – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० नम्वर वडा समितिले वैशाख ७ गतेदेखि विपन्न तथा असहायलाई एक छाक भोजन उपलब्ध गराउँदै आएको छ।
मुलुकमा लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने वर्गले काम नपाएर खान नसक्ने अवस्था उत्पन्न भएपछि वडा समितिको वैशाख ६ गते बसेको बैठकले लकडाउन अवधिभर असहाय, विपन्न र श्रमिक वर्गलाई ७ गतेबाट खाना खुवाउने निर्णय गरी काम सुरू गरेको वडाअध्यक्ष नवराज भट्टराईले बताए।
वडाअध्यक्ष भट्टराईको संयोजकत्वमा ४ सदस्यीय आर्थिक समिति र ध्रुवराज नेपालको संयोजकत्वमा खाना व्यवस्थापन समिति गठन गरी खाना बनाएर खुवाउन सुरू गरिएको व्यपस्थापन समितिका संयोजक नेपालले बताए।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai.jpg)
अध्यक्ष नेपालको संयोजकत्वमा गठित चार सदस्यीय आर्थिक समितिमा नेकपा वडा समितिका अध्यक्ष जगतप्रसाद निरौला, नेपाली कांग्रेसका वडा समिति अध्यक्ष श्याम डोटेल र वडा सचिव नविन्द्र तामाङ सदस्य रहेका छन्।
त्यसैगरी, ध्रुवराज नेपालको संयोजकत्वमा गठित खाना व्यवस्थापन समितिमा सहसंयोजक रामप्रसाद लुइँटेल र सदस्यहरुमा रामजी थपलिया, चन्द्रमान श्रेष्ठ र भेषराज डोटेल रहेका छन्।
खाना व्यवस्थापन समिति अन्तर्गत रहेर दैनिक तीस जना स्वयंसेवकले कपनको मिलनचोकस्थित मिलनचोक पार्टिभेन्युमा खाना बनाउने, प्याकिङ गर्नेदेखि वितरणसम्मका काम गरिरहेको स्वयंसेवक मुकुन्द सेढाईंले बताए।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai1.jpg)
उनले भने, ‘यो संख्या त मिलनचोकको मात्र हो, मिलनचोक लगायत वडाका दश स्थानबाट खाना वितरण भइरहेको छ, मिलनचोक बाहिर बालुवाखानी, निखिलेश्वर, आकाशेधारा, पेट्रोलपम्प, ज्योतिनगर, गौरीशंकर टोल, गैह्रिगाउँ, विवेक चोक र सालतलेबाट दैनिक १ हजार ८ सयदेखि १ हजार ९ सय जनासम्मलाई खानाको प्याकेट वितरण हुँदै आएको छ।’
वैशाख ७ गतेबाट खाना खुवाउन सुरू गर्दा समितिका सदस्यहरुलाई यति धेरै संख्यामा खाना खुवाउनु पर्ला भन्ने अनुमान समेत नभएको व्यवस्थापन समितिका संयोजक ध्रुवराज नेपालले बताए।
‘वैशाख ७ गते जम्मा चार सय प्याकेट खाना वितरण गरिएको थियो, तर ८ गते सात सय, ९ गते ९ सय, १० गते १ हजार ५० प्याकेट गर्दै १ हजार ९ सय र वैशाख २३ गते आइपुग्दा २ हजारभन्दा बढीको संख्यालाई खाना व्यवस्थापन गरिरहेका छौं, यहाँसम्म कि समितिका सदस्य रामजी थपलियाले समेत २० हजार रुपैयाँ दिनुभएको छ,’ नेपालले भने।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai3.jpg)
रामजी थपलिया र श्रीमति रीता थपलियाले समितिमा बाहेक व्यक्तिगत रुपमा थप १४ जना विपन्न एवं असहायलाई १४ हजार बराबरको खाद्य सामग्री वितरण गरेको रीता थपलियाले बताइन्।
लकडाउन यसरी लम्बिएला भन्ने अनुमान नगरिएको बताउँदै वडाअध्यक्ष नवराज भट्टराईले भने, ‘पहिले त हामीले नगरपालिकाबाट खाद्य सामग्री वितरण गर्यौं, त्यसपछि मात्र आफैले खाना खुवाउन थालेका हौं।’
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai4.jpg)
बुधबारसम्म खाना खुवाउने अभियानका लागि स्थानीय समाजसेवी, संघसंस्था, व्यापारी, महिला समूह, सहकारी संस्था लगायत प्राइभेट सेक्टरबाट दिल खोलेर सहयोग मिलेको भट्टराईले बताए।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai13.jpg)
यस काममा नगरपालिका वा सरकारको तर्फबाट कुनै रकम खर्च नभएको उनले बताए। ‘तर, लकडाउन थप १० दिन लम्बिएको अवस्था छ, त्यसैले अब हामीले राहतको नयाँ मोडालिटी खोज्नुपर्छ, भोजन वितरण गर्ने मोडालिटीलाई निरन्तरता दिन निकै नै कठिन देखिएको छ, आर्थिक अभाव सुरू भइसकेको छ,’ उनले भने।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai7.jpg)
वैशाख २४ गतेसम्म खाना खुवाउने अभियानका लागि दाताहरूबाट ११ लाख ४५ हजार ८ सय ८६ रुपैयाँ प्राप्त भएको भट्टराईले बताए।
‘वास्तवमै हामी अत्यन्तै भाग्यमानी रहेछौं, दाताहरूको सहयोगका कारणले नै हामीले दिन दुःखी, विपन्न, असहाय र श्रमिकहरुलाई खाना खुवाउन सक्यौं,’ अध्यक्ष भट्टराईले भने।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai8.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai9.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai10.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai11.jpg)
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/05/budhanilakanda-municipality-nawaraj-bhattarai12.jpg)
प्रतिक्रिया