Logo

राजनीति

कोरोनाको मनोवैज्ञानिक त्रास हटाउन र कालोबजारी नियन्त्रण गर्न डा. संग्रौलाको माग



‘सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन होस्’

काठमाडौं, ६ चैत – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. डिला संग्रौलाले कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेकी छिन्।

नेतृ संग्रौलाले सरकारका तर्फबाट भएका निर्णयको कार्यान्वयन प्रक्रिया तत्काल थाल्न पनि माग गरेकी छिन्। ‘सरकारले निर्णय गरेको छ, तर कार्यान्वयन प्रक्रिया प्रभावकारी अझै शुरू भएन, तत्कालै यो कार्य प्रारम्भ होस्,’ उनले भनिन्।

अन्तर्राष्ट्रिय उडान र नाकाहरूमार्फत नेपाल आउने नागरिक र विदेशी पर्यटकहरूको स्वास्थ्य परीक्षणमा उच्चस्तरीय प्रविधि र आशंका लागेमा तत्कालै क्वारेन्टाइनमा पठाउन डा. संग्रौलाको माग छ।

‘धेरैजसो अन्तर्राष्ट्रिय उडान रोकिएका छन्, तर पैदलमार्गबाट आवतजावत रोकिएको छैन,’ संग्रौलाले भनिन्, ‘पैदलमार्गबाट आउनेहरूमाथि निगरानी र आवश्यक सतर्कता अपनाउनै पर्छ।’

नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि नागरिकमा व्याप्त मनोवैज्ञानिक त्रासको वातावरणको हल खोज्न कांग्रेस केन्द्रीय सदस्य संग्रौलाको माग छ।

‘सार्वजनिकस्थल, सवारीसाधन तथा अन्य सम्भावित क्षेत्रमा स्यानिटाइजर, मास्क तथा अन्य आवश्यक सामग्रीको तत्कालै प्रबन्ध होस्, संकटको घडीमा राज्यले निःशुल्क वितरणको व्यवस्था मिलाउनुपर्छ,’ उनले भनिन्।

पछिल्लो समय कोरोना संक्रमणको जोखिमको बहानामा बजारमा महँगी र कालोबजारी बढेको विषयमा पनि सरकारले ध्यान पु¥याउनु पर्ने संग्रौलाको धारणा छ।

उनले बजार अनुगमन गर्ने, एन ९५ मास्कको व्यवस्था गर्ने तथा कालोबजारी गर्नेहरूलाई तत्कालै कानून बमोजिम कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन्।

कोरोना भाइरसको संक्रमणबाट विश्वका १ सय ६५ देशका एक लाख ९८ हजार ५ सयभन्दा धेरै नागरिक प्रभावित भएका छन्। झण्डै ८ हजार नागरिकले ज्यान गुमाइसकेका छन्। ८२ हजारभन्दा धेरैले स्वास्थ्योपचारपछि घर फर्किएका छन्।

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल