![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-frontman-Amrit-Gurung-interacting-with-the-audience-in-Kathmandu.-Photo-Kiyoko-Hanai-nepalaya.jpg)
काठमाडौं – दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन निर्माण कार्य तीव्र रूपमा अघि बढ्ने भएको छ।
विभिन्न क्षेत्रका दाता तथा सामाजिक संघसंस्थाको अगुवाइमा आर्थिक स्रोत जुटाइएपछि विद्यालय भवन निर्माण गर्नले तीव्रता लिने भएको हो।
हेल्प नेपाल नेटवर्क र चर्चित संगीतिक समूह नेपथ्यले पनि विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउन कार्यक्रमको आयोजना गरेका छन्।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/rajkuleshwore-School.jpg)
राजकुलेश्वर निमाविको पुनर्निर्माण कार्य २०७३ चैत १५ गते औपचारिक उद्घाटनमार्फत भएको थियो। तर, विद्यालय भवन अझै निर्माणाधीन अवस्थामै छ।
स्वीकृति प्राप्त डिजाइन अनुसार स्कुल भवन बनेपछि तीन सय विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।
‘नेपथ्य साँझ’बाट जुटाइयो रकम
भृकुटी मण्डपको बगैँचामा काठमाडौंका दर्शकहरुसँग साक्षात्कार गर्न उभिएको लोक रक ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुति दियो।
‘आँगनै रि हिउँ नै झरे
आरू फूल है टिपि राखे है’
नेपथ्यका स्थापनाकालीन सदस्यहरु र ब्याण्डकै प्रारम्भिक दिनहरुको झल्को तस्बिरहरुमा देखाउँदै प्रस्तुत भएको उक्त गीतसँगै मुख्य गायक तथा अगुवा अमृत गुरुङले एकपछि अर्को सर्वकालीक हिट गीतहरु सुनाउँदै गए।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-frontman-Amrit-Gurung-in-action-at-Bhrikuti-Mandap.-Photo-Shubha-Gopal-Nyachhyon-nepalaya-683x1024.jpg)
‘भूकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुनर्निर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा तपाईहरुको मनकारी सहभागिताका निम्ति नेपथ्यको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु है,’ अमृतले भने, ‘देशका धेरै बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित छन्, हामी सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गरम् है।’
अमृतले उनको परिचित शैलीमै पछिल्लो ‘है’ भनेर चिच्याउँदा भृकुटी मण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरी उनलाई साथ दिएका थिए। कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-frontman-Amrit-Gurung-performing-in-Bhrikuti-Mandap.-Photo-Nayan-Shrestha-nepalaya.jpg)
लडाइँका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीत अमृतले उनको मामाबाट सुनेका थिए। त्यसैलाई परिमार्जनसहित नेपथ्यले आफ्नो पछिल्लो अल्बममा समावेश गरेको छ।
गीतको बोलले भन्छ–
‘नैना ताल नैना ताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल
नैनाताल’
यो गीत सुनाएपछि अमृत केहीबेर मुलुकको परिस्थितिलाई लिएर राजधानीका दर्शकहरुसँग बात मार्न इच्छुक देखिए।
‘हाम्रा अगुवाहरुलाई धेरै गरेँ झैँ लाग्छ होला तर देशको हालत सबैतिर लथालिङ्ग देखिन्छ है,’ उनले थपे, ‘हामी सबैले गाउँ, सहर, टोलका नेतृत्व वर्गलाई सच्चिने सुझाव दिउँ है। नसच्चिए समय र सचेत जनताले कसैलाई पनि छुट दिनेछैन । सबै मिलेर जिम्मेवारहरुलाई सच्चिनुहोस् भनम् ह…ई।’
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-performing-to-a-packed-audience-at-Bhrikuti-Mandap-in-Kathmandu.-Photo-Kiyoko-Hanai-nepalaya.jpg)
त्यसपछि फेरि ब्याण्डका नयाँ पुराना गीतहरुको श्रृंखला चलेको थियो। सँधै झैँ यसपाला पनि ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’ हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर सुनाइएको थियो।
भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको उद्देश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाका लागि संगीत’ नाम दिइएको थियो।
२०७२ सालको विनाशकारी महाभुकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्री राहतकोषमा दुईपटक गरेर दश लाख रुपैयाँ र विदेशका केही कन्सर्टहरुबाट उठेको रकमसमेत उतैबाट समर्पित गरेर
झण्डै चालिस लाख रुपैयाँको योगदान दिएको थियो।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-performing-in-Kathmandu-to-raise-funds-for-a-school-in-Dolakha.-Photo-Prabish-newa-nepalaya.jpg)
त्यसैको निरन्तरता यो कन्सर्ट पनि भएको जानकारी ब्याण्डको व्यवस्थापन गर्दैआएका किरणकृष्ण श्रेष्ठले दिएका छन्।
ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो।
‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स–साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ।’
‘हेल्प नेपाल नेटवर्क’ परोपकारी संस्था हो। मुलुकको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवीप्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ।
![](https://www.asiasanchar.com/wp-content/uploads/2020/03/Nepathya-performing-at-Bhrikuti-Mandap.-Photo-Prabish-Newa-nepalaya.jpg)
‘नेपथ्यले आफूलाई मनोरञ्जनमा मात्र सीमित नराखेर सामाजिक दायित्वका क्षेत्रमा पनि धेरै अघिदेखि अग्रस्थानमा उभ्याउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘दोलखाका स–साना नानीहरुमा समर्पित यो कन्सर्टले त्यसै उद्देश्यलाई निरन्तरता दिएको हो।’
ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले अमृतको प्रस्तुतिमा सघाएका थिए।
प्रतिक्रिया