Logo

विश्व

स्पेनमा ४ नेपालीलाई कोरोना संक्रमण, छुट्टाछुट्टै अस्पतालमा उपचार, डिटेल्‍स लिँदैछौं: राजदूत



स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण भेटिएको छ। क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ।

बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक जना नेपालीको सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ। अन्य ३ जना हस्पितालेद क्षेत्रका हुन्। उनीहरु त्यहाँस्थित अस्पतालमा भर्ना भएका छन्।

संक्रमित व्यक्तिहरुको विवरण गोप्य राखिएको छ। स्रोतका अनुसार चारै जना संक्रमितहरु पुरुष हुन्। तीन जनाको अवस्था सामान्य रहेपनि एक जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको सूचना दूतावासलाई प्राप्त भएको बताइन्। राजदूत शेर्पाले भनिन्, ‘बार्सिलोनामा बस्दै आएका केही नेपालीहरुमा कोभिड–१९ संक्रमण भेटिएको सूचना आएको छ। संक्रमितहरुको सम्पूर्ण डिटेल दूतावासबाट खोज्ने प्रयास भइरहेको छ।’

उनले संक्रमित व्यक्तिहरु र परिवारलाई दूतावासको सम्पर्कमा आउन अनुरोध समेत गरिन्। उपचार लगायत भइपरी आउने प्रक्रियामा दूतावासबाट पूर्ण सहयोग रहने राजदूत शेर्पाले बताइन्।

तर संक्रमित र उनका परिवारले घटनालाई बाहिर नल्याउन नेपाली समुदायका अगुवाहरुलाई अनुरोध गरेका छन्। स्रोतका अनुसार पहिलो संक्रमितको एक हप्ता पहिले नै पोजेटिभ पाइएको थियो। अन्य तीन जनाको भने हालै रिपोर्ट आएको हो। तर यो घटना अझै पनि नेपाली समुदायमा गुपचुप नै छ।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष इन्द्रप्रसाद शर्माले परिवारहरुको अनुरोधमा नै घटना बाहिर सार्बजनिक नभएको बताए।

‘भनौं भने पनि किन भनिस् भन्ने वा नभनौं भने पनि किन बाहिर आएन भन्ने अवस्था सृजना भएको छ, तर संक्रमित व्यक्तिहरु जो–जोसँग सम्पर्क वा नजिक भएका थिए ती साथीहरुलाई खबर गरेर अस्पतालमा चेकजाँच गर्न सुझाव दिएका छौ,’ उनले भने।

एनआरएनए आईसीसी सदस्य चिन्तामणि सापकोटाले चार जना संक्रमितहरु क्याटालोनिया क्षेत्रमा नै रहेकाले नेपाली समुदायलाई सजग रहन अनुरोध गरे।

आईसीयूमा उपचार गराईरहेका एक नेपालीको प्रत्येक २४ घण्टामा अस्पतालबाट परिवारलाई सूचना प्राप्त भईरहेको उनले जानकारी दिए। उनको स्वास्थ्यमा समेत क्रमिक सुधार हुँदै गएको छ। अन्य संक्रमितहरु भने परिवारको सम्पर्कमा नै रहेका छन्।

स्रोतका अनुसार संक्रमितहरु तीन छुट्टाछुट्टै परिवारका हुन्। उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि परिवारका अन्य सदस्यहरु पनि चेकजांच गर्न अस्पताल पुगेका थिए।

तर हालसम्म कसैलाईपनि संक्रमण देखिएको छैन। एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ देउकाजीले घटनाबारे सम्पूर्ण जानकारी छिट्टै ल्याउने बताएका छन्।

‘संक्रमित हुँदैमा आत्तिनु पर्ने अवस्था छैन। राजदूतावास, एनआरएनए र संघसंस्थाहरुले सहकार्य गरेर नै अहिलेको परिस्थितिलाई सामना गर्ने छौँ,’ गुरुङले भने।

स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेका छन्। क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बसोबास रहेको ठानिएको छ।

आफूलाई लागेको संक्रमण गोप्य राख्न खोजेको पछिल्लो अवस्थालाई हेर्दा स्पेनमा थप नेपालीहरु पनि संक्रमित भएको हुनसक्ने आशंका गरिएको छ।

गत मार्च १४ देखि पूरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन। देशभर हालसम्म संक्रमितको संख्या ६० हजार पुगिसकेको छ। बिहीबारसम्म ४ हजार बढीको मृत्यु भइसकेको छ। देशभरको अवस्था निकै भयावह छ।

प्रकाशित : १४ चैत्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल