Logo

राजनीति

सरकारलाई डा. संग्रौलाको सुझाव, ‘कोरोनाविरुद्ध लड्न तत्काल अत्याधुनिक अस्पताल बनाऔं’



काठमाडाैँ, २२ फागुन – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. डिला संग्रौलाले कोरोना भाइरसको संक्रमणको जोखिमविरुद्ध एकजुट हुने कार्यका लागि एकजुट हुन सरकारलाई आग्रह गरेकी छिन्।

संघीय संसदको बैठकमा डा. संग्रौलाले प्रधानमन्त्री केपी ओलीलाई अस्पतालको बेडबाटै कोरोना भाइरसको संक्रमणविरुद्ध राष्ट्रिय एकताका लागि आह्वान गर्न सुझाव दिएकी हुन्।

संग्रौलाले महिनाभित्र अत्याधुनिक अस्पताल निर्माण गर्न पनि सरकारलाई सुझाव दिएकी छिन्। ‘चीन सरकारले १० दिनमा अस्पताल खडा गरेको समाचार त हामीले रोचक ढंगले उत्साहित हुँदै पढ्यौं। तर, हाम्रो देशको सरकारको ल्याकत कति छ? सरकारले कस्तो हैसियत राख्छ भन्ने कुराको प्रमाण यस्तो संकटको बेला मापन हुन्छ। त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु, सबै राजनीतिक दलको समन्वयमा युवा परिचालन गरेर खरिपाटीमा एक महिनाभित्र अस्पताल निर्माण गरौं,’ संग्रौलाले भनिन्।

वुहानबाट फर्किएका नेपालीलाई राखिएको स्थान खालि भइसकेकाले त्यहाँ अस्पताल निर्माणमा जुट्न नेतृ संग्रौलाले आग्रह गरिन्। ‘यसको जिम्मेवारी सरकारले लिन तयार रहोस्। प्रतिपक्षी दल जस्तोसुकै सहयोग गर्न तयार छ। प्रधानमन्त्री केपी ओली मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहनु भएको छ। अस्पतालको बेडबाटै राष्ट्रलाई आह्वान गरे अस्पताल निर्माणको प्रारम्भ गरियोस्,’ उनले भनिन्।

कोरोनाको संक्रमण नेपालमा अहिलेसम्म नदेखिए पनि सन्त्रासको मनोवैज्ञानिक असर व्याप्त रहेको उनले बताइन्। सन्त्रासको मनोवैज्ञानिक असर नियन्त्रण गर्न सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा छ।

‘१० दिनमा अत्याधुनिक र सुबिधासम्पन्न अस्पताल निर्माण गर्न सक्ने ताकत भएको हाम्रो उत्तरी छिमेकी राष्ट्र चीन अहिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन संघर्षरत छ। छिमेकमा परेको विपत्तिप्रति नेपाल सरकार र नेपाली जनताले सम्पूर्ण रूपमा साथ दिनुपर्छ। हाम्रो कामना र प्राथना छ, चिनियाँ नागरिकहरू कोरोनो भाइरसको जटिल संक्रमणबाट चाँडै मुक्त हुन सकुन्। र, विश्वव्यापी फैलावट पनि चाँडै नियन्त्रणमा आओस्,’ उनले भनिन्।

उनले चीनले राज्यको सम्पूर्ण शक्ति लगाउँदा पनि कोरोना भाइरसको संक्रमण रोक्न निकै ठूलो सकस परिरहेको तथ्य प्रस्तुत गर्दै चीनले नोबल कोरोनाको संक्रमण भएको थाहा पाउने बित्तिकै शुरू गरेको नियन्त्रण र औषधि उत्पादनको प्रयास सफल भइसकेको नसकेको बताइन्।

‘चिनियाँसहित कोरोना भाइरसको संक्रमण फैलिएका देशका नागरिकहरू नेपाल आउने क्रम पनि रोकिएको छैन। नेपाल सरकारको तयारी के छ? कसरी गरिँदैछ काम? यो प्रश्न अहिले निकै गम्भीर बनेको छ। युद्धस्तरमा काम गर्नुपर्ने बेलामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक जम्मा २ पटक बस्यो। बैठकले कोरोना नियन्त्रणका लागि गम्भीर निर्णय गरेको छैन। अन्तर्राष्ट्रिय हवाइसेवा तत्काललाई रोक्न केले अवरोध गरेको छ? वैदेशिक रोजगारीका लागि दिइने श्रम अनुमति पनि तत्काल रोक्नुपर्छ,’ संग्रौलाले भनिन्।

कोरोना भाइरसको संक्रमणको आशंका लागेका व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको बताउँदै संग्रौलाले महामारी फैलिएमा त्यो अस्पतालले कतिलाई धान्न सक्छ भनेर प्रश्न गरिन्। ‘आइसोलेशन वार्डहरू कति वटा छन् ? बिमारीको उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा कसरी गरिएको छ ? यी र यस्ता सवालमा सरकारको ध्यान पुगोस्,’ उनले भनिन्।

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल